प्रभावितलाई सीपमूलक तालिम «

प्रभावितलाई सीपमूलक तालिम

निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाले आयोजना प्रभावितलाई निःशुल्क सीपमूलक तालिम दिएको छ ।
आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा ६० जना आयोजना प्रभावितलाई इलेक्ट्रिसियन (हाउस वायरिङ) र प्लम्बिङको तालिम दिएको हो । आयोजनाले तनहुँ प्राविधिक शिक्षालय भिमादमा गत कात्तिकबाट सुरु गरेको ९० दिने तालिममा इलेक्ट्रसियनमा दुई समूह र प्लम्बिङमा एक समूहले तालिम लिइसकेको आयोजनाले जनाएको छ । आयोजनाबाट प्रत्यक्ष प्रभावित व्यक्तिको उद्यमशिलता विकास गर्न पुनस्र्थापना तथा योजनामा भएको व्यवस्थाअनुसार निःशुल्क तालिम दिइएको हो । तालिममा ब्यास नगरपालिका–५, भिमाद नगरपालिका ५ र ६, म्याग्दे गाउँपालिका १ देखि ५ वडाका र रिसिङ गाउँपालिका–१, ६, ७ र ८ वडाका प्रभावितहरू सहभागी थिए ।
तीन समूहमा सहभागी प्रभावितलाई तनुहँका निमित्त प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल र कम्पनीका प्रबन्ध सञ्चालक प्रदिपकुमार थिकेले प्रमाणपत्र समेत वितरण गरेका छन् । कार्यक्रममा पौडेलले आयोजनाले प्रभावितलाई निःशुल्क तालिम दिएर प्रशंसनीय काम गरेको बताउँदै यसले स्वरोजगारमार्फत आयआर्जन गर्नेतर्फ क्रियाशील रहन सहयोग पुराउने बताए । प्रबन्ध सञ्चालक थिकेले आयोजना निर्माणका लागि मुख्य ठेकेदार परिचालन भएपछि त्यस कम्पनीको आवश्यकता र तालिम लिएका व्यक्तिको दक्षताका आधारमा रोजगारीमा प्राथमिकताका लागि पहल गरिने बताए ।
शिक्षालय प्रमुख दामोदर कँडेलले तालिमबाट प्राप्त सीपलाई प्रयोग गरी व्यवसाय सञ्चालन गर्न आग्रह गरे । कार्यक्रममा प्रशिक्षार्थी अमृत थापाले स्वरोजगारका लागि तालिम फलदायी भएको बताए ।
आयोजना निर्माणका लागि ठेकेदार कम्पनी छनोट प्रक्रियामा छ । आयोजनाको निर्माण सन् २०२२ भित्र सक्ने लक्ष्य राखिएको छ । अहिले आयोजनाको निर्माण पूर्वका काम भइरहेका छन् । डुबान क्षेत्रमा पर्ने जग्गा अधिग्रहणका लागि करिब ९० प्रतिशत मुआब्जा तथा क्षतिपूर्ति वितरण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्