४ लाख ८५ हजारले एसईई दिँदै

माध्यमिक शिक्षाको फलामे ढोका भनिने एसईई बिहीबारदेखि देशभर एकसाथ सञ्चालन हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नियमित, एक्जाम्टेड र प्राविधिकमा गरी ४ लाख ८५ हजार ५ सय ८६ विद्यार्थी सहभागी हुने छन् ।
बोर्डका अनुसार यस वर्ष नियमिततर्फ ४ लाख ५२ हजार ७ सय ८१, एक्जाम्टेडतर्फ २४ हजार ५१ र प्राविधिकतर्फ ८ हजार ७ सय ३४ जना विद्यार्थी सहभागी हुँदैछन् । यस्तै, प्राविधिक एक्जाम्टेडतर्फ भने २० परीक्षार्थी सहभागी हुँदैछन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष नियमिततर्फ परीक्षार्थीको संख्या ११ हजार ९ सय ६२ जनाले कम छन् । तर समग्र परीक्षार्थीमा भने १ हजार ७ सय २३ जनामात्र कम रहेको देखिन्छ । यो परीक्षामा एक्जाम्टेडतर्फ र प्राविधिक नियमिततर्फ भने क्रमशः ५ हजार १ सय ४२ र ५ हजार ७७ बढी परीक्षार्थीले आवेदन फर्म भरेका छन् । यसमा छात्राको संख्या २ लाख ४९ हजार १ सय २८ र छात्र २ लाख ३ हजार ६ सय ५३ छन् । परीक्षा नियन्त्रण कार्यालय भक्तपुरका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षालाई व्यवस्थित, मर्यादित र अनुशासित रूपमा सञ्चालन गर्न १ हजार ९ सय ५६ परीक्षा केन्द्र तोकिएका छन् । यस्तै, १ हजार ९ सय ५६ केन्द्राध्यक्ष, २ हजार ४ सय ५० सहायक केन्द्राध्यक्ष, २० हजार ३ सय ४० निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार ३ सय ४० सुरक्षाकर्मी गरी जम्मा ६४ हजार ७६२ जनशक्ति परिचालित हुनेछन् ।
परीक्षा सञ्चालनका लागि स्थानीय, प्रादेशिक तथा संघीय तह र सवै सरोकारवालालाई सहयोग गर्न बोर्डले अनुरोध गरेको छ । बोर्डको गत असारमा सम्पन्न बैठकले परीक्षा व्यवस्थापन तत्कालका लागि परीक्षा नियन्त्रण कार्यालयले गर्ने निर्णय गरे बमोजिम यो परीक्षाको व्यवस्थापन परीक्षा नियन्त्रण कार्यालयबाटै गरिने र आगामी वर्षदेखि प्रदेशस्तरमा सञ्चालन गर्ने तयारी गरिएको छ ।
शिक्षा मन्त्रालयले गत वर्ष नै निर्णय गरीे कक्षा १० को साविक एसएलसी परीक्षाको नाम परिवर्तन गरी माध्यमिक शिक्षा परीक्षा कक्षा १० कायम गरेको थियो । चैत ८ गतेदेखि साधारण धारतर्फको १७ गते र प्राविधिक धारतर्फको २० गतेसम्म परीक्षा सञ्चालन हुने जनाइएको छ ।