लघु जलविद्युत्मार्फत उत्पादन बढाउनुपर्नेमा जोड «

लघु जलविद्युत्मार्फत उत्पादन बढाउनुपर्नेमा जोड

ऊर्जा क्षेत्रका सरोकारवालाहरुले लघु जलविद्युत् निर्माण मार्फत उत्पादनमूलक योगदान दिन सकिने बताउँदै उत्पादन बढाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल नविकरणीय उर्जा परिसंघले आयोजना गरेको वेबिनारमा सरोकारवाला निकायका प्रतिनिधिहरुले ५ मेगावाट भन्दा साना जलविद्युत् आयोजनाले उत्पादनमा ठूलो योगदान दिन सक्ने बताए । उनीहरुले ठूला जलविद्युत् आयोजना तत्काल निर्माण गर्न नसकिने तथा समय लाग्ने भएकोले लघु जलविद्युत्मार्फत विद्युतीकरण गरी साना तथा ठूलो उद्योगहरुको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
एक सय किलोवाटसम्मका लघु जलविद्युत् आयोजनाहरु र ५ मेगावाटसम्मका विभिन्न जलविद्युत् आयोजनाहरु भने केही वर्ष यतादेखि समस्याग्रस्त हुँदै आएको बताउँदै उनीहरुले संघीय, प्रादेशिक र स्थानीय तहका सरकारहरुले यस्ता आयोजनालाई सहयोग गर्न सहज र उपयुक्त नीति निर्माण गर्दै कार्यक्रम ल्याउनुपर्ने बताए । कोरोना भाइरसको कारण सिर्जित महाव्याधि पछिको पुनरुत्थानका लागि पनि यस्ता जलविद्युत् आयोजनाहरु उपयोग गर्दै कृषि, साना तथा घरेलु उद्योग तथा अन्य प्रयोगका लागि आवश्यक व्यवस्था गर्न सरोकारवालाहरुले तयारी गर्नुपर्ने राय पनि उनीहरुको थियो ।
सरकारले बजेटमा नै व्यवस्था गरेर सरकारी श्रोतबाट र वित्तीय संस्थाहरुबाट ऋण उपलव्ध गराउनुपर्ने, सामाजिक आर्थिक उपयोगिताको सही मूल्यांकन गर्दै उचित वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
विद्युत् नियमन आयोगका सदस्य डा. रामप्रसाद धितालले ऊर्जाका समस्या समाधान गर्दै अहिलेको अवस्थामा लागत घटाउनेतिर केन्द्रित हुनुपर्ने बताए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले अहिले पनि लघु तथा साना जलविद्युत् लगायत नवीकरणीय ऊर्जा प्रविधिको सान्र्दभिकता रहेको बताउँदै यसको विकास र विस्तार भइरहेको बताए ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) उपाध्यक्ष कुमार पाण्डेले साना जलविद्युत् आयोजनामा देखिएको समस्या समाधानका लागि सरकारले उचित कदम चाल्नुपर्ने बताए । उर्जा विद् विश्वभूषण अमात्य र बैंकर भरत ढकालले साना तथा लघु जलविद्युत् आयोजनाका समस्या समाधान गर्दै उद्यमीलाई पु-याउन र उत्पादनमूलक क्रियाकलापमा विद्युत् खपत बढाउन विभिन्न उपाय अवलम्बन गर्न सकिने राय दिएका थिए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जलविद्युत् प्रवद्र्धक सूर्यप्रसाद अधिकारीले ५६ वटा आयोजनामार्फत हाल १ सय ५५ उत्पादन गरीरहेको तथा ५ सय ११ मेगावाट साना जलविद्युत् निर्माण भइरहेको बताउँदै सरकारको नीतिका कारण धेरै आयोजना रुग्ण अवस्थामा पुगेको तथा सरकारले लगाएको हाइड्रोलोजी पेनाल्टी, प्रसारण लाइनको अभाव लगायतको कारण ४५ प्रतिशत आम्दानी गुमाउनुपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्