सार्वजनिक ऋण ११ खर्ब नाघ्यो

गत असारसम्म मुलुकले तिर्न बाँकी कुल सार्वजनिक ऋण १० खर्ब ४७ अर्ब ८० करोड रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षको १० महिनामै ९१ अर्ब ९० करोड थप भएको छ । जसअनुसार मुलुकको सार्वजनिक ऋण अब ११ खर्ब ३८ अर्ब रुपैयाँ पुगको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले मंगलबार संसद्मा आर्थिक वर्ष २०७६-७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै यो जानकारी दिएका हुन् ।
अर्थमन्त्री खतिवडाले भने, “फागुनसम्म कुल तिर्न सार्वजनिक ऋण ११ खर्ब ३९ अर्ब ८० करोड पुगेको छ यसमा आन्तरिक ऋण ४ खर्ब ४० अर्ब ५ करोड र वैदेशिकतर्फ ६ खर्ब ९९ अर्ब ७५ करोड रुपैयाँ छ ।” उनले चालू आर्थिक वर्षको फागुनसम्म अनुदानतर्फ १६ अर्ब १९ करोड र ऋणतर्फ ९३ अर्ब ९ करोड गरी जम्मा १ खर्ब ९ अर्ब २८ करोड विकास सहायताको प्रतिबद्धता आएको बताए ।
आर्थिक वृद्धि २.३ प्रतिशत, मुद्रास्फीति ६.५ प्रतिशत
मन्त्री खतिवडाले फागुनसम्म समग्र आर्थिक क्रियाकलापहरूमा तिब्रता आए पनि कोभिड महामारीको असरले चालू आर्थिक वर्षको वृद्धिदर २.३ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको बताए । पछिल्ला तीन वर्षमा आर्थिक वृद्धिदर औसत ७.३ प्रतिशत रहे पनि चालू वर्ष निराशाजनक अवस्था देखिएको उनले स्वीकारे ।
सरकारले विगत केही वर्षदेखि मुद्रास्फीति एक दशकको औषतभन्दा तल रहेको दाबी गरेको छ । अर्थमन्त्रीले मुद्रास्फीति दर एक दशकयताको औषतभन्दा कम भएको दाबी गरे । उनले भने, “चालू आर्थिक वर्षको फागुनसम्म यस्तो दर ६.५ प्रतिशत छ ।” सरकारी तथ्यांक अनुसार गत वर्षको सोही अवधिमा यस्तो दर ४.२ प्रतिशतमात्र थियो ।
प्रतिव्यक्ति आय बढ्यो, गरिबी घट्यो
आर्थिक सर्वेक्षणअनुसार यस वर्ष प्रतिव्यक्ति आय कुल गार्हस्थ्य उत्पादनको प्रचलित मुूल्यमा गत वर्षको तुलनामा ७.५ प्रतिशतले बढेर १ लाख २६ हजार १८ (१०८५ अमेरिकी डलर) पुग्ने अनुमान गरिएको छ । मन्त्री खतिवडाले गरिबी दर घट्ने दाबी गरे । दुई वर्ष अघिको तथ्याँक प्रस्तुत गर्दै खतिवडाले भने आर्थिक वर्ष २०७४-७५ मा १८.७ प्रतिशत रहेको निरपेक्ष गरिबी आर्थिक वर्ष २०७६-७७ मा करिब १६.६७ प्रतिशत रहने अनुमान छ ।
अर्थतन्त्रमा कोरोनाको धक्का
अर्थमन्त्री खतिवडाले कोरोनाभाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि गरिएको देशव्यापी लकडाउनका कारण मुलुकको अर्थतन्त्रमा गम्भीर असर परेको बताए । “फागुनसम्मका सबै सूचक सन्तोषजनक देखिए पनि त्यसयता कोरोनाभाइरस संक्रमण विश्वव्यापी रुपमा फैलिएसँगै गरिएको लकडाउनका कारण उत्पादनदेखि आपूर्ति र उपभोभसम्म खलबलिएका कारण अर्थतन्त्रमा गम्भीर असर परेको छ,” मन्त्री खतिवडाले भने, “त्यसपछिको अवस्थामा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिस्थितिका कारण आर्थिक गतिविधिहरू शिथिल बनेका छन् र जसका कारणले पर्यटन, उद्योग, निर्माण, व्यापारलगायतका क्षेत्र बढी प्रभावित भइ आर्थिक विकास र स्थायित्वका परिसूचकहरूमा चाप पर्दै गएको छ ।”सर्वेक्षणअनुसार संसारभर फैलिएको कोरोना महामारीेले अर्थतन्त्रमा संकुचन आएपछि प्रदेश र स्थानीय तहमा संकलन हुने रोयल्टीमा पनि धक्का लागेको छ ।
शोधनान्तर स्थिति सकारात्मक
गत वर्षको फागुनसम्म ५८ अर्ब ९९ करोडले घाटाामा रहेको शोधानान्तर स्थिति चालू आवको सोही अवधिमा ३७ अर्ब ८४ करोडले बचतमा रहेको तथ्यांक अर्थमन्त्रीले प्रस्तुत गरे । उनका अनुसार गत आवको फागुनसम्म १ खर्ब ९१ अर्ब ४९ करोडले घाटामा रहेको चालू खाता आर्थिक वर्षको सोही अवधिसम्म सुधार भई १ खर्ब २४ अर्ब ९३ करोडमा कायम रहेको छ । सर्वेक्षणले फागुनसम्मको विप्रेषण आप्रवाह १.८ प्रतिशतले वृद्धि भई ५ खर्ब ९२ अर्ब ४२ करोड पुगेको देखाएको छ । आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेर ५ खर्ब ८२ अर्ब १९ करोड पुगेको सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणअनुसार कुल बिदेशी विनिमय सञ्चिति १० खर्ब ३९ अर्बबाट १० महिनामा बढेर ११ खर्ब ३६ अर्ब ५१ करोड पुगेको छ ।
सर्वेक्षणअनुसार चालू आबमा कुल उपभोग र कुल गार्हस्थ्य बचत कुल गार्हस्थ्य उत्पादनको क्रमश ८९.९ प्रतिशत र १८.१ प्रतिशत रहने अनुमान छ । कोभिड १० को संक्रमण रोकथाम एबं नियन्त्रणकालागि चालिएका कदमबाट सार्वजनिक एवं निजी क्षेत्रको खर्चमा आएको संकुचनले आर्थिक वर्षमा कुल लगानी गत आवको तुलनामा ३.४ प्रतिशतले न्यून हुने आकलन गरेको छ ।