Logo

कर्णाली प्रदेशमा आन्तरिक उडान नहुँदा सास्ती

यसै त कर्णाली क्षेत्रमा रोग, भोक, अशिक्षा, अज्ञानताको गरिबीको चपेटामा छ । त्यसमा पनि कर्णाली प्रदेशको आन्तरिक उडान नहुँदा कर्णालीवासीले निकै सास्ती पाएको अवस्था छ । कर्णालीका जुम्ला, मुगु, हुम्ला, डोल्पा र कालिकोटका स्थानीयको घरघडेरी प्रायः सुर्खेतमा नै छ ।
पहिलेदेखि अहिलेसम्म काम पर्दा हवाई यात्राबाट सहजै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा झर्न पाएको अवस्था छैन । सिंजाका मोती दमाईको सुर्खेतमा घर छ । उनी प्रायः आउँदा जाँदा हवाई यात्रा गर्छन् । सुर्खेत जानका लागि ५ नम्बर प्रदेशको नेपालगन्ज हुँदै आउनुपर्ने समस्या रहेको बताए । गाडीबाट जाऊ काम भेटाउन पर्ने, हवाई यात्राबाट जाऊ पूरै नेपालगन्ज घुमेर उल्टो आउने पर्ने भएकाले खर्च व्यवस्थापनमा पनि गाह्रो हुने गरेको मोती दमाई बताउँछन् ।
पहिले सुर्खेतबाट जुम्ला हवाई यात्राका लागि झन्डै ५ हजारमाथि आउँदा र ३ हजार २ सय जाँदाको भाडा थियो । तर, बीचमा सुर्खेत जिल्लामा हवाई यात्रा बन्द भएपछि अहिले सुर्खेत आउन नेपागन्जको टिकट काट्नुको विकल्प नरहेको स्थानीय हर्ष नेपालीले बताए ।
जनप्रतिनिधि मारमा
कर्णाली प्रदेशभित्र आन्तरिक उडान नहुदा यहाँका नागरिक त पीडित छन् । त्योभन्दा बढी कर्णाली क्षेत्रका जनप्रतिनिधिहरू मारमा परेका छन् । प्रदेश स्तरमा भइरहने विभिन्न बैठकमा उपस्थिति हुन आउँदा गाडीको भर नहुने हवाई यात्रा गरेपछि सीधै समयमै नपुगिने तिला गाउँपालिका उपप्रमुख विष्णु बूढाले बताइन् ।
उनले भनिन्, आन्तरिक उडान नहुँदा अधिंकाश बैठकहरूमा कर्णालीका जनप्रतिनिधि उपस्थिति पनि हुन सकेन । प्रदेशस्तरका बैठकमा अनिवार्य आउन पत्रचार गरे पनि गाडीको यात्रा भरपर्दो नहुने तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भने ।
केही स्थानीय तथा जनप्रतिनिधिहरू आन्तरिक उडान नहुँदा समस्या परेका प्रतिनिधि पात्रहरू हुन् । कर्णाली प्रदेशको राजधानी सुर्खेत जान प्रदेश ५ को नेपालगन्ज हुँदै जानुपर्ने बाध्यता यहाँ सबैलाई छ । त्यो बाहेक अरू विकल्प पनि छैन ।
आन्तरिक उडानको माग
कर्णाली क्षेत्रका नागरिकले सबै जिल्लाबाट प्रदेश राजधानी सुर्खेतसम्म सीधा उडान हुनुपर्ने माग गरेका छन् । करिब एक वर्षदेखि जुम्ला–सुर्खेत हवाई सेवा बन्द हुँदा केन्द्र सरकारको यस विषयमा ध्यान केन्न्द्रित हुन सकेन ।
तर, प्रदेश सरकार बनेको एक महिना बढी पुग्न लागि सक्दा पनि यसबारे ध्यान नदिएको भन्दै स्थानीय महेन्द्र कार्कीले गुनासो गरे । मन्त्रीहरू आफू आउँदा सरकारी हेलिकप्टेर चेडर आउने तर सामान्य नागरिक आफ्नो गतव्य जाँदा घुमेर जानुपर्ने समस्यालाई मध्यनजर नगर्नु दुखद् पक्ष भएको उनको ठम्याइ छ ।
एक साताअघि गरिबी निवारण कोषले सुर्खेतमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन गएका जनप्रतिनिधिहरू नेपालगन्ज हुँदै पुगेका थिए । यसबारे कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशभित्र आन्तरिक उडानका बारेमा चासो दिएका छन् ।
कर्णालीका सबै जिल्लाबाट सुर्खेत सीधा आउने जाने व्यवस्थापनका लागि चाँडै छलफल थालिने टेलिफोनमार्फत मुख्यमन्त्रीको भनाइलाई उद्रित गर्दै उनका प्रमुख स्वकीय सचिव सुरेश कुँवरले बताए । उनले भने, “पहिले सुर्खेतबाट कर्णालीका सबै जिल्लामा भर्दै आएको उडान के कति कारण रोकिएको हो यस विषयमा बुझी निष्कर्ष निकालिने बताए ।”
प्रदेश सरकारले यस समस्यालाई गम्भीर रूपमा लिएको छ, गृहमन्त्री नरेश भण्डारीले टेलिफोनमा भने, “अब कर्णाली क्षेत्रका नागरिक सुर्खेत आउन नेपालगन्ज जानुपर्ने बाध्यात्मक समस्याबाट अहिलेको प्रदेश सरकारले छिट्टै उन्मुक्ति दिने पनि प्रतिबद्धता गरे ।
-सागर परियार

प्रतिक्रिया दिनुहोस्