तयार भयो फुटबल प्रशिक्षण मैदान «

तयार भयो फुटबल प्रशिक्षण मैदान

पोखरा- कोरोना भाइरसका कारण देश बन्दाबन्दी (लकडाउन) भएकै अवस्थामा पोखरामा फुटबल प्रशिक्षण मैदान तयार भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङको सक्रियतामा लकडाउनको समयमै पोखरा रंगशालामा फुटबल प्रशिक्षण मैदान तयार भएको हो ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) को समयमा करिब ३० लाखको लागतमा केही काम भई अलपत्र अवस्थामा रहेको उक्त फुटबल प्रशिक्षण मैदान हाल करिब ३५ लाखको लागतमा लकडाउनको समयमै तयार पारिएको राखेप सदस्य गुरुङले बताए । उनका अनुसार उक्त मैदानमा भारत कोलकोताको बर्मुडा जातको दुबोसमेत रोपिको छ । उक्त दुवो रोपेसँगै दुबो माथि बालुवा राखिएको छ । केही दुबोको भाग हरियो भएसँगै मल राखिने उनले जनाए । फुटबल प्रशिक्षण मैदानको नालासमेत निर्माण गरिएको छ ।
पोखरा फुटबल स्टेडिएमको मैदानका निम्ति ल्याएको केही दुबो रंगशालाको बाहिरी भागमा रोपिएकोले उक्त दुवो हाल फुटवल प्रशिक्षण मैदानमा प्रयोग गरिएको राखेप सदस्य गुरुङले बताए । विभिन्न जिल्लाका मजदुलाई उक्त काममा प्रयोग गरी लकडाउनको समयमा नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर गरी पूर्वाधार निर्माण गरिएको उनको भनाइ छ ।
पहिलो चरणमा करिब ३० लाखको काममा पर्खालसहितको केही भागमा माटो राख्ने काम भएको थियो । करिब ९० लाखको लागतमा फुटवल मैदानसहितको खेलाडी चेन्जिङरुम, करिब ५० जना दर्शक क्षमताको प्यारापिटसमेत निर्माण गर्ने आफूहरूको योजना रहेको गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्