दक्षिण कोरियाले पुनः प्रयोग सकिने स्पेस भेइकल बनाउने

दक्षिण कोरियाले पुनः प्रयोग गर्न मिल्ने स्पेस भेइकल बनाउने महत्वकांक्षी योजना अगाडि सारेको छ । देशले एरोस्पेस उद्योगमा विश्वव्यापी पावरहाउस बन्ने प्रयत्न गरेसँगै यस किसिमको सवारी बनाउन लागेको देशको एरोस्पेस संस्थाका प्रमुखले बताए ।
हालै मात्र इलोन मस्कको स्पेस एक्सले सफलतापूर्वक आंशिक रूपमा पुनः प्रयोग गर्न मिल्ने रकेट लन्च र अवतरण गराएको छ ।
हालसम्म व्यावहारिक रूपमा अन्तरिक्ष रकेटहरू पुनः प्रयोग गर्न नमिल्ने किसिमका मात्रै विकास भएका छन् । यसको अर्थ अन्तरिक्षमा रकेट लन्च गरेपछि यो मिल्काउनुपर्ने किसिमको मात्रै भएको लाग्छ ।
“रकेटहरू स्पेस एक्सको मामिलामा पुनः प्रयोग गर्न मिल्ने किसिमका देखिएका छन्,” कोरिया एरोस्पेस रिसर्च इन्स्टिच्युट (कारी) का निर्देशक लिम चियोल होले बताए । कारी समान किसिमको रकेटका लागि आधारभूत योजनाको म्यापिङको प्रक्रियामा लागेको उनले बताए ।
यो मिसन दक्षिण कोरियाको एरोस्पेसको इतिहासका लागि संवेदनशील भएको र अन्य विश्व महाशक्तिको हाराहारीमा जानका लागि प्रयासरत भएको उनले बताए । यस किसिमको रकेटमा हाल अमेरिका, जापान र रूस अग्रपंक्तिमा देखिएका छन् ।
“यो योजनाको समीक्षा एक वर्षभित्र पूरा हुने अपेक्षा गरिएको छ,” उनले बताए ।
यो संस्थाले आगामी २०३० सम्ममा चन्द्रमामा सफलतापूर्वक अवतरण गर्ने विपषयमा पनि विस्तृत रूपमा काम गरिरहेको छ ।
आगामी २०२० सम्ममा चन्द्रमाको कक्षमा स्पेसक्राफ्ट पठाउनका लागि आवश्यक आधारभूत प्रविधिलाई सुनिश्चित गर्नेछ र यसको एक दशकपछि चन्द्रमाको सतहमा अवतरण गर्ने लक्ष्य कारीले निर्धारण गरेको लिमले बताए ।
दक्षिण कोरिया दोस्रो पुस्ताको चोलियन भू–उपग्रहको एक जोडी विकास गर्ने प्रक्रियामा छ । योमध्येको एक जियोस्टेसनरी भू–उपग्रह हुने र अर्को समुद्रको अवलोकनका लागि हुने लिमले बताए ।