प्राधिकरणको बेवास्थाले खानीडाँडा विमानस्थल बेकम्मा बन्दै

नेपाल नागरिक उड्डयान प्राधिकरणको बेवास्थाका कारण खोटाङको मनमाया राई खानीडाँडा विमानस्थल बेकम्मा बन्ने स्थितिमा पुगेको छ । सदरमुकाम दिक्तेल नजिक रहेको खानीडाँडा विमानस्थल चिराचिरा हुँदासम्म प्राधिकरणले चासो नदेखाउँदा बेकम्मा बन्ने स्थितिमा पुगेको हो ।
माटो कटान हुँदा जोखिममा परेको विमानस्थल मर्मतका लागि बजेट विनियोजन भएको भए पनि प्राधिकरणले हालसम्म काम गर्ने चासो देखाएको छैन ।
गत जेठ १ गतेको भारी वर्षाका कारण ड्रेन (ढल) थुनिएपछि रन–वेमा जमेको पानी फुटेर बाहिरिँदा विमानस्थलको डिलको माटो कटान सुरु भए पनि यसको स्थायी रोकथामका लागि प्राधिकरणले हालसम्म ध्यान दिएको छैन ।
विमानस्थलमा टेवा पर्खाल र तार जाली निर्माणका लागि भ्याटवाहेक ७० लाख र ‘मेन्टेनेन्स’ का लागि पनि केही बजेट विनियोजन भइसकेको नेपाल नागरिक उड्डयान प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठले जानकारी दिए । उनले भने, “खानेपानी व्यवस्थापनका लागि भ्याटबाहेक २४ लाख विनियोजन भएको छ ।” तर, कामको प्रगति के भइरहेको छ, इन्जिनियरबाट कामको रिपोर्ट लिन बाँकी रहेकाले कामको प्रगति बताउँनलाई गाह्रो भएको छ ।”
धावनमार्गको विज्ञहरूबाट अध्ययन डिजाइन भइरहेको नागरिक उड्डयान प्राधिकरणका निर्देशक ध्रुव भोजुभयाले बताए । उनले भने, “विज्ञ र कन्सलटेन्टलाई खटाएका छौैं, उनीहरूले रिपोर्ट बुझाएपछि हामी अगाडि बढ्ने छौं ।” आधिकारिक रिपोर्ट आएपछि कामको प्रक्रियामा लाग्नेछौं उनले भने । तर, उनि आफू प्राधिकरण निर्देशक भए पनि स्वयं धावनमार्गको मर्मत कहिले हुन्छ भन्नेमा प्रष्ट छैनन् । मनमाया राई खानीडाँडा विमानस्थल निर्माण उपभोक्ता समिति अध्यक्ष दुर्गा घिमिरे प्रशस्त जग्गा हुँदाहुँदै इन्जिनियरको गलत स्टिमेट र प्राविधिक त्रुटिका कारण उच्च हाइटमा विमानस्थल बनाइँदा बारम्बार पहिरोले तान्दा बर्सेनि लाखौं खर्च हुने भन्दै ढुक्क बसेका छन् । उनले पनि विमानस्थल मर्मतमा खासै चासो देखाएका छैनन् ।
साइड इन्चार्ज रत्न बनाउन पहल हुँदैछ भनेर झारो टार्छन् । उनी भन्छन्, विमानस्थल बग्दैन, यता विमानस्थलको धावनमार्ग हिउँदमा नै ढुंगा माटो झरेर जीर्ण बन्दै गइरहेको छ । वर्षातमा के हाल होला ? वर्षात् सिजन सुरु भइसकेको छ ।
खोटाङका प्रमुख जिल्ला अधिकारी तथा मनमाया राई खानीडाँडा विमानस्थ अनुगमन समिति संयोजक एकदेव अधिकारी धावनमार्ग पुनः निर्माणमा आफू जोडदार लागि परिरहेको तर, सुनुवाइ नभएको सुनाउँछन् । नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको सम्पत्ति भएकाले प्राधिकरणले यस विमानस्थलाई चासोमा नराख्नुले समस्या भएको उनको भनाइ छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा अवस्थित विमानस्थलको रन–वेमा भरिएर किनाराबाट निकास भएको भलपानीका कारण विमानस्थलको १०-१५ मिटर डिल भासिनुका साथै फिलिङ माटो बगेको छ । कटानका कारण विमानस्थलको रन–वेभन्दा २-३ मिटर नजिकसम्मको भाग भासिए पनि थुनिएको ड्रेन खुलाउनमा हालसम्म कसैको ध्यान पुग्न सकेको छैन । जमिन भिजेर माथिबाट खसेको स्ल्यावले ड्रेनको मुख थुनिँदा रन–वेमाथिबाटै निकासा भएको पानीले विमानस्थलको दक्षिणीतर्फका डिल कटान गरेको छ । पुनः वर्षायाम सुरु हुन लाग्दासमेत थुनिएको कल्भर्ट खोल्नमा नेपाल नागरिक उड्डयान प्राधिकरणको चासो नपुग्दा थप क्षति हुने खतरा बढेको छ ।
वर्षाको भलपानी निकासाका लागि टावर नजिकै राखिएको कलभर्ट थुनिँदा विमानस्थल कटान भएको यो दोस्रो पटक हो । यसअघि, भलपानीले बगाएर झरेको माटोले कल्भर्ट थुनिँदा ०६९ साल साउनमा पनि धावनमार्ग माथिबाट बगेको भलपानीले विमानस्थलको डिल कटान गरेको थियो । थुनिएको ड्रेन अस्थायी रूपमा खोलिए पनि स्थायी रूपमा नखोल्दा वर्षायाममा थप क्षति पुग्ने अवस्था कायम रहेको नेपाल वायु सेवा निगमका खानीडाँडा स्टेसन इन्चार्ज यादवसेन राईले बताए । “विमानस्थलको ड्रेन अस्थायी रूपमा खोल्ने काम भएको छ,” स्टेसन इन्चार्ज राईले भने, “तर, यो समस्याको दीर्घकालीन समाधानमा सबैको ध्यान जान जरुरी छ ।”
स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गामा ०६० वैशाख २० गतेबाट निर्माण सुरु गरिएको विमानस्थलमा ०६२ सालमा नेपाली सेना र नेपाल एयरलाइन्सले परीक्षण उडान भरेको थियो । जिल्लाका लामीडाँडा, थामखर्कसहित तीनवटा विमानस्थलहरूमध्ये दूरीका हिसाबले खानीडाँडा विमानस्थल सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्छ । दिक्तेलबाट बढीमा डेढघण्टा पैदल दूरीमा रहेका कारण अधिकांश बिरामीलाई अस्पताल लैजानका लागि खानीडाँडा विमानस्थलको उपयोग हुने गरेको छ ।
स्थानीयको १५ करोड बढी श्रमदान तथा नेपाल नागरिक उड्यान प्राधिकरणको ७ करोड २४ हजार लागतमा निर्माण सम्पन्न ५ सय ९० मिटर लम्बाइ र २० मिटर चौडाइ धावनमार्गको बीचभाग करिब सय मिटर पनि चर्किएको छ । विमानस्थलमा यतिका धेरै समस्या भएपनि नागरिक उड्डयान प्राधिकरण र निर्माण उपभोक्ता समिति भने समाधानको विकल्प खोज्न निरीह देखिएको छ ।
जिल्लामा खानीडाँडाका साथै लामीडाँडा र थामखर्क विमानस्थल पनि छन् । थामखर्क विमानस्थलमा लामो समयदेखि उडान अबरुद्ध छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको ९ करोड ३८ लाख ६८ हजार ७ सय रुपैयाँ सहयोगमा कालोपत्रे गर्ने काम रौता कन्ट्रक्सन कम्पनीले जिम्मा लिएको भए पनि कम्पनीले कामको सन्दर्भमा ढिलासुस्ति गरीरहेको पाइएको हो ।
०७३ माघ महिनादेखि आउँदो असार मसान्तसम्म दुई वर्षभित्रमा सञ्चालनमा ल्याउने गरी कालोपत्रेको काम सुरु गरेको कम्पनीले हालसम्म ३० प्रतिशत पनि काम गरेको छैन । उक्त विमानस्थलको धावनमार्ग कालोपत्रेको कामलाई तीव्र रूपमा अगाडि नबढाए त्यसबाट उत्पन्न हुने समस्याको जिम्मा ठेकेदार कम्पनीले लिनुपर्ने भन्दै स्थानीयवासी आक्रोशित भएका छन् ।
यस्तै, जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लामीडाँडा विमानस्थलको पनि कालोपत्रेको काम भइरहेको छ । लामीडाँडा विमानस्थलको हालसम्म ५० प्रतिशत काम भइसकेको जनाइएको छ । २०२८ सालदेखि सञ्चालनमा आएको विमानस्थल कालोपत्रेको काम गत वैशाखदेखि सुरु गरिएको हो । कालोपत्रेका लागि प्राधिकरणको ६ करोड ७६ लाख ९३ हजार ८०९ रुपैयाँ ४९ पैसा लगानी छ । यो विमानस्थल कालोपत्रेको काम तीव्र रूपमा भइरहेको छ ।
–उत्तम चौलागार्इं