तीन महिनाभित्रै सबै ट्यांकरमा लकिङ

झापा-नेपाल आयल निगमले तीन महिनाभित्रै इन्धन बोक्ने सबै ट्यांकरमा लकिङ प्रणाली (ताल्चा) जडान गर्ने भएको छ । झापाको सिलगुडी नाकाबाट गत बुधबारदेखि लकिङ प्रणाली सुरु गरेको निगमले आगामी तीन महिनाभित्रमा सबै नाकामा गुड्ने ट्यांकरमा सो प्रणाली जडान गर्ने भएको हो ।
दुई वर्षको प्रयासपछि निगम ट्यांकरमा लकिङ प्रणाली लागू गर्न सफल भएको छ । चालकले लकिङ प्रणालीको विरोध गरे पनि निगम र स्थानीय प्रशासनको छलफलपछि इन्धन ल्याउन चालक सहमत भएका छन् । योसँगै इन्धनको आपूर्ति नियमित भइरहेको छ । सिलगुडी नाकाबाट शुक्रबारदेखि ट्यांकरमा लकिङ गरेर तेल आयात भइरहेको निगमले जानकारी दिएको छ ।
निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले सिलगुडी नाकाबाट सुरु गरिएको लकिङ प्रणाली तीन महिनाभित्रमा सबै नाकामा लागू गरिसक्ने बताए । “इन्धन आयात गर्दा असुरक्षित र चालकलाई चार्ज लाग्ने गरेको थियो,” कार्यकारी निर्देशक भट्टराईले भने, “ट्यांकरमा लकिङ प्रणाली जडान गरेपछि तेलको गुणस्तर र परिणाममा आउने समस्या स्वतः अन्त्य हुन्छ ।” निगमको आन्तरिक सुधार गर्ने क्रममा पहिलो चरणमा लकिङ प्रणाली कार्यान्वयनमा ल्याइएको उनको भनाई छ । यसले बोर्डरमा ट्यांकर जाँदा-आउँदा आउने समस्या समाधान हुने निगमको भनाई छ ।
१५ दिनभित्रमा गोन्डा र बेतालपुर नाकामा लकिङ प्रणाली सुरु गरिसक्ने भन्दै कार्यकारी निर्देशक भट्टराईले बरौनी, रक्सोल, बन्थुरा, इलावाद नाकामा जतिसक्दो छिटो लकिङ प्रणाली लागू गरिने बताए । १ हजार ८ सय ट्यांकरले भारतका विभिन्न डिपोबाट इन्धन बोक्दै आएका छन् । अहिलेसम्म सात सय गाडिमा मात्र लकिङ प्रणाली जडान गरेकाले पुराना गाडिमा चाँडोभन्दा चाँडो लकिङ फिटिङ गर्न व्यवसायीलाई निगमले आग्रह गरेको छ ।
पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले धागो र नाइनलको सिल लागेर इन्धन ल्याउने गरेको लकिङ प्रणालीले आमउपभोक्ता र देशलाई नै फाइदा हुने बताए । तौल र गुणस्तरमा स्वच्छता हुँदा इन्धन ढुवानी गर्दा व्यवसायीलाई लाग्ने गरेको चोरीको आरोप अन्त्य हुने उनको भनाई छ ।
निगम प्रवक्ता वीरेन्द्र गोइतले ट्यांकरबाट वार्षिक करोडौं मूल्यबराबरको इन्धन चोरी, चुहावट र गुणस्तरमा आउने कमीलाई नियन्त्रण गर्न सहज हुने बताए । । अघिल्लो वर्षको जेठदेखि यो सुविधा जडान गर्ने कार्यक्रम भए पनि लकिङ (ताल्चा) निर्माणमा समय लागेकाले लागू गर्न ढिलाई भएको थियो । पहिलो चरणमा आईओसीको डिपोदेखि निगमको डिपोसम्म लकिङ प्रणाली जडान गरिने र दोस्रो चरणमा निगमको डिपोदेखि डिलरसम्म जडान गर्न लागिएको गोइतले जानकारी दिए ।
सिलीगुडी जाने ५९ मध्ये ४३ वटा ट्यांकरमा यो प्रविधि जडान भइसकेको छ । सिलीगुडीपछि रक्सौल, बरौनी, वेतालपुर, बन्थरा र गोण्डास्थित इन्डियन आयल कर्पाेरेशन (आईओसीको) डिपोबाट इन्धन ओसार्ने ट्यांकरमा यस्तो प्रविधि जडान गरिने छ । सो नाकाबाट दैनिक डिजेल २ सयदेखि ३ सय किलोलिटर, पेट्रोल ५० देखि ८० किलोलिटर आपूर्ति हुने गर्छ । निगमका अनुसार भारतीय डिपोमा जाने ट्यांकरमा इन्धन लोड गरेपछि त्यही ताल्चा मार्ने काम हुन्छ । त्यो ताल्चाको एउटा साँचो इन्धन लोड लिने भारतीय डिपोसँग हुन्छ । अर्को साँचो नेपालीको जुन डिपोमा इन्धन खन्याउने हो, त्यो डिपोसँग हुन्छ । यसरी गन्तव्यमा पुगेका ट्यांकरको ताल्चा डिपोका कर्मचारीले मात्रै खोल्न पाउनेछ ।
आईओसीले निगमलाई लकिङ प्रविधि सुविधा निःशुल्क उपलब्ध गराएको हो । एउटा ताल्चाको लागत खर्च २५ हजार रुपैयाँ पर्छ । निगमकै मिलोमतोमा पनि पेट्रोलपम्पले कम परिमाणमा इन्धन पाए भन्ने गुनासो सबैतिरबाट आएकाले प्राविधिक रुपमा यो समस्यालाई समाधान गर्न यो प्रविधि वैज्ञानिक रूपमा निकै उपयोगी हुने निगमको भनाइ छ ।