Logo

मायाखोला हाइड्रो निर्माण सुरु

संखुवासभामा १४.९ मेगावाट क्षमताको माया खोला जलविद्युत् आयोजनाको निर्माणकार्य सुरु भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधनराईले केही समयअघि शिलान्यास गरिएको धर्मदेवी नगरपालिका–३, ४ र ५ मा पर्ने माया खोलाबाट विद्युत् निकाल्न २ हजार २०० मिटरको चट्टानी सुङङ्ग खन्ने काम भइरहेको आयोजनाले जनाएको छ । विद्युत्को शिलान्यास गर्दै मुख्यमन्त्री शेरधन राईले यो आयोजनाबाट संखुवासभामात्र नभई सिंगो प्रदेश नम्बर १ नै लाभान्वित हुने बताए । प्रदेश नम्बर एक जलविद्युत् क्षेत्रमा अत्यन्तै सम्भावना बोकेको जिल्ला भएकाले जलविद्युत्बाट आर्थिक समृद्धि हासिल गर्न सकिने मुख्यमन्त्री राईको भनाइ छ । ।
माया खोलाबाट निकालिने विद्युत् ‘ट्रिपल पी’ मोडेलमा निर्माण गरिन लागेको कार्यकारी अध्यक्ष विजयमान शेरचनले जानकारी दिए । सन २०१९ डिसेम्बर महिनामा सम्पन्न हुने भनिएको आयोजना पशुपति इनर्जी डेभलप्मेन्ट प्रालिले निर्माण गर्न लागेको हो । विद्युत् आयोजनाको २ अर्ब ५० करोड लागतमध्ये विद्युत् विकास कम्पनी पशुपति इनर्जी डेभलप्मेन्ट प्रालिको ५१ प्रतिशत र बाँकी ४९ प्रतिशत मायाखोला कम्पनी लिमिटेड र स्थानीयको सेयरमार्फत सम्पन्न गरिने छ ।
रन अफ रिभर बेसमा निर्माण हुन लागेको उक्त आयोजनाको टनेल निर्माणका लागि धर्मदेवी ३ मा रहेको नागेश्वरीदेखि धर्मदेवी ४ स्थित हुर्पाको सल्ले सम्म २ हजार २०० सय मिटर लम्बाइको सुरुङ मार्ग निर्माणकार्य धमाधम भइरहेको प्रमुख इन्जिनियर जितेन्द्र गुरुङले जनाए ।
संखुवासभा विभिन्न खेलाबाट अहिलेसम्म ११.८५ मेगावाट विद्युत् उत्पादन भई सञ्चालनमा छन् । सङ्खुवासभामा सभाखोलाबाट ४.४ मेगावाट, हेवा खोलाबाट ३.२ मेगावाट, पिलुवा–१ बाट ३ मेगावाट र लोअर पिलुवाबाट १ मेगावाट विद्युत् उत्पादन हुदै आएको छ । त्यस्तै, निगुरे पावर हाउसबाट २५० किलोवाट क्षमताको विद्युत् उत्पादन भइरहेको छ । तर हिउँदको समयमा भने आधाभन्दा धेरै उत्पादन घट्ने गरेको विद्युत् प्राधिकरण संखुवासभा वितरण केन्द्रका प्रमुख ध्रुव अधिकारीले जानकारी दिए । जिल्लामा १० भन्दा बढी साना खोलाबाट ‘माइक्रो हाइड्रो’ सञ्चालन गरी स्थानीयले विद्युत् सेवा लिइरहेका छन् ।
संखुवासभामा विद्युत् उत्पादन बढ्दै गए पनि खपतको अवस्था भने न्यून छ । विद्युत् प्राधिकरण खाँदबारी वितरण प्रमुखका अनुसार हाल साँझको समयमा ४ मेगावाट खपत भइरहेको छ भने दिउँसो २ मेगावाट मात्र खपत भएको छ । जिल्लामा उद्योग कलकारखाना नभएकाले दिउँसो विद्युत्को खपत कम भएको खाँदबारी वितरण केन्द्रका प्रमुखले बताए ।

कृष्णराज शाक्य

प्रतिक्रिया दिनुहोस्