वल्र्ड इनोभेसन फोरमको राष्ट्रिय तयारी

विश्वमै पहिलो पटक स्विट्जरल्यान्डमा आयोजना हुन लागेको वल्र्ड इनोभेसन फोरमको पूर्वतयारी स्वरूप राजधानीमा उद्यमशीलतासम्बन्धी विशेष कार्यशाला (इन्टरप्रेनुअल वेभ्स इन नेपाल)को आयोजना गरियो । कार्यशालामा वल्र्ड इनोभेसन फोरमका संस्थापकद्वय एक्सेल सल्ज र मारिता सल्जले विश्वभरि नै उद्यमशीलताका सन्दर्भमा भइरहेका नयाँ आविष्कार एवं सिर्जनशीलताबारे एकै थलोमा विचार र आविश्कारहरूको आदान–प्रदान गर्ने उद्देश्यसहित वल्र्ड इनोभेसन फोरम आयोजना गर्न लागिएको जानकारी दिए ।
नेपाल औषधोपचार, तथ्यांक व्यवस्थापन सहितका क्षेत्रमा भइरहेका नयाँ प्राविधिक उद्यमशीलता (स्टार्टअप)हरूको सन्दर्भ उल्लेख गर्दै वल्र्ड इनोभेसन फोरमका सह–संस्थापक एक्सेल सल्जले सबै देशका उद्यमीहरूबीच सम्पर्क र साझेदारी विस्तार गरी एकअर्काबीच अनुभव आदान–प्रदान, एकअर्कालाई प्रेरित गर्नुपर्ने र विश्वभरि नै व्यावसायिक साझेदारीको सिर्जना गरिनुपर्नेमा जोड दिए । उनले नेपालसहित विश्वका थुप्रै देशहरूमा बाँकी विश्वसँग सम्पर्क सञ्जाल बढाइ आफ्ना लागि आवश्यकता विषयमा सिक्ने, समस्याहरू समाधान गर्ने विधि र युवा उद्यमीहरूले प्रविधिजन्य व्यावसायिक मोडलहरू विकासका साथै त्यसका लागि आवश्यक पर्ने पुँजी जुटाउने चुनौती सम्बोधन गर्नका लागि आफ्ना अनुभव साझेदारी गर्ने मौका खोजिरहेको बताए ।
वल्र्ड इनोभेसन फोरमकी सह–संस्थापकद्वय मारिता सल्जले महिला उद्यमीहरूले परिवार र कार्यजन्य सन्तुलन कायम राख्दै उद्यमशीलतामा हात हाल्दाका व्यावहारिक समाधानहरूबारे परिचर्चा गरेकी थिइन् । “महिलाले पुरुष उद्यमीका बानीबेहोरा र कार्यशैलीका नक्कल गर्ने होइन, महिला भएकै नाताले प्राप्त विशिष्ट लाभहरूको पहिचान गरेर त्यसको अधिकत् सदुपयोग गर्नुपर्छ,” सल्जले भनिन् ।
फोरमका राजदूत खेम लकाईले सबै किसिमका राजनीतिक समस्याहरू क्रमशः समाधान भएर नेपाल अहिले संघीय गणतन्त्रमा परिणत भइसकेको परिप्रेक्षमा यहाँ उद्यमशीलता र व्यवसाय विस्तारका लागि अहिले उपयुक्त अवसर भएको चर्चा गरे ।
कार्यशालामा राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)का अध्यक्ष पद्म ज्योति, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीलगायतका वक्ताहरूले उद्यमशीलता प्रबद्र्धनका लागि नेपालमा पर्याप्त अवसर भएको भन्दै अन्तर्राष्ट्रिय रूपमा उपलब्ध अवसरहरूको बढीभन्दा बढी लाभ उठाउन युवा उद्यमीहरूले पहल गर्नुपर्ने बताए ।