झापामा बढ्दै जोखिम, थप ९मा कोरोना पुष्ठि «

झापामा बढ्दै जोखिम, थप ९मा कोरोना पुष्ठि

झापाको कचनकवल गाउँपालिका ५ र ६ नम्बर वडामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतबाट आएका उनीहरूलाई कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।
मंगलबार बिहान परीक्षण गर्दा उनीहरू सबैमा कोरोना पुष्टि भएको कोशी अञ्चल अस्पताल विराटनगरकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट संगीता मिश्राले जानकारी दिइन् । यही समूहमा रहेका एक जनामा सोमबार संक्रमण पुष्टि भएको थियो । योसँगै झापामा संक्रमितको संख्या १२ पुगेको छ ।
भारतको मुम्बईबाट दिल्ली हुँदै पाँच दिनअघि उनीहरू केचनापारि सीमामा आइपुगेका थिए । मंगलबार कोरोना पुष्टि भएका सबै ३० वर्ष मुनिका पुरुष रहेको प्रदेश सांसद वसन्त बाँनियाले बताए । भारतको मुम्बई र दिल्लीमा रोजगारीका लागि पुगेका उनीहरु सीमा क्षेत्रमा अलपत्र परेपछि भारतीय सीमा प्रहरी एसएसबी र नेपाली सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिको सहयोगमा उद्धार गरिएको थियो । उनीहरु भारतको मुम्बई र दिल्ली लगायतका शहरबाट पैदल हिँडेर झापा आएको बताइएको छ । सीमा नाका ठप्प भएको समयमा गते उनीहरुको उद्धार गरिएको थियो । उनीहरुलाई जेठ २ गते शुक्रबार कचनकवल ल्याइएको गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशीले बताइन् ।
कचनकवल गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष लक्ष्मीनारायण यादवका अनुसार उनीहरू रोजगारीका लागि मुम्बई गएका थिए । फर्किनेक्रममा केचना सीमामा अलपत्र परेपछि ३३ जनालाई उद्धार गरेर नेपाल ल्याइएको थियो । ३३ जनालाई नै वडा नम्बर ३ को पथरीया माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो । तीमध्ये मंगलबार ९ र सोमबार १ जनामा कोरोना देखिएको यादवले बताए । नेपाल छिरेका सबै ३३ जनाको स्वाब संकलन गरी विराटनगर पठाइएको थियो । १० जनाको परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । बाँकी रहेकाको स्वाब परीक्षण भइरहेको बताइएको छ ।
१० जनाको पिसिआर परीक्षण हुँदा १० जनामा नै कोरोना संक्रमण देखिएको यादवले बताए । कचनकवल गाउँपालिका—२ सुकुनाडिघीको लक्ष्मीनारायण माध्यमिक विद्यालयको क्वारेन्टाइनमा अन्य ३८ जना व्यक्तिहरूलाई राखिएको छ । भारतबाट ल्याइएकामा कोरोना देखिएपछि अहिले त्यस ठाउँमा सावधानी र सतर्कता बढाउनु पर्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण कोइरालाले बताए । कचनकवल गाउँपालिकाको १ देखि ५ नम्बर वडासम्म सिल गर्ने विषयमा सहमति भएको कोइराला बताउँछन् । उक्त क्षेत्र सिल गरी उच्च सर्तकता अपनाइने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्