आन्तरिक हवाई रुट थप्न एयरलाइन्सबीच प्रतिस्पर्धा «

आन्तरिक हवाई रुट थप्न एयरलाइन्सबीच प्रतिस्पर्धा

नेपालमा पछिल्लो समय हवाई यात्रुको वृद्धिसँगै आन्तरिक उडानमा वायुसेवा कम्पनीहरूबीच प्रतिस्पर्धा बढ्दो छ । निजी वायुसेवा कम्पनीहरूले जहाज थप्ने प्रतिस्पर्धासँगै हवाई रुट विस्तारमा समेत प्रतिस्पर्धा सुरु भएको छ । पछिल्लोपटक दुई महिनाअघि बुद्ध एयरले पोखरा–नेपालगन्ज उडान भर्ने योजना सार्वजनिक गरेको छ । उक्त रुटमा नेपाली आकाशमै पहिलो पटक उडान हुन लागेको हो । त्यस्तैगरी मकालु एयरले पनि पोखरा–नेपालगन्ज उडानको रुट माग्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अनुमतिको लागि आवेदन दिएको छ ।
श्री एयरलाइन्सले पनि विराटनगर–धनगढी उडान सुरु गर्ने घोषणा गरिसकेको छ । तीनवटा बम्बार्डियरको सीआरजे जहाजबाट आन्तरिक उडान भर्दै आएको श्रीले हाल काठमाडौंबाट सुगम क्षेत्रमामात्र उडान गर्दै आएको छ । हवाई आकाशमा नेपालगन्ज, विराटनगर र पोखराबाट दुर्गम क्षेत्रमा उडान हुने गरेको भएपनि सुगम क्षेत्रबाट सुगममै उडान सुरु भने केही महिना अघिमात्र हुन थालेको हो ।
एयरलाइन्स कम्पनीहरूले विस्तार गरेको हवाई रुटले देशभर आन्तरिक हवाई यात्रुको संख्या बढ्दै गएको देखाउँछ । गत भदौबाट भैरहवा–पोखरा उडान थालेको बुद्ध एयरले गत साताबाट उडान संख्या थपेको छ । यस्तै, बुद्धले भरतपुर–पोखरा उडान पनि सुरु गरिसकेको छ । “बुद्धले जहाजसँगै रुट पनि थप्दै गएको छ, आगामी दिनमा अन्य रुटको पनि अध्ययन गर्नेछौँ ,” बुद्ध एयरका सेल्स एन्ड मार्केटिङ तथा ग्राउन्ड ह्यान्डलिङ विभागका निर्देशक रूपेश जोशीले भने । बुद्धले काठमाडौं–सुर्खेत पनि उडान गर्न लागेको समेत जोशीले जानकारी दिए ।
बुद्धले हवाई यात्रु वृद्धि भएसँगै उडान संख्या थपेको जनाएको छ । विगतदेखि नै एयरलाइन्स कम्पनीहरूलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले पटक–पटक ताकेता दिँदै आएको थियो । विगतमा एयरलाइन्स कम्पनीहरूले काठमाडौं बाहिरका हबबाट उडान नगरे पनि पछिल्लो समय भने आक्रामक विस्तारमा जानु हवाई क्षेत्रका लागि सकारात्मक भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले बताए । “नेपालको पर्यटन क्षेत्रको विकाससमेत यस्ता हवाई रुटको उडानले टेवा पुग्ने छ,” श्रेष्ठले भने ।
यति एयरलाइन्सले पनि पोखरा–नेपालन्ज उडानको तयारी सुरु गरेको छ । यतिले विराटनगर धनगढीको समेत उडानको लागि अध्ययन गरिरहेको जनाएको छ । यतिले पनि हालै एटीआर ७२ जहाजमार्फत उडान गरिरहेको छ । नेपालमा हाल कुल १९ एयरलाइन्सले आन्तरिक हवाई सेवा दिइरहेका छन् । फिक्स्ड विङ (सेड्युल उडान गर्ने) मार्फत् १० र रोटरतर्फ ९ कम्पनीले सेवा दिइरहेका छन् । पछिल्लो समय एयरलाइन्स कम्पनीहरूले लगानी विस्तार गर्दै जहाज थप्नलाई प्रतिस्पर्धा नै गरिरहेको पाइन्छ ।
लामो समयदेखि व्यावसायिक उडान गरिरहेका बुद्ध र यतीसँगै, सीता एयर, सिम्रिक एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, तारा एयर, मकालु एयर, काष्ठमण्डप एयरलाइन्स र समिट एयरले ‘फिक्स्ड विङ’ जहाजबाट तथा फिस्टेल, मनाङ, सिम्रिक, श्री एयरलाइन्स, प्रभु, अल्टिच्युट, माउन्टेन हेलिकप्टर, एयर डाइनेष्टी र हेली एभरेष्ट लगायतले हेलिकोप्टरबाट आन्तरिक उडान गरिरहेका छन् ।
नेपाली हवाई क्षेत्रमा निजी क्षेत्रको लगानी ५ खर्ब रुपैयाँ हाराहारीमा पुगेको एक अध्ययनले देखाएको छ । हवाई यात्रुको चाप बढ्दै गएको र संघीय राजनीतिक व्यवस्था कार्यान्वयनमा गएकोले सवैले काठमाडौंबाहिर पनि हवाई क्षेत्रको बजार खोज्न थालेको श्री एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धर बताउँछन् । “हवाई यात्रुको मुभमेन्ट देशभर वृद्धि भएकोले हवाई रुट पनि बढ्दै गएको छ,” मानन्धरले भने ।
नेपालमा आन्तरिक उडानको लागि ५६ वटा विमानस्थल निर्माण भएका छन् । जसमा ३२ वटा विमानस्थल सञ्चालनमा छन् । यसमध्ये २६ वटा विमानस्थल कालोपत्रे समेत रहेका छन् ।
नागरिक उडड्यन प्राधिकरणको सर्त र सुविधासम्बन्धी नियमावली २०५६ को तेस्रो संशोधनमा देशभरका आन्तारिक विमानस्थलहरूलाई क, ख, ग र घ समूहमा छुट्याइ वर्गीकरण गरिएको छ । जसमा क वर्गमा जोमसोम, सिमकोट, जुम्ला, बाजुरा, मनाङ, स्याङ्बोचे, ढोरपाटन, डोल्पा, लाङटाङ, लुक्ला, फाप्लु, बझाङ र रोल्पा रहेका छन । ख वर्गमा रुम्जाटार, लामिडाँडा, ताप्लेजुङ, दार्चुला, रुकुम, चौरजहारी, बैतडी, तुम्लिङ्टार, भोजपुर, साँफेवगर विमानस्थल रहेका छन् । आन्तरिक विमानस्थलमा ग वर्गमा पालुङटार, रामेछाप, वाग्लुङ, सुर्खेत, जिरी, दाङ, तथा टिकापुर रहेका छन् । यस्तै, घ वर्गमा विराटनगर, भैरहवा, जनकपुर, झापा, राजविराज, महेन्द्रनगर, नेपालगन्ज, धनगढी र पोखरा छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्