ग्रामीण क्षेत्रमा ई–बैंकिङ

अछामको बिकट ठाउँ मेल्लेख गाउँपालिका–६ शोडशादेवीमा ई–बैंकिङ सेवा सञ्चालन भएपछि स्थानीय लाभान्वित भएका छन् । गाउँमा रहेको चिरञ्जीवी सपिङ सेन्टरले गाउँमै ई–बैंकिङ सेवा सुरु गरेपछि त्याहाँका नागरीकलाइ बैंकिङ काम कार्य गर्न निकै सजिलो भएको हो ।
गाउँबाट एकदिन पैदल हिँडेर व्यापारिक केन्द्र साँफेबगर र सदरमुकाम मंगलेसन जानुपर्ने त्यहाँका नागरिकलाई मध्येनजर गर्दै नन्देश्वरी माविका शिक्षक टेकराज भट्टराईले ई–बैंकिङ सेवा सुरु गरेका हुन् । स्थानीय जनतालाई छिटो सेवा दिने उद्देश्यले गाउँमै यो सेवा सुरु गरेको शिक्षक भट्टराईले बताए । गाउँमै ई–बैंकिङमार्फत रेमिट्यान्सलगायत अन्य बैंकिङ काम गर्न पाएपछि त्यहाँका नागरिक हर्षित भएको स्थानीय गंग खड्काले बताए । यसबाट जनताले ठूलो राहत पाएको उहाँको भनाइ छ ।
यसअघि बैंकमा रकम जम्मा गर्न पैसा पठाउन र झिक्न पैदलयात्रा गरेर साँफेबगर र सदरमुकाम मंगलसेन जानुपर्ने त्यहाँका नागरिकले गाउँमै सेवा पाउँदा आफूहरूलाई फाइदा भएको बताएका छन् । देश संघीयतामा गएर सिंह दरबारको सेवा गाउँमै पाउने भनिए पनि स्थानियतहमा बैंक नहुँदा समस्यामा परेका ग्रामीण क्षेत्रका नागरिक यसरी गाउँमै ई–बैंकिङ सेवा पाउँदा समय र पैसासमेत बचत भइरहेको बताउँछन् । आफूलाई आफ्नो छोराले महिनौं पिच्छे पैसा पठाउने भएकाले गाउँमै यो सेवा पाउँदा खुसी लागेको स्थानीय खम्म टमाट्टले बताए । “साँफे–मंगलसेन पुग्न एक दिनभर हिँड्नुपर्ने, गाडीमा गए ६ सय रुपैयाँ भाडामात्रै लाग्ने र बस्न खानका लागि धेरै पैसा खर्च गर्नुपर्ने समस्या थियो अहिले गाउँमै बैंकिङ सेवा पायांै निकै खुसी लाग्यो,” टमाट्टाले भने ।
चिरञ्जीवी सपिङ सेन्टरले सुरु गरेको ई–बैंकिङ सेवामा नेपाल–भारत तथा विश्वका जुनसुकै ठाउँबाट प्रभु मनी ट्रान्सफर र आईएमईबाट पठाएको रकम भुक्तानी गर्न सकिने ब्यावस्था छ । यस्तै राष्ट्रिय वाणिज्य बैंक, महालक्ष्मी बिकास बैंक, मेगा बैंक, जनता बैंकमा पनि रकम जम्मा गर्ने कार्य भइरहेको सञ्चालक टेकराज भट्टराईले बताए ।
रकम भुक्तानिका साथै जुनसुकै बैंकको खातामा रकम पठाउन सकिने व्यवस्था गाउँमै मिलाइएको जनाइएको छ । ई–सेवा तथा मोबाइल बैंकिङ सेवाबाट जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न सकिने र प्रभु मनी ट्रान्सफर र आईएमईबाट रकम पठाउने सेवासमेत उपलब्ध गराइएको सञ्चालक भट्टराईको भनाइ छ । ई–खाता खोल्न सकिने र ई–खाता खोलेको मान्छलाई जुनसुकै ठाउँबाट पनि रकम उपलब्ध गराउने सकिने सुबिधासमेत रहेको जनाइएको छ ।
सो सेवाबाट मेल्लेख गाउँपालिका–१, २ ऋीषिदह, वडानम्बर ५ बिन्देबासनी, वडानम्बर ६ शोडशादेवीलगायत रामारोशन गाउँपालिकाको सुतारका नागरिकले सेवा लिरहेका छन् ।
–होम साउद