सहकारीमार्फत गाईपालन

स्याङ्का किसानले एक सहकारीमार्फत् गाईपालन सुरु गरेका छन् । भीरकोट नगरपालिका–१ वयरघारीमा सञ्चालित शुभलक्ष्मी बचत तथा ऋण सहकारीमार्फत स्थानीय कृषकले गाईपालन गरेका हुन् ।
सहकारीले बिनाधितो ५ लाख रुपैयाँसम्मका गाई उपलब्ध गराएपछि कृषकहरू गाईपालनमा लागेका हुन् । भीरकोट नगरपालिकाको वडा नं. १, २, ५ र ६ का २२ कृषकले करिब १ सय १० वटा दुहुनो गाई पालेका छन् । कृषकले जर्सी र होलस्टेन जातका गाई पाल्दै आएका छन् ।
टोल–टोलमा संकलन केन्द्र बनाएर दैनिक करिब ६ सय ४० लिटर दूध सहकारीमार्फत पोखरामा लगेर बिक्री गरिँदै आएको छ । गाईलाई आवश्यक पर्ने दाना, चोकर, कनिका र औषधि बजारकै शुल्कमा सहकारीले घर–घरमा पु¥याइदिने गरेको छ । सरकारको ७५ र सहकारीको २५ प्रतिशत लगानीमा इन्स्योरेन्स गरेपछि कृषकहरू गाईपालनमा आकर्षित भएका छन् ।
“हाम्रै लगानीमा कृषकले उत्पादन गरेको दूध हामीले नै बजार व्यवस्थापन गरेका छौं,” सहकारीका अध्यक्ष भक्तबहादुर केसीले भने, “सुरक्षित बजार बनाएर गाईपालनमा कृषकलाई लगानी गरेका हौं ।” सहकारीकै पहलमा कृषकसँग प्रतिलिटर ४७ रुपैयाँमा दूध खरिद गरि १-२ रुपैयाँ बढी मूल्य लिएर पोखरा लगेर बिक्री गर्ने गरेको उनले बताए ।
गाईपालनमा करिब ३० लाख रुपैयाँ लगानी गरेको सहकारीले दूध व्यवस्थापन गर्न झन्डै ४० लाख रुपैयाँको लगानीमा पिकअप जिप खरिद गरेको छ । “सहकारीलाई उत्पादनसँग जोड्ने प्रयास स्वरुप लगानी गरेको छौं,” सहकारीका प्रबन्धक लेखबहादुर केसीले भने, “कृषकको संख्या र उत्पादनमा वृद्धि गर्न सके मात्रै सहकारीले मुनाफा लिन सक्छ ।”
सहकारीको सुरक्षित लगानी भएपछि कृषकहरू गाईपालनमा सन्तुष्ट भएका छन् । सुरक्षित लगानी र जोखिम नभएपछि आफूले ६ वटा गाईपालन गरेको कृषक कमला गोदारले बताईन् । उनले दूधको
उचित मूल्य भने पाउन नसकेको गुनासो गरिन् । “स्थानीयस्तरमा रुढीवादी सोचका कारण गाईको दूध प्रयोगमा ल्याउन समस्या रहेछ,” अध्यक्ष केसीले भने, “भैंसीको तुलनामा गाईको दूध कम प्रयोग हुने रहेछ ।” गाईको दूध खाए पिनास पर्छ भन्ने अन्धविश्वासले कृषकले उचित मूल्य नपाएको उनले बताए ।
सहकारीले गाईपालनका अतिरिक्त स्थानीय उद्योगी, व्यवसायीसँग आर्थिक कारोबार गर्दै आएको छ । कुल पूँजी १ करोड ८० लाख रुपैयाँ रहेको सहकारीले १३ करोड निक्षेप संकलन र ६ करोड कर्जा सापटी लिएर १९ करोड लगानी गरेको सहकारीले जानकारी दिएको छ ।
–प्रकाश डोटेल