भुक्तानी दिनुअघि नोटलाई भाइरसरहित बनाउन निर्देशन «

भुक्तानी दिनुअघि नोटलाई भाइरसरहित बनाउन निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नोट भुक्तानी वा सहटी गर्नु पूर्व कोरोना भाइरसरहित बनाएर मात्र गर्न निर्देशन दिएको छ । यसअघि राष्ट्र बैंकले कोराना संक्रमणको समयमा वित्तीय सेवा प्रदान गर्नका लागि मार्गदर्शन जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट आएका नोटहरुलाई कोरोना संक्रमणरहित बनाउने व्यवस्था गरेको थियो ।
आइतबार निर्देशन जारी गर्दै केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थालाई पैसाको भण्डार सफाई र पर्याप्त हावा हुने स्थानमा गर्न निर्देशन दिँदै नोटको भुक्तानी दिँदा भाइरसरहित बनाउन निर्देशक दिएको हो । कोरोनाको त्रास बढ्दै गएपछि केही समय अघि नोटबाट पनि कोरोना संक्रमण फैलन सक्ने भन्दै उच्चस्तरीय समितिले समेत नोटलाई भाइरसरहित बनाउन सुझाव दिएको थियो ।
त्यसैगरी केन्द्रिय बैंकले पूर्वराजाको तस्बिर भएका नोट प्रयोगमा नल्याउने भएको छ । पूर्वराजाको तस्बिर अंकित भएको नोटलाई पुनः निष्काशन अयोग्य नोटका रुपमा वर्गिकरण गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
केन्द्रिय बैंकले अबदेखि झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, पानीले भिजेको, नोटमा रहेको अक्षर, अंक चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रने गरी रंग लागेको, लेखिएको, कोरिएको वा च्यात्तिएका नोटलाई बैंक तथा वित्तीय संस्थाले पुनः निष्काशनका गर्न नमिल्ने जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाले अयोग्य नोटलाई आफ्नो नोट कोष वा केन्द्रीय बैंकको पहुँचमा नभएका वित्तीय संस्थाले अन्य बैंकको नोट कोषमा जम्मा गर्नुपर्ने र जम्मा भएको अयोग्य नोटलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले काउन्टर, एटीएमलगायत मेसिनबाट प्राप्त चलनचल्तीमा पठाउन काउन्टरबाट भुक्तानी गरी दिने नोटलाई तीन भागमा छुट्याउनु पर्नेछ । एटीएमबाट पठाउने रकमलाई हरियो, काउन्टरबाट पठाउनेलाई सेतो र अयोग्यलाई रातो रंगको क्लिप प्रयोग गर्नुपर्ने व्यवस्था गरेको केन्द्रिय बैंकले जनाएको छ ।
नोटमा नलेख्न, नकेर्न, रंग नदल्न तथा स्टिज नगर्न समेत केन्द्रिय बैंकले निर्देशन दिएको छ । बजारमा पठाउने नोटमा रबर वा प्लास्टिक वा कागजको ब्याण्ड प्रयोग गर्न निर्देशन दिएको छ । नोट राख्ने दराज तथा भल्ट पनि सफा राख्न, प्रकाश र हावा छिर्ने ठाउँ बनाउन निर्देशन राष्ट्र बैंकको छ ।

 

प्रतिक्रिया दिनुहोस्