घर ठडियो, ज्यामी खर्च शून्य ! «

घर ठडियो, ज्यामी खर्च शून्य !

चौतारा साँगाचोकगढी नगरपालिका–११ भीमटारकी विमला माझी (३५)ले भूकम्पपछि पुनर्निर्माणको क्रममा आफ्नो घरको ढलान गरिसके पनि ज्यामीका लागि पैसा खर्चिनु परेको छैन । आफ्नो परिवारसहित छिमेकीको सहयोगले उनको घर ठडिए पनि पैसा भने निर्माण सामग्री खरिदमा मात्रै खर्चिएकी छन् ।
गाउँमा सबैले एकैसाथ आवास निर्माण थाले पनि विमलाको जस्तै अन्यको पनि ज्यामी खर्च शून्य छ । यहाँका स्थानीयले आलोपालो घर बनाउन थालेकाले आवास निर्माणमा खर्च कम भएको हो । गाउँका महिला, बालबालिकासमेत पुनर्निर्माणमा जुटेका छन् । “ज्यामी खर्च अहिलेसम्म एक रुपैयाँ पनि लागेको छैन,” विमलाले भनिन्, “छिमेकीसँग पर्म लगाएकाले अनुदानको पैसा निर्माण सामग्रीमा मात्रै खर्च भएको छ ।” उनले आफ्नो घर ठडिएपछि पर्म तिर्न छिमेकीको घर निर्माणमा लागेको बताइन् । अहिले विमलाको सासू, ससुरा र श्रीमान् छिमेकीको घर ठड्याउन पर्म तिर्दै छन् । “घर बनाउन निकै सजिलो भयो,” अर्मपर्म गर्दाको फाइदा सुनाउँदै उनले भनिन् “सय जनाभन्दा बढी कामदार पर्ममा नै लगाएर घर बनाएँ ।” उनले पैसा नहुनेका लागि पर्म गरेर घर बनाउनु धेरै राम्रो र सजिलो पनि हुने गरेको अनुभव सुनाइन् ।
भूकम्पले गाउँका सबै घर ध्वस्त बनाएपछि एकैसाथ उठाउने अभियानअनुसार गाउँवासी एकजुट भएका हुन् । यो गाउँमा सबैले आ–आफ्नो स–साना टहरासँगैे पक्की घर बनाइरहेका छन् । केही घरको ढलान हालेर छोडिएको छ भने केही घरमा पर्खाल लगाउने काम हुँदैछ । निर्माण सम्पन्न भएका केही घरका परिवार भने टहरोबाट नयाँ पक्की घरमा बसोबास गर्ने तयारी अवस्थामा छन् । पर्ममा खेती चलाएजस्तै भीमटारका माझी समुदायले भूकम्पपछि आवास निर्माणमा जुटेपछि सबैको घर बन्न थालेको हो ।
वर्ष दिनअघि सात दिने डकर्मी तालिम लिएकी अञ्जु माझीको दिनचर्या आजभोलि घर बनाउने काम गरेर बित्ने गरेको छ । तालिमपछि गाउँघरमा पुनर्निर्माणको कामले उनलाई भ्याइनभ्याइ छ । आफ्नो तथा छिमेकीको घर बनाउन बुहारीले गरेको यो मेहेनतबाट आफूलाई निकै खुसी लागेको उनका ससुरा रामजी माझी बताउँछन् । “ढुंगा बोक्नेदेखि सबै काम अहिले महिलाले नै गर्छन्,” उनले भने, “पुरुषले भन्दा महिलाले बढी काम गरेको देख्दा निकै खुसी लागेको छ ।”
माछा मारेर जीवन गुजारा गर्ने इन्द्रावती नदी किनारका यो समुदायलाई पुनर्निमार्णले छपक्कै छोपेको छ । गाउँवासी सबै मिलेर आफ्नोभन्दा पहिला नै जेष्ठ नागरिक, एकल, अशक्त, अपांगता भएकाका लागि मापदण्डमा रहेर दुई कोठे पक्की घर पहिले नै निर्माण गरिदिएर नमुना काम गरेका छन् । घर बनाउने क्रममा महिलाको स्वास्थ्यलाई असर गर्ने गरी कुनै असजिला काम गर्न लगाइँदैन । बालबालिका पनि पढाइका अतिरिक्त केही समय घर बनाउन सहयोगमा जु्ट्ने गरेका छन् ।
पहिले–पहिले यस्ता निर्माण कार्यमा पुरुषको मात्रै सहभागिता हुने गरेकोमा आजभोलि भने महिला पनि सक्रियताका साथ सहभागी हुन थालेको रामजी बताउँछन् । माझी समुदायले आलोपालो पर्म चलाएरै गाउँका ३६ वटा पक्की (आरसीसी) घर बनाएका छन् । आर्थिक स्रोत, दक्ष कामदार तथा निर्माण सामग्रीको चर्को मूल्यवृद्धिले पुनर्निर्माणमा अवरोध भएको स्थानीय बताउँछन् । “ज्यामी खर्च नलागे पनि मूल्यवृद्धिका कारण आवास निर्माणमा केही खर्चिलो भयो,” अरुणा माझी भन्छिन्, “सडक मर्मत नभएकाले ढुवानीमा समेत असहज हुँदा घर निर्माण सम्पन्न हुन ढिलाइ भयो ।” आवास निर्माणका क्रममा आइपरेका अनेक समस्यालाई सबै मिलेर समाधान गर्दै पुनर्निर्माणलाई गति दिएको उनले बताइन् ।

किशोर बुढाथोकी

प्रतिक्रिया दिनुहोस्