लकडाउनले पर्साको कृषिक्षेत्र प्रभावित «

लकडाउनले पर्साको कृषिक्षेत्र प्रभावित

वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ चोर्नीका प्रभु यादव र उनका दाजु शम्भु यादवले १५-१५ कठ्ठामा मकैबाली लगाएका थिए । उनीहरुले लगाएको मकै अहिले पाकिसकेको छ । मकै पाकेर घोगा छोडाइसकेपनि उचित मूल्य नपाउँदा उनीहरु चिन्तामा छन् । उनीहरु जस्तै वीरगन्ज ३२ चोर्नीका अनुमानित २० विगाह क्षेत्रफलमा मकै खेती लगाएका किसान अहिले मकैको बजार भाउ नपाएर चिन्तित छन् ।
देशमा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन जेठ २० गते सम्मका लागि लम्बिएको छ । जति जति लकडाउन लम्बिँदै गएको छ, त्यति किसानहरुले लगाउने एकपछि अर्कोबाली प्रभावित हुँदै गएको छ । लकडाउनले ढुवानी र बजारको व्यवस्था नहुँदा पाकिसकेको मकैबालीले उचित मूल्य नपाएर किसान मारमा परेका छन् । चोर्नीका किसान प्रभु यादवले भने, “राम्रो मकै भएको थियो ।
बजारमा मकैको मूल्य नहुँदा सित्तैमा दिनुपर्ने बाध्यता आएको छ ।” उनका अनुसार चैत ११ गते लकडाउन सुरु भएको समयमा ४५ रुपैयाँ प्रतिकिलो बिक्री हुने मकै अहिले आएर सबैभन्दा राम्रो मकै २० रुपैयाँ प्रतिकिलो मात्रै बिक्री हुने गरेको छ । कम मूल्यमा मकै बिक्री गर्दा मलखाद, बीउको समेत सावाँ तिर्न नसक्ने अवस्था रहेको यादवले बताए । उनले भने, “मकैको बीउ उधारो ल्याएका छांै । पैसा तिर्न बाँकी नै छ । साहु घरमा पैसा माग्न आइरहेका छन् । मैक बिक्री नगरी कहाँबाट पैसा ल्याउने ?” उनले मलिनो अनुहार गर्दै प्रश्न गरे ।
गाउँमा लाग्ने हाटबजार किसानले उत्पादन गरेको तरकारी तथा खाद्यान्नको मुख्य केन्द्र भएपनि लकडाउनका कारणले बजारमा लगेर बिक्री गर्ने अवस्था समेत नहुँदा उनीहरु पीडित भएका हुन् । मकै बाली लगाएका प्रभु मात्रै नभइ, अन्य बाली लगाएका किसानहरु पनि कोरोनाका कारण जारी गरिएको लकडाउन र निषेधाज्ञाले मारमा परेका छन् । पर्सामा नगदेबालीको रुपमा लगाइउने सुर्तीको पनि बजार नपाउँदा किसानहरु चिन्तित भएका छन् ।
पर्साको सबैभन्दा बढी सुर्तीखेती हुने सुवर्णपूर, विजयवस्ती, निर्मलवस्ती लगायतका स्थानका किसानले उत्पादन गरेको सुर्तीको एकमात्र उद्योग सूर्य नेपाल रहेको छ । सूर्य नेपालले पनि यो महामारीको विषम परिस्थितिमा अहिले सुर्ती नलिएको र ढुवानीमा पनि समस्या हुने भएकोले किसानहरुको सुर्ती कुहिने डर किसानलाई छ । पर्सामा यसवर्ष २१० हेक्टर क्षेत्रफलमा सुर्ती खेती लगाइएको छ । यसबर्ष उखु उत्पादन हुने क्षेत्रफल घटेकोले सूर्ती खेती गर्ने क्षेत्रफल बढेको कृषि ज्ञानकेन्द्रका प्रमुख डा. रामचन्द्र यादवले जानकारी दिए । उनका अनुसार गतवर्ष भन्दा १० हेक्टर क्षेत्रफल सुर्तीखेतीमा बढेको छ । पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जको जंगलसँग जोडिएको ठोरी गाउँपालिका क्षेत्रमा सुर्ती खेती लगाउने गरिएको छ ।
निकुञ्जबाट गाउँ पस्ने जंगली जनावरले बालनाली नोक्सानी गरिदिने गरेको र सूर्य नेपालले किसानलाई सुर्तीको बीउ, मलखाद तथा प्राविधिक सहयोग समेत दिने भएकोले त्यस क्षेत्रमा सुर्तीखेती गर्नेहरुको संख्या वृद्धि भएको छ । तर, अहिले सुर्ती खरिद गर्ने सूर्य नेपालले सुर्ती नलिएकोले किसान मारमा परेका हुन् । लकडाउन र निषेधाज्ञाले वर्षे खेती धान बालीका लागि ब्याडमा बीउ हाल्ने समय बित्न लाग्दा समेत किसानहरु, आफनो खेतमा पुग्न पाइरहेका छैनन् ।
सर्वसाधारण किसानलाइ कृषि कर्ममा अवरोध नगर्ने सरकारले भनेपनि पर्सामा लकडाउन र निषेधाज्ञाको समयमा किसानलाई कृषि कर्मका लागि खेतमा जान सुरक्षाकर्मीले बन्देज लगाएकाले समयमै धानको ब्याड राख्न नपाउँदा खेत बाँझै रहने चिन्तासँगै खेती गर्न नपाउँदा भोकमरीको संकट आउने चिन्ताले पनि किसानलाई सताएको छ । धानको ब्याड राख्ने समय बितिसकेकाले अहिलेसम्म किसानले खेत जोत्न पाएका छैनन् । लकडाउनले किसानलाई खेतमा जाने सहज वातावरण नहुँदा खेत जोत्न नपाइएको भन्दै दुइ चार दिनमा बीउ राखिएन भने यसपाली धानको रोपाइ गर्न नपाएर खेत बाँझै रहने हो कि भन्ने चिन्ताले सताइरहेको किसानले बताएका छन् ।
धान बालीका लागि ब्याडमा बीउ राख्नु भन्दा पहिले खेत जोत्नु पर्ने भएकाले ट्याक्टर लिएर खेतमा जाँदा सुरक्षाकर्मीले दुव्र्यवहार गरेर फिर्ता पठाइ दिने गरेको गुनासो किसानको छ । लकडाउन र निषेधाज्ञामा पसल र बजार बन्द रहेकाले धानको बीउ पनि सहज रुपमा नपाइएको किसानको दुखेसो छ । खेत जोत्न निस्किने टयाक्टरलाई प्रहरीले १५ सय जरीवाना लिने गरेको भन्दै प्रहरीको डरले किसानहरु खेत जानै छाडेको एक किसानले बताए ।
बीउ राख्ने ब्याड जोत्न टयाक्टर र पानी पटाउन पम्पसेटमा चाहिने डिजल लिन पेट्रोल पम्पमा जाँदा पनि प्रहरीको कुटाइ खानु परेको उनीहरुको गुनासो छ । यदि अहिले समयमै ब्याडमा बीउ राखिएन भने पछि किसानले चाहेर पनि ब्याडमा बीउ उमार्न नसक्ने भन्दै कृषि वैज्ञानिक विश्वेश्वरप्रसाद यादवले किसानले धान खेती गर्न नपाए कोरोनाको अन्त्य हुनुभन्दा पहिले नै भोकमरी आउने निश्चित रहेको दावी गरे । कृषि ज्ञान केन्द्र पर्साका अनुसार पर्सा जिल्लामा ४६ हजार ५ सय हेक्टर जग्गामा धानको खेती हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्