अर्थतन्त्र उकास्न १६० अर्बको संकटकालिन सहयोग घोषणा «

अर्थतन्त्र उकास्न १६० अर्बको संकटकालिन सहयोग घोषणा

विश्वका ६ करोड जनता गरिबीमा

विश्व बैंकले कोरोनाभाइरस (कोभिड–१९) को महामारीले विश्वको अर्थतन्त्रमा गम्भीर समस्या परेको भन्दै सहयोगको घोषणा गरेको छ । बैंकले संकटकालीन सहयोगको घोषणा गर्दै अर्थतन्त्रमा परेको असरले विश्वका थप ६ करोड मानिसहरू चरम गरिबीमा धकेलिने बताएको छ । विश्व बैंकका अध्यक्ष डेभिड मालपासले बुधबार वक्तव्य जारी गर्दै कोरोनाका कारण गम्भीर रूपमा प्रभावित भएका विश्वका १०० मुलुकका लागि नयाँ संकटकालीन सहयोगको घोषणा गरेका हुन् ।
“कोभिड–१९ महामारीले हालसम्मका प्रगतिहरू खेर जान लागेको र यसबाट संसारभरका ६ करोड मानिस गरिबीमा धकेलिनसक्ने अवस्था आएको छ,” उनले भनेका छन्,  “बैंकले यी विकासशील देशहरूलाई आगामी १५ महिनाभित्र १ खर्ब ६० अर्ब अमेरिकी डलर अनुदान र आर्थिक सहयोग उपलब्ध गराउने छ ।” मालपासले विश्वका ७० प्रतिशत जनसंख्या लाभान्वित हुनेगरी एक सय देशमा यो रकम उपलब्ध गराइरहेको बताए । उनका अनुसार आकस्मिक सहायता कार्यक्रममा रूपमा ति देशहरूमा थप अनुदान तथा कम ब्याजदरको ऋण सहयोग दिने पाउने छन् । गत मार्चदेखि परिचालन गर्न थालिएको यो सहयोगले विकासशील देशहरूले गरिब र जोखिममा रहका वर्गको रक्षा, स्वास्थ्य प्रणालीलाई सुदृढीकरण गर्न, निजी क्षेत्रको अवस्था कायम राख्न र आर्थिक सुधारमा  सहयोग र्पुयाउने बैंकले जनाएको छ । यो सहयोग  विश्व बैंक  समूहको इतिहासको सबैभन्दा ठूलो सहायता प्याकेज हो ।
कुल परियोजनाहरू मध्ये करिब एक तिहाई अफगानिस्तान, चाड, हैटी, र नाइजेरिया लगायत कमजोर र द्वन्द्व प्रभावित मुलुकमा केन्द्रित रहेको बैंकले जनाएको छ ।मालपासले विश्व बैंकको आकस्मिक सहायता कार्यक्रमले मात्र पर्याप्त नहुने भन्दै यसमा अन्य दाताहरूलाई पनि जोडिन आग्रह समेत गरेका छन् । उनले यस कार्यक्रमको तीव्र बिस्तारका लागि सहवित्तीयकरण तथा दाताहरूबीच सहकार्य समेत गर्न सकिने मेकानिज्म तयार पारेको जानकारी दिए । यी कार्यक्रमहरूलाई जति चाँडो र तीव्र गतिमा बिस्तार गर्न सक्यो त्यसबाट बढी भन्दा बढी देशहरूले लाभ लिन सक्ने उनको भनाइ छ ।कोरोना महामारीको सुरुवातदेखि नै विश्व बैंक समूहले विकासशील देशहरूप्रति चासो देखाएको भन्दै मालपासले सबैभन्दा कमजोर मुलुकहरूमा नगद वा ऋण भुक्तानीमा सहायता दिने तथा आर्थिक सुधारका लागि सघाउन सुरु गरिसकेको जानकारी दिए ।
उनले हालको अवस्थामा वित्तीय सहायताका दायरा निकै फराकिलो पार्न विश्व बैंकले चाहेको भन्दै स्वास्थ्य संकटका लगि प्रत्यक्ष सहायता तथा साना स्तरका ब्यवसायका लागि पुँजी, प्राविधिक सहयोग तथा गरिब देशहरूमा ऋण सहायता कार्यक्रम जारी नै राखेको बताए । “विकसित देशहरूले सुरक्षित रूपमा अर्थतन्त्रलाई विस्तारै पुनः संचालनमा ल्याउन सके विकासशील देशहरूको अर्थतन्त्रमा पनि यसले सकारात्मक सुधार ल्याउन सक्छ उनले भनेका छन् यसबाट रेमिट्यान्स, पर्यटन तथा वित्त ब्यापारको क्षेत्रमा हाल भइरहेको अधिक नोक्सानीलाई केही हदसम्म कम गर्न सकिने छ ।” स्टेटमेन्ट मार्फत उनले आईएमएफसँग मिलेर गरेको गरिब मुलुकहरूलाई दिएको ऋण रकम भुक्तानी हालको लागि स्थगित गर्ने काम जी ट्वेन्टी  राष्ट्रहरूले गरेको सहयोगका कारण यो सम्भव भएको स्पष्ट पारेका छन् ।
 निजी क्षेत्रलाई सहयोग गर्नका लागि विश्व बैंकअन्तर्गत आइएफसी र एमआइजिएमार्फत अर्बौं डलर फास्ट ट्रयाकबाट परिचालन गरिएको पनि जानकारी दिदै उनले भ्रष्टाचार निवारणमा तथा पारदर्शिताको क्षेत्रमा उपलब्धिमूलक काम हुने गरी विश्व बैंकले सहयोग उपलब्ध गराएको बताए । अहिले कोरोना भाइरसको संक्रमण विश्वका धनी गरिब सबैजसो मुलुकमा पुगिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्