सिभिल बैंकको ५८ औं शाखा दमकमा

सिभिल बैंक लिमिटेडले आफ्नो ५८ औं शाखा दमकको फर्निचर लाइनमा स्थापना गरेको छ । सो शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरे ।
उक्त शाखाको उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक गिरी, दमक नगरपालिकाका वडा अध्यक्षहरूलगायत सो क्षेत्रका उद्योगी व्यवसायी गन्यमान्य व्यक्ति तथा सर्वसाधारणको उपस्थिति थियो ।
उद्घाटन कार्यक्रमका डेपुटी गभर्नर शिवाकोटीले नेपाललाई समृद्धिततर्फ लान हामी सबैले नेपाल सरकारले जस्तै आफ्नो व्यक्तिगत बजेट बनाइ आफ्नो संभाव्य खर्चहरूको उचित व्यवस्थापन गरी बचेको रकमलाई बैंकमा जम्मा गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि आवश्यक पुँजीको निर्माण गर्न आग्रह गरे ।
नेपाल राष्ट्र बैंकले आफ्नो नियमक निकायको जिम्मेवारीलाई बहन गर्दै हरेक स्थानीय तहमा वित्तीय पहुँच पुराउने नीति अनुरूप हरेक स्थानीय निकायमा कम्तीमा एउटा वाणिज्य बैंकको शाखा खोल्नका लागि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको कुरा पनि उनले बताए । कार्यक्रममा दमक नगरपालिकाका–६ का अध्यक्ष टेकबहादुर थापाले सिभिल बैंक लिमिटेडलाई दमकमा स्वागत गर्दै बैंकका विविध निक्षेप तथा कर्जा सुविधाले स्थानीयको आर्थिक स्थिति उकास्न टेवा पुराउने कुरा बताए ।
सिभिल बैंकले सामाजिक उत्तरदायित्वको वहन सँगसँगै आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरूका हितलाई ध्यानमा राखी प्रविधिकेन्द्रित सेवालगायत अन्य सन्पूर्ण सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । सिभिल बैंकमो हालसम्म २ लाखभन्दा बढी ग्राहकहरू रहेको ३७ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करिब ३६ अर्ब कर्जा लगानी गरेको छ । बैंकले यसै त्रैमासको अन्त्यसम्ममा खोलिने थप शाखा सहित बैंकको कुल शाखा संख्या ५९ पुग्ने बैंकले जनाएको छ ।