Logo

खयर फँडानीमा संलग्नलाई कैद र जरिवाना माग

 धादिङ- जिल्लाको उत्तरी क्षेत्रमा पर्ने त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ३ मा अवस्थित दुईवटा सामुदायिक बन क्षेत्रभित्र खयर फडानीमा संलग्न ६ जना बिरुद्ध कैद सजायँ र जरिवानाको माग दावी गरेको छ । माता जलेश्वरी सामुदायिक वन र रातमाटा खोपाको पाखा सामुदायिक वन भित्र अबैध ढंगबाटे खयर कटान गरेकाले दोषीहरु माथि विगो वापतको दोव्वर जरिवाना र कैद सजायँको माग गर्दै जेठ २ गते डिभिजन बन कार्यालय धादिङले जिल्ला अदालत धादिङमा अभियोग पत्र दायर गरेको छ । 
गत चैत २८ गते डिभिजन बन कार्यालयमा प्राप्त जाहेरीका आधारमा अनुसन्धान गरि माता जलेश्वरी सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष श्यामबहादुर बानियाँ, सचिव गणेश वहादुर अधिकारी, रातमाटा खोपाको पाखा सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष कमल वहादुर बानियाँ र सदस्य डिल वहादुर रुवाली सहितका बिरुद्ध सजायँको माग दावी अभियोग पत्र दायर गरिएकोे छ । काठ ओसार पसार तथा बेचविखन गर्ने कार्यमा संलग्न व्यापारीद्धय पाल्पा जिल्ला चोपपानी घर भई बुटवल बस्ने गुप्तबहादुर सारु र गुल्मी जिल्ला रुरुक्षेत्र घर भएका मित्रलाल सारुलाई पनि सजायको माग गरि अभियोग पत्र दर्ता गरिएको डिभिजन वन कार्यालय धादिङले जनाएका छ ।
अभियोग पत्र दायर गरिएका मध्ये सारु द्धय फरार रहेका छन भने अरुलाई कार्यालयले पक्राउ गरि अनुसन्धानका लागि हिरासतमा राखेको छ ।  बन ऐन ७६ को दफा ४९ को दफा च र छ बमोजिमको सजायँको माग दावी गरी जेठ २ गते डिभिजन बन कार्यालयको तर्फबाट जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको डिभिजन बन अधिकृत जिवलाल पौडेलका अनुसार बताए । माता जलेश्वरी सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष बानियाँ, सचिव अधिकारी खयर फडानीमा  प्रत्यक्ष मिलेमतो भएका भनिएका व्यापारीद्वय पाल्पा जिल्ला चोपपानी घर भई बुटवल बस्ने सारु र गुल्मी जिल्ला रुरुक्षेत्र घर भएका सारुलाई बन ऐन ७६ को दफा ५० को उपदफा (६) को च वमोजिम जनही १३ लाख ९८ हजार को दोव्वर जरिबाना र २ बर्ष कैद सजायँको माग दावी गरिएको अभियोग पत्र उल्लेख छ ।
यसैगरी रातमाटा खोपाको पाखा सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष बानियाँ, कोषाध्यक्ष अधिकारी, सदस्य रुवाली र व्यापारीद्वय सारुलाई बन ऐन ७६ को दफा ५० को उपदफा (६) को च वमोजिम जनही दुई लाख ६५ हजार बमोजिमको जरिबाना र १ बर्ष कैद सजायँको माग दावी गरिएको डिभिजन बन अधिकृत पौडेलले वताए ।  स्थानीय शिव गुभाजुको निजी जग्गाभित्रको खयर रुख कटानका लागि स्वीकृति पाएका ठेकेदारले लकडाउनको मौका छोपेर सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीसंग मिलेमतोमा थप पाँच दर्जन खयर अबैध ढंगबाट चोरी तस्करी गरि काटिएको भन्दै स्थानीयले डिभिजन वन कार्यालयमा जानकारी दिएपछि खयर कटानको घटना वाहिर आएको हो । स्थानीयको उजुरीपछि डिभिजन वन कार्यालय धादिङले सहायक वन अधिकृत लोकनाथ लम्साललाई अनुसन्धान अधिकृत तोकी  अनुसन्धान गरिएको थियो ।  अनुसन्धान अधिकृत मार्फत स्थलगत अनुसन्धान गर्दा गरि कटान भएका रुखको पहिचान गरि १३३९ थान ७७६.३७ क्युफिट काठ बरामद गरि  सिलबन्दी गरेको डिभिजन बन अधिकृत पौडेलले बताए । 
  स्थानीयबासी शिव गुभाजूसहित १५ जनाले गत मंसिर १७ गते आफ्नो लालपुर्जामा भएको जग्गामा रहेको खयरको रुख काट्न डिभिजन बन कार्यालय सँग अनुमति मागेका थिए । सबै प्रक्रिया पुरा गरी कार्यालयले उनीहरुलाई १ सय ८४ वटा रुखमा टाँचा लगाइ कटानको अनुमति दिएको थियो । जसमध्ये १ सय ७४ वटा रुखहरु कटान भइ राजश्व तिरेर बेचबिखन भइसकेपछि आवादी जग्गाकै छेउछाउमा रहेको सामुदायिक वनको क्षेत्रभित्र रहेको खयरका रुखहरु काटिएको जनगुनासो पछि अनुसन्धान अधिकृतका तोकी खटाए कानून वमोजिम अनुसन्धान गरेको डिभिजन बन अधिकृत पौडेलले बताए ।   खयरको काठ पान मसालाको रुपमा तथा विभिन्न रङ्ग र पालिस बनाउन प्रयोग हुन्छ । तराई र पहाडी क्षेत्रका केही गर्मी इलाकामा पाइने ठूला रुख हुने वनस्पति हो । खैयरको बोक्रा ताछेर भित्री रातो रङको काठलाई पानीमा उमालेपछि त्यसको रसायनबाट बन्ने कत्था औषधि तथा मसलामा प्रयोग हुने गर्दछ । त्यसैले यसलाई बहुउपयोगी वनस्पतिको रुपमा पनि लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्