घर–घरमै पुगेर भत्ता वितरण

पर्वत- बैंकिङ पहुँचभन्दा टाढा रहेको पर्वतको महाशिला गाउँपालिकाले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । महाशिला गाउँपालिकाले ६ वटै वडाका ज्येष्ठ नागरिक, एकल महिला, दलित तथा अपांगता भएकाहरूलाई घर–घरमै पुगेर भत्ता वितरण गर्न लागेको हो । स्थानीय तहमा जनप्रतिनिधि चुनिइसकेपछि नागरिकलाई सहज होस् भनेर घरघरमै लगेर भत्ता वितरण गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए ।
यसअघि गत असोजमा पनि यहाँका जनप्रतिनिधिले घर–घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि बृद्धबृद्धा हर्षित बनेका थिए । विगतका वर्षहरूमा दिनभरीको यात्रा गरेर सदरमुकाम पुग्न बाध्य बृद्धबृद्धालाई यसपटक भने जनप्रतिनिधिले घरमै लगेर भत्ता दिएका हुन् ।
वृद्धवृद्धा, एकल महिला, अपांग, दलित बालबालिकालगायतलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै आएको छ । तीन किस्तामा दिईने भत्ता अनुरुप अहिले दोस्रो चौमासिकको वितरण गरिएको प्रवक्ता उच्चैले जानकारी दिए । उनका अनुसार बैंकसम्म वृद्धवृद्धा पुग्न नसक्ने र पुगिहाले पनि दिनभर लाइनमा बस्नुपर्ने भएकाले घर–घरमै पुगेर भत्ता वितरण गरिएको हो । उनले निर्वाचनकै बेला आफूले घर–घरमै लगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बाचा गरेको र सोही अनुरुप पहिलोपटक चौमासिक बराबरको रकम घरमै लगेर भुक्तानी गरिएको उनले जानकारी दिए ।
पर्वतमा विगत ६ वर्षदेखि बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको थियो । अधिकांश ठाउँमा बैंकबाटै वितरण हुने गरे पनि महाशिला गाउँपालिकाअन्तर्गतका ६ वटा वडामा भने बैंकको पहुँच नहुँदा वडा कार्यालयबाटै वितरण हुने गरेको थियो । तर यसपटक भने वडा कार्यालयसम्म पनि पुग्न नपर्ने गरी घरमै पुगेर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राजु पौडेलले जानकारी दिए ।
महाशिलामा मात्रै झन्डै २ हजार जना सामाजिक सुरक्षा भत्ता बुझ्ने लाभग्राही रहेको पौडेलले जानकारी दिए । “गाउँपालिकाका ६ वटा वडामा झन्डै २ हजार लाभग्राही छन् सवैको घरमै पुगेका भत्ता दिने तयारी गरेका छौं,” उनले भने ।
घरमै पुगेर भत्ता दिन थालेपछि स्थानीयवासीहरू लाभान्वित बनेका छन् । उनीहरूले साच्चिकै गाउँमा सिंहदरवार आएको अनुभूति गरेका छन् । जिल्लाका ७ स्थानीय तहमध्ये कामको प्रगतिको हिसावले महाशिला नै अघि रहेको छ ।
यता जलजला गाउँपालिकाका बासिन्दालाई म्याग्दीको बेनीमा रहेका बैंकहरूमा, कुश्मा नगरपालिकाकमा लाभग्राहीलाई कुश्मामा, फलेवासमा रहेकालाई सोही ठाउँमा र बिहादी तथा पैंयुँ गाउँपालिकाका लाभग्राहीलाई हुवासमा तथा मोदी गाउँपालिकाका लाभग्राहीलाई पातीचौरमा रहेका बैंकबाट सामाजिक सुरक्षा वितरण हुँदै आएको थियो ।