सडक सञ्जाल ९६ हजार किलोमिटर पुग्यो «

सडक सञ्जाल ९६ हजार किलोमिटर पुग्यो

नेपालका सडकको कुल लम्बाइ ९६ हजार किलोमिटर पुगेको छ । सरकारले मंगलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७६-७७ को फागुनसम्म ९५ हजार ७ सय २२ किलोमिटर सडक पुगेको उल्लेख छ ।
संघबाट निर्माण भएका रणनीतिक र स्थानीय सडक सञ्जालतर्फ कालोपत्रे सडक १५ हजार २ सय ५४ किलोमिटर रहेको छ भने ग्रावेल सडक ९ हजार २ सय ५१ किलोमिटर र कच्ची सडक ९ हजार ८ सय ४२ किलोमिटर गरी कूल सडकको लम्बाई ३४ हजार ३ सय ४७ किलोमिटर पुगेको छ । प्रदेश र स्थानीयस्तरबाट ६१ हजार ३ सय ९५ किलोमिटर सडक निर्माण भएको जनाएको छ । संघ, प्रदेश, स्थानीय गरी कुल सडक सञ्जाल करिब ९६ हजार किलोमिटर पुगेको हो ।
गत आर्थिक वर्ष (२०७५-७६) मा ४४० किलोमिटर माटे सडक (नयाँ सडक) निर्माण, १ हजार ३६३ किलोमिटर ग्रावेलस्तरमा तथा ९८८ किलोमिटर कालोपत्रे स्तरमा सडक स्तरोन्नति भएका थिए । चालू आर्थिक वर्षको फागुनसम्म २५२ किलोमिटर माटे सडक, ६५७ किलोमिटर ग्रावेलस्तरमा तथा ५५९ किलोमिटर कालोपत्रे सडक स्तरोन्नति भएको छ । जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा सडक निर्माण भएको छ ।
यस्तै, चालू आर्थिक वर्षको फागुनसम्म १५७ किलोमिटर सडकको आवधिक मर्मतसम्भार सम्पन्न भएको हो । गत वर्ष २ सय ४३ पुल बनेका थिए र १२ सय किलोमिटर कालोपत्रे भएका थिए । यस आर्थिक वर्षमा ३ सय पुल र १२ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको थियो ।
गत आथिक वर्षको अन्त्यसम्म सडकमार्फत मुलुकभर सामरिक सडक सञ्जाल र स्थानीय सडक संजाल गरी कालोपत्रे १४ हजार ६९५ किलोमिटर, ग्रावेल ८ हजार ५९४ किलोमिटर र कच्ची सडक ९ हजार ५९० किलोमिटर गरी कुल ३२ हजार ८७९ किलोमिटर कुल सडक निर्माण भएको थियो ।
आर्थिक वर्ष २०७५-७६ को फागुनसम्म कालोपत्रे १५ हजार २५४ किलोमिटर, ग्रावेल ८हजार ६ सय ९२ किलोमिटर र कच्ची सडक ९ हजार १८५ किलोमिटर गरी हाल सडकको लम्बाई ३३ हजार १३१ किलोमिटर पुगेको सडक विभागले जनाएको छ । चालू आर्थिक वर्षमा करिब ४५० किलोमिटर सडक कालोपत्रे भएका छन् । कोभिड–१९ का कारण यस आर्थिक वर्षमा थप प्रगति भने नहुने प्राय प्रष्ट रहेको छ । दोस्रो चौमासिकसम्म २८ प्रतिशत पुँजीगत खर्च भएकोमा जेठको मध्यसम्म आउँदा करिब ३४ प्रतिशत खर्च भएको छ । चालू आर्थिक वर्षमा १ खर्ब २४ अर्व बजेट सडक पूर्वाधारमा सरकारले विनियोजन गरेको थियो । गत वर्ष १ खर्बको हाराहारीमा बजेट विनियोजन गरिएको थियो ।
सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७६-७७ फागुनसम्मा १२९ वटा पुल निर्माण भएका छन् भने गत वर्षको सोही अवधिमा २३० वटा पुल निर्माण भएका थिए । त्यस्तै चालू आर्थिक वर्षको फागुन महिनासम्म १४४ वटा झोलुंगे पुल निर्माण भएका छन् भने १२६ वटा तुइनमध्ये सबै तुइन झोलुंगे पुलबाट विस्थापित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली यसअघि २०७२ सालमा प्रधानमन्त्री हुदा तुइन विस्थापित गर्ने पहिलो निर्णय गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्