‘सन् २०२० सम्ममा वार्षिक १५ लाख पर्यटक भित्राउनुपर्छ’

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०२० भित्रमा वार्षिक १५ लाख पर्यटक भित्राउने घोषणा गरेका छन् ।
सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन ‘नेपाल भ्रमण वर्ष’ एक महिनाभित्र सचिवालय गठन गरी आवश्यक कार्यक्रम तय गरिसक्ने र चीन र भारत केन्द्रीय पर्यटन प्रवद्र्धनलाई तीव्रता दिने मन्त्री अधिकारीको पहिलो निर्णयमा परेका छन् । सन् २०२० मा १५ लाख पर्यटक पुराउने गरी भ्रमण वर्ष मनाउन लागेको हो । सन् २०१७ मा ९ लाख ५३ हजार लाख पर्यटक नेपाल आएका थिए । पदभार ग्रहणपछि मन्त्रालय मातहतका निकायलाई निर्देशन दिँदै मन्त्री अधिकारीले उच्च मनोवल र उच्च स्वाभिमानका साथ परिणाम आउने गरी काम गर्न निर्देशनसमेत दिएका छन् ।
उनले राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा तीव्रता दिने घोषणसमेत दिएका छन् ।प्राथमिकता निजगढ विमानस्थल भएको र यसको निर्माण कार्य तीव्र रूपमा अघि बढाइने बताए ।
मन्त्री अधिकारीको पदभारको पहिलो नीतिगत निर्णयमा परेको निजगढ विमानस्थललाई चाँडो प्रक्रिया अघि बढाउन निर्देशन पनि दिएका छन् ।