आइसर गाडीको १६ शाखा चरिकोटमा

आइसर कमर्सियल भेइकल कम्पनीले दोलखा आफ्नो शाखा विस्तार गरेको छ । कम्पनीले दोलखाको चरिकोटमा सन्तोष ट्रेड प्रालिको नामबाट आफ्नो १६ औं शाखा स्थापना गरेको हो ।
सदरमुकाम चरिकोटमा बतास अर्गनाइजेसनका प्रबन्ध निर्देशक शान्तराज बतास, अंकुर अरोरा र निलान्जन मित्राले संयुक्त रूपमा वर्कसपको उद्घाटन गरेका हुन् । भोल्भो र आइसरको ५०-५० प्रतिशत लगानी रहेको भोल्भो आइसर कमर्सियल कम्पनीको नेपालका लागि आधिकारिक डिलर बतास अर्गनाइजेसन हो ।
बतास अर्गनाइजेसनका प्रबन्ध निर्देशक शान्तराज बतासले ‘टु वे’ क्षमताको वर्कसपले दैनिक ४ वटा गाडीहरूका लागि सेवा दिन सक्ने र बाहिरबाट आउने गाडीहरूका लागि पनि पायक पर्ने भएकाले ग्राहक सेवा सहयोग पुग्ने विचार व्यक्त गरे ।
सन्तोष ट्रेड प्रालिका प्रबन्ध निर्देशक पृथ्वीबहादुर श्रेष्ठले वर्कसपले आइसर कम्पनीका ट्रक र टिपरको बिक्री, स्पेयर पार्ट्स तथा वर्कसपको सेवासमेत प्रदान गर्ने बताए । बतास अर्गनाइजेसन अन्तर्गतको इस्टर्न एजेन्सिज प्रालिले देशभरि १६ वटा वर्कसप तथा १ सयभन्दा बढी स्पेयर पार्ट्स रेटेलर रहेको बताइएको छ ।