म्याद थपेर निर्माण गरिँदै बागलुङ बसपार्क «

म्याद थपेर निर्माण गरिँदै बागलुङ बसपार्क

बागलुङ-निर्माणमा भएको पटक पटकको ढिलाइ र लकडाउनका कारण रोकिएको बागलुङ बसपार्कको काम पुनः सुरु भएको छ । ठेक्का सम्झौताको समयअवधि सकिए पनि लकडाउनका कारण नगरपालिकाले अवसर दिएपछि बागलुङ बसपार्क निर्माणको काम पुनः सुरु भएको हो ।
जग्गा खरिद गरेको १६ वर्षसम्म अलपत्र बागलुङ बसपार्क निर्माणको काम दुई वर्ष अगाडि मात्रै सुरु भएको थियो । बागलुङ नगरपालिकाको वडा नं. ४ उपल्लाचौरमा निर्माणाधीन बसपार्कको लकडाउन सुरु भएसँगै सम्झौता अवधि सकिएको थियो । तोकिएको समयमा नबनेपछि गत भदौमा बागलुङ नगरपालिकाले रकम र म्याद थपेर बसपार्क निर्माण थालेको थियो । बसपार्क बनाउन ठेक्का दिएको नगर विकास कोषले ६ महिना म्याद थपेर बसपार्क बनाउने बाटो खोलिदिएपछि नगरपालिकले ठेकेदार कम्पनीलाई काम गर्न लगाएको हो । थपिएको म्यादमा ठेकेदार कंपनीले काम सक्ने प्रतिबद्धता काम सुरु भएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दण्डपाणी शर्माले बताए ।
ठेक्का सम्झौतामा एक वर्षभित्र काम सक्ने भनिए पनि गत वर्षको काम पूरा भएको थिएन । विस्तृत परियोजना प्रस्तावमा समेत त्रुटि फेला परेको थियो । नगर विकास कोषले समेत डीपीआरको त्रुटि सच्याएर पुनः काम गर्न अनुमति दिएको छ । “विश्वव्यापी रूपमा फौलिएको कोरोना भाइरस महामारिका कारण जारी लकडाउनका कारण काम गर्न नपाए पछाडि बसपार्क पुनः अलपत्र अवस्थामा थियो,” अधिकृत शर्माले भने, “लकडाउनका कारण लथालिंग बसपार्क फेरि अलपत्र पर्न नदिन नगरपालिकाले काम गर्ने बाटो खोलिदिएको हो ।” नगरपालिकाले कामका लागि बाटो खोलिदियपछि ठेकेदार कम्पनीले सदरमुकाममै बन्दाबन्दीमा परेका मजदुर लगाएर काम थालेको छ ।
बसपार्क निर्माणका लागि कुल १० करोड ४६ लाख ८७ हजार ५ सय रुपैयाँको लागत लाग्ने बताइएको छ । बसपार्क निर्माणका लागि आशिष फेवा संयुक्त निर्माण कम्पनीलाई जिम्मा दिइएको छ । बसपार्कका लागि नगर विकास कोषले ९ करोड ४ लाख ३९ हजार दुई सय ९० रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने र नेपाल सरकारको तर्फबाट ७५ लाख ३६ हजार छ सय सात रुपैयाँ ऋण तथा नगरपालिकाको समपूरक कोषवापतको रकम २५ लाख १२ हजार २ सय २ रुपैयाँ हुने गरी सम्झौता पत्रमा उल्लेख गरिएको छ । बसपार्क निर्माणका लागि केएफडब्लुले १० लाख, नेपाल सरकारले १८ लाख ८९ हजार ७ सय ३० रुपैयाँ उपलव्ध गराउनेछ । नगरपालिकाको समपूरक कोषवापतको रकम १३ लाख ९ हजार ६ सय ७० रुपैयाँ हुनेछ । नगरपालिकाले ऋण रकम १० करोड ४ लाख ८८ हजार १ सय रुपैयाँ लिनेछ । अनुदानवापत ४१ लाख ९९ हजार ४ सय रुपैयाँ प्राप्त गर्ने बताइएको छ ।
निर्माणाधीन बसपार्क धौलागिरिकै आधुनिक र सुविधा सम्पन्न हुनेछ । बसपार्कसँगै टर्मिनल भवन, व्यापारिक भवन, भूमिगत ट्याक्सी पार्कलगायतको संरचना निर्माणको चरणमा छन् । आधुनिक बसपार्क निर्माण भएपछि कम्तीमा ६० वटा बस पार्किङ गर्न सकिने र साना सवारी साधनका लागि समेत सहज पार्किङको व्यवस्था हुनेछ । पछिल्लो समय सवारी साधनको संख्या बढ्दै गएपछि पार्किङ साँघुरो भएको छ । जीप व्यवसायीले भने बानपा—२ मा भाडामा जग्गा लिएर सवारी पार्क गर्दै आएका छन् । मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोरको समेत केन्द्र रहेको बागलुङमा व्यवस्थित बसपार्कको आवश्यकता खड्किँदैं आएको थियो ।
बसपार्क निर्माणका लागि २९ जना जग्गाधनीहरूले आफ्नो जग्गा उपलब्ध गराएका छन् । बसपार्कका लागि साढे १७ रोपनी जग्गा पर्याप्त भए पनि ५९ रोपनी जग्गा समिति मातहतमा ल्याइएका व्यवस्थापन तथा विकास समितिका अध्यक्ष सुवाषचन्द्र राजभण्डारीले बताए । १० रोपनी सडक र अन्य पूर्वाधार निर्माणमा खचिर्ने समितिले जनाएको छ । ५९ रोपनीमध्ये बाँकी रहेको साढे ४२ रोपनी जग्गा विकसित घडेरीको रूपमा स्थानीयलाई फिर्ता गर्ने गरी नगरपालिकासँग सम्झौता गरेको छ । आफूहरूले निःशुल्क जग्गा दिएवापत नगरपालिको सडक, खानेपानी, बिजुली ढल निकासलगायतको व्यवस्था गरेर आधार जग्गा फिर्ता गर्ने सम्झौता गरेकाले त्यहीअनुसार काम भइरहेको राजभण्डारीले बताए ।
चालू आवमा सम्झौता गर्नुपर्ने काम भने अहिले रोकिएका बागलुङ नगरपालिकाको कार्यालयले जनाएको छ । यसअघि सम्झौता भएका, ठेक्कामा लागिसकेका योजना पूरा गर्न भने बाटो खोलेको अधिकृत शर्माले बताए । “सामाजिक दूरी पनि कायम गर्ने, अलपत्र मजदुर पनि परिचालन गर्ने योजनाका साथ काम भएको छ,” शर्माले भने, “गौरवका आयोजना, नगर विकास कोषको अनुदानजस्ता बजेटमा भइरहेका काम सक्न लगाएका हौं ।” चालू वर्षभित्रै मालढुंगादेखि बलेवा हुँदै कुस्मीसेरा जाने सडकसहित प्रदेश सरकारको बजेटमा काम भइरहेका योजना पूरा गर्न कार्यपालिकाले बाटो खोलिदिएको नगरप्रमुख जनकराज पौडेलले बताए । चालू वर्षभित्रै सक्ने भनिएको भीरलाखुरी खानेपानी आयोजनाको काम पनि थालिएको छ । यो आयोजनाबाट बागलुङ नगरपालिकाभित्रका ३ सय घरधुरीमा खानेपानी आपूर्ति हुनेछ ।

त्रिलोचन रिजाल

 

प्रतिक्रिया दिनुहोस्