सांसदको नाम दर्ता गरेर स्वास्थ्य बिमा कार्यक्रम उद्घाटन

सरकारले केही वर्ष अघिदेखि सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रममा रुकुममा पनि उद्घाटन गरिएको छ । सदरमुकाम मुसिकोटमा एक औपचारिक कार्यक्रमकाबीच कर्णाली प्रदेश सांसद गोपाल शर्माको नाम दर्ता र परिचयपत्र प्रदान गरेर स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात गरेको हो । उद्घाटन कार्यक्रममा सांसद शर्मासँगै मुसिकोट नगरपालिकामा प्रमुख देवीलाल गौतम, जिल्ला समन्वय समिति रुकुमका प्रमुख राजकुमार शर्मा र मुसिकोट नगरपालिका–१ का वडा अध्यक्ष बिरबल केसी गरी ४ जनालाई स्वास्थ्य बिमामा नाम दर्तासँगै परिचयपत्र प्रदान गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद गोपल शर्माले स्वास्थ्य बिमा कार्यक्रमम रुकुममा पनि सुरु भएर सरकार दुरदराजका गरिब जनताको पक्षमा छ भन्ने गतिलो उदाहरण प्रस्तुत भएको बताए । जनताप्रति उत्तरदायी सरकार जनताको कम्तीमा पनि आधारभूत आवश्यकता र अधिकारप्रति सचेत हुनुपर्ने भन्दै स्वास्थ्य जस्तो संवेदनशील विषयमा यो कार्यक्रममार्फत सानो रकम तिरेर बाँकी राज्य आफैंले जनताको स्वास्थ्य अधिकारको जिम्मा लिए सरह भएको बताए । स्वास्थ्य बिमा कार्यक्रममार्फत पाँच जनासम्मका जुनसुकै परिवारले पनि वर्षमा २५ सय जम्ममा गरेर स्वास्थ्य बिमा भरेमा एक वर्षको अवधीमा परिवारका कुनै पनि सदस्यहरू बिरामी भएर उपचार गराउनुपर्दा ५० हजार रुपैयाँसम्म छुट दिने उल्लेख छ । त्यस्तै पाँच जनाभन्दा बढी परिवार संख्या भएको परिवारले २५ सयमा थप परिवारको संख्या हेरी प्रतिपरिवार संख्या थप ४ सय २५ रुपैयाँ तिर्नुपर्ने हुन्छ भने बिमा पाउँदा पनि थप ५० हजारमा १० हजार रुपैयाँसम्म छुट पाइन्छ । जिल्ला प्रत्येक स्थानीय तह र वडाहरूमा दर्ता कर्मचारी खटाएर अभियानकै रूपमा स्वास्थ्य बिमा गरिने बताइएको छ । स्वास्थ्य बिमा कार्यक्रमले जनताको स्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका खेल्ने र दर्ता शुल्कसमेत नहुने अति गरिब परिवारका लागि स्थानीयहरूले रकम जम्मा गरिदिएर बिमा कार्यक्रममा समेटिदिनुपर्ने जिल्ला स्वास्थ्य कार्यालय रुकुमका प्रमुख डा. सबिन पोखरेलले बताए ।