चीनबाट विगू आयो खाद्यान्न र स्वास्थ्य सामग्री «

चीनबाट विगू आयो खाद्यान्न र स्वास्थ्य सामग्री

दोलखा-विगू गाउँपालिकाले मित्र राष्ट्र चीनबाट ठूलो परिमाणमा स्वास्थ्य सामग्री र खाद्यान्न प्राप्त गरेको छ । महामारीको रुपमा फैलिको कोभिड–१० को परीक्षण र त्यसबाट सुरक्षित हुनका लागि चीनले दिएको स्वास्थ्य सामग्री गाउँपालिकाले तातोपानी भन्सारबाट बुझेर सिंगटी ल्याइपु-याएको छ ।
चीनको तिब्बत प्रान्तको सिगात्से सहरको डिंग्रीबाट दोलखाको सीमावर्ती विगू गाउँपालिकालाई स्वास्थ्य सामग्री र खाद्यान्न उपलब्ध गराएको हो । चीनले उपलब्ध गराएको सहयोग सामग्री तातोपानी नाकाको मितेरी पुलसम्म ल्याइदिएको थियो । सहयोग सामग्री बुझ्न बागमति प्रदेशका सांसद विशाल खड्का, गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्का, उपाध्यक्ष सञ्जिव ओली र वडा नं. १ लामाबगरका वडा अध्यक्ष हिरण्डे गुरुङ मितेरीपुलसम्म पुगे ।
चिनियाँ टोलीले सीमामै आएर चामल, मैदा, तेल, चिनी, पाउडर दूध, चियापती र नुन उपलब्ध गराएको बिगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले जानकारी दिए । दोलखासँग सीमा जोडिएकोे सिगात्सेको डिंग्री काउन्टीले उपलब्ध गराएको खाद्य चिनियाँ टोलीले तातोपानी भन्सारसम्म ल्याइदिएको बताए ।
भन्सारसम्म आएको सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा भन्सार विभागले तातोपानी भन्सार कार्यालयलाई भन्सार छुटको पत्र पठाएपछि प्रक्रिया पु-याएर सामान ल्याएको अध्यक्ष खड्काले बताए ।
गाउँपालिका उपाध्यक्ष सञ्जिव ओलीका अनुसार ४ लाख ७४ हजार नौ सय चिनियाँ युआन बराबरको खाद्य सामग्री गाउँपालिकाले पाएको छ । त्यसमा एक हजार बोरामा साढे २२ टन चामल, पाँच सय प्याकेटमा साढे १२ टन मैदा, साढे ४ टन खानेतेल, ४ दशमलव ८ टन चिनी, २ दशमलव १६ टन पाउडर दूध, ४ टन चियापती र साढे १२ टन नुन छ । चिनियाँ युआनको सटही दरअनुसार ८१ लाख ४० हजार मूल्य बराबरको ६२ दशमलव ९६ टन खाद्यान्न विगु गाउँपालिकाले प्राप्त गरेको छ ।
चीनले करिब साढे ४ लाख युआन नेपाली करिब ८० लाख बराबरको स्वास्थ्य सामग्रीसमेत पठाएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य सामग्रीअन्तर्गत पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) ११०० थान, एन्फ्रारेड थर्मलगन ११० थान, एन–९५ मास्क १२०० थान, मेडिकल मास्क एकलाख २० हजार थान, आरडीटी किट १२०० थान रहेको छ । तर स्वास्थ्य सामग्री लिनका लागि प्रक्रिया पु-याउन केही दिन लाग्ने उपाध्यक्ष ओलीले बताए ।
त्यस मध्ये विगू गाउँपालिकाको आवश्यकता अनुसारको मास्क, थर्मलगन, आरडीटी किट राखेर अरु चरिकोटस्थित प्रस्तावित चरिकोट अस्पतालमा राखिने बागमति प्रदेशका सांसद विशाल खड्काले बताए । चरिकोटमा जिल्लाभरका विरामी आउने भएकाले ठूलो मात्रामा स्वास्थ्य सामग्री चरिकोट अस्पतालमा राख्नु पर्ने आवश्यकता उनले औल्याए । ति सामग्री आएपछि परीक्षणको दायरा पनि बढाउनु पर्ने उनले बताए ।
गाउँपालिका उपाध्यक्ष ओलीले सहयोग प्राप्त खाद्यान्न सिंगटी शुक्रबार ल्याइसकेकाले आवश्यकताका आधारमा मजदुर, अतिविपन्नलाई वितरण गरिने बताए । विगू गाउँपालिकाका अधिकाँश भूभाग हिमाली क्षेत्र र छरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्