५ वर्षभित्र ५ सय किमि कालोपत्रे गर्ने महानगरको लक्ष्य

विराटनगर महानगरपालिकाले आगामी ५ वर्षभित्र ५ सय किलोमिटर सडकलाई कालोपत्रे गर्ने योजनाअघि सारेको छ ।
१०४ वर्षे इतिहास कोरेको विराटनगरका भित्री सडकहरू अझैसम्म ग्राभेल हुन सकेको छैन । लामो इतिहास बोकेको विराटनगरको विकास सुस्त गतिमा भएकोमा यहाँबाट प्रतिनिधित्व गर्ने सांसद, मन्त्री र महानगरपालिकाको आलोचना हुँदै आएको छ । “अबको ५ वर्षभित्र महानगरपालिकाभित्रका सबैजसो सडक कालोपत्रे गर्ने लक्ष्य लिएका छौं,” महानगरका मेयर भीम पराजुलीले आफ्नो योजना सुनाउँदै भने, “दुई वर्षभित्र त अहिले ग्राभेल भएका सडक सबै सडकलाई कालोपत्रे र अहिले ग्राभेल नभएका सडकलाई ग्राभेल गर्ने योजना छ ।”
महानगरले सडक निर्माणलाई उच्च प्राथमिकता दिएको उनले सुनाए । महानगरका १९ वटै वडाका बासिन्दालाई वर्षायाममा जुत्ताचप्पल लगाएर घर पुग्ने अवस्था सिर्जना गर्ने मेयर पराजुलीले बताए । उनले निर्माणाधीन सडक, नाला र ढलको गुणस्तरलाई समेत ध्यान दिएको बताए । गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइए तत्काल महानगरलाई खबर गर्न स्थानीयलाई आग्रह गर्दै आएका छन् पराजुलीले ।
महानगरपालिकाले सडक निर्माणलाई तीव्रता दिएको छ । अहिले महानगरपालिकाभित्र ढल, नाला र सडक बनाउने कार्यलाई तीव्र गतिमा अघि बढेको छ । महानगरपालिकाभित्रको वडा नम्बर १ को भट्टाचौकदेखि परोपकार घाटसम्म सडक पिच गर्ने कार्य तीव्र गतिमा भइरहेको छ । यस्तै वडा नम्बर २ को पोखरिया त्रिवेणी मार्गदेखि परोपकार घाटसम्म नाला ढलाइ गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । यस्तै वडा नम्बर ३ को पुष्पमार्ग, कञ्चन मार्ग, सिभिलम मार्गमा पिच तथा नाला बनाउने कार्य जोडतोडका साथ भइरहेको छ ।
यस्तै वडा नम्बर ५ मा शिरोमणिपथ, दिल्ली पब्लिक स्कुल जाने सडक, नाला, जानकी पथको पिच, नाला वार्ड नम्बर ६ को केसलिया सडक, वार्ड नम्बर ११, १२ को पाञ्चाली मार्ग, वडा नम्बर १२ को महेन्द्र मोरङ कलेज, चेङबारी पैनीमा नाला, दरैया सडक नाला, रानी सडक, नाला निर्माणकार्य तीव्र रूपमा अघि बढेको छ । महानगरपालिकाभित्र क्षेत्रीय सहरी विकास परियोजनाको १५ प्रतिशत, मझौला सहरी एकीकृत वातावरणीय सुधार परियोजनाको ९५ प्रतिशत काम सम्पन्न भएको महानगरपालिका वरिष्ठ इन्जिनियर भरत न्यौपानेले जानकारी दिए । साना तथा मझौला वातवरणीय विकास परियोजनाअन्तर्गत २ अर्ब ९५ करोड, क्षेत्रीय सहरी विकास परियोजनाअन्तर्गत २ अर्ब ६२ करोड तथा सघन सहरी विकास कार्यक्रमअन्र्तगत ६२ करोडको लागतमा विकास निर्माणका कामहरू भइरहेका छन् । यी परियोजनाले सडक, नाला तथा कालोपत्रे गर्ने काम गरिरहेका छन् ।
कालिका कन्स्ट्रक्सनका इन्जिनियर महेश सुवेदीले सघन सहरी विकास कार्यक्रमअन्तर्गत १३ किलोमिटरमा नाला बनाइसकेको, ८ किलोमिटरमा सवबेस गरिसकिएको र ५ किलोमिटर सम्पन्न भइसकेको बताए । विराटनगरको १५० देखि २ सय किलोमिटर सडक निर्माण चरणको अन्तिम चरणमा पुगेको जनाएको छ । यस्तै रोडसाइड ड्रेन ३६ किलोमिटर र ठूला नाला ३४ किलोमिटर निर्माण सम्पन्न भएको वरिष्ठ इन्जिनियर न्यौपानेले बताए ।
हरेक मन्त्रिपरिषद्मा विराटनगरबाट एक–दुईजना मन्त्री सहभागी भए पनि विराटनगरको विकासमा ध्यान नदिने गरेको एलिट क्लबका अध्यक्ष डा. भेषप्रसाद धमलाको भनाइ छ । महानगरपालिकामा जनप्रतिनिधि आएपछि भने केही आशा पलाएको उनले बताए । “गएको सात महिनाको काम हेर्दा जनताले आशा गर्ने धेरै आधार छन्,” उनले भने, “जनप्रतिनिधिले काम सुरु गरेपछि जनताले महसुस हुने गरेका काम सुरु भएको छ ।”