कांग्रेस ‘साख’ जोगाउने कसरतमा, एमाले ‘पुनरागमन’को गृहकार्यमा

मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निवाचनको पारो काठमाडौंमा बढेको छ । उम्मेदवारहरू विहानैदेखि बेलुकीसम्म मत माग्न व्यस्त छन् । घरदैलोदेखि जनता भेटघाटमा नै उनीहरू अधिकांश समय खर्चिरहेका छन् । पुराना भनिएकादेखि नयाँ भन्ने दलका समेत उमेदवार रहेको काठमाडौंमा मत माग्ने शैली भने सबैको उस्तै छ ।
०६४ सालभन्दा अघि कम्युनिष्टको उर्बरभूमि मानिने काठमाडौंमा दुईपटक ०६४ र ०७० मा भएको संविधानसभाको निर्वाचनमा भने कांगेसले बाजी मा¥यो । ‘हेभिवेट’ कम्युनिष्ट नेताहरूले नै पछिल्ला निर्वाचनमा पराजय बेहोरे । पहिलो संविधानसभामा एमालेका तत्कालिन महासचिव माधव नेपाल पराजित भए भने दोस्रो संविधानसभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नै पराजित भए । ०६४ र ०७० को दुवै निर्वाचनमा एमालेका प्रभावशाली नेता ईश्वर पोख्रेल र योगेश भट्टराई पराजित भए । यसपटक नेकपा एमाले ०५६ को आफ्नो साख फर्काउँदै पुनरागमनको गृहकार्यमा छ भने कांग्रेस साख जोगाउने चुनौतीमा छ । यसपटक दाहाल र भट्टराई दुवै आफ्नो गृह जिल्ला चितवन र ताप्लेजुङ पुगेका छन् । एमालेका नेपाल र पोख्रेल आफ्नो पुरानै निर्वाचन क्षेत्र काठमाडौं २ र ५ मा प्रतिनिधिसभातर्फ उम्मेदवार छन् । कांग्रेसले यसपटक कम्युनिष्ट अधिनायकवाद रोक्नका लागि आफूलाई मत मागिरहेको छ । काठमाडौंमा यसपटक पनि आफ्नो साख जोगिने उसको दाबी छ । “काठमाडौंका जनता कम्युनिष्टको भ्रमका पक्षमा पर्ने छैनन् । लोकतन्त्रका पक्षमा छन्,” काठमाडौं क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले भने, “काठमाडौंमा कांग्रेसले जित्नेछ । देशैभर कांग्रेसको पक्षमा जनलहर छ ।” सिंहले यसपटक पनि आफ्नो जीत निश्चित भएको बताए ।
तर, एमाले र माओवादीको गठबन्धनले भने काठमाडौंमा यसपटक कांग्रेस वर्चश्व तोडिने दाबी गरेको छ । बाम गठबन्धनका कारण आफ्नो पक्षमा परिणाम आउने उसको विश्लेषण छ । काठमाडौं १ मा बाम गठबन्धनका उम्मेदवार माओवादीका अनिल शर्माले यसपटक काठमाडौंमा बाम गठबन्धनले जित्ने दाबी गरे । उनले काठमाडौं १ मा एमाले र माओवादीको गठबन्धनको मत पाउने र त्यसमा कांग्रेसको मत नेपाली कांग्रेस बीपीले काट्दा आफूले जित्ने विश्लेषण सुनाए । “फलामको वेट हेभी हुन्छ, तर धारिलो स्पातले त्यसलाई काट्न सक्छ,” उनले भने, “सिंह र रविन्द्र मिश्र फलाम हुन्, म स्पात हुँ । चुनाव जित्नेछु ।”
काठमाडौंका १० मध्ये प्रतिनिधिसभातर्फ एमालेले ६ र माओवादीले ४ क्षेत्र लिएका छन् । कांग्रेसले काठमाडौं ७ मा राप्रपाका विक्रम थापालाई छोड्दै ९ वटा क्षेत्रमा उम्मेदवार बनाएको छ । एमालेका नेता माधवकुमार नेपाल काठमाडौं २, ईश्वर पोख्रेल काठमाडौं ५, राजन भट्टराई काठमाडौं ४ एमालेले जित्ने दाबी गरिरहेको छ । ती क्षेत्रमा एमालेले आफ्नो ध्यान केन्द्रित गरेको छ । एमाले अध्यक्ष केपी ओलीको सक्रियताले पनि काठमाडौंलाई एमालेले प्रतिष्ठाको विषय बनाएको देखिन्छ । उनले आफ्ना उम्मेदवारको क्षेत्रमा पुगेर मत मागेका छन् । काठमाडौं ५ का उम्मेदवार पोख्रेललाई जिताए प्रधानमन्त्री बनाउने बताएका ओलीले बिहिबार काठमाडौं ४ पुगेर भट्टराई जिताए परराष्ट्रमन्त्री बनाइदिने बताए । बाम गठबन्धनबाट काठमाडौं १० मा माओवादीका हितमान शाक्य, १ मा शर्मा , ६ मा झक्कु सुवेदी उम्मेदवार छन् । उनीहरूलाई भने निर्वाचन जित्नैसक्ने उम्मेदवारका रुपमा हेरिएको छैन । तर, उनीहरूले भने आफूले जित्ने दाबी गरेका छन् ।
५ पक्का, ३ सम्भावित ः कांग्रेस
कांग्रेसले काठमाडौंका १० मध्ये ५ वटा निर्वाचन क्षेत्र पक्का जित्ने विश्लेषण गरेको छ । त्यस्तै ३ वटा क्षेत्रलाई जित्ने सम्भावित क्षेत्रका रुपमा राखेको छ । कांग्रेसको काठमाडौं–१ मा सिंह, काठमाडौं–३ मा अम्बिका बस्नेत, काठमाडौं–४ मा थापा, काठमाडौं–८ मा नविन्द्रराज जोशी र काठमाडौं १० मा राजन केसीले चुनाव जित्ने विश्लेषण गरेको छ । काठमाडौं ७ मा भिमसेनदास प्रधान, ५ मा प्रकाशशरण महत र ९ मा ध्यान गोविन्द रञ्जितलाई भने जित्ने सम्भावितको सूचीमा कांग्रेसले आन्तरिक विश्लेषण गरेको छ ।
३ सिट पक्का, १ सम्भावित ः एमाले
बाम गठबन्धनको भागवण्डामा एमालेको भागमा काठमाडौंमा ७ वटा निर्वाचन क्षेत्र छ । जसमध्ये प्रतिनिधिसभातर्फ काठमाडौंमा २ ,५ र ७ जित्ने एमाले विश्लेषण रहेको स्रोतको दाबी छ । काठमाडौं २ मा माधव नेपाल, ५ मा इश्वर पोख्रेल र ७ मा रामविर मानन्धर जित्ने उम्मेदवार भएको उसको विश्लेषण छ । नेपाल र मानन्धर यसअघि पनि ती क्षेत्रबाट निर्वाचित भएका थिए । त्यस्तै काठमाडौं ३ मा कृष्ण राई उम्मेदवार छन् । यसअघि एमालेकै रामेश्वर फुयाँलले जितेको सो क्षेत्रमा राईलाई पनि जित्ने सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । यसअघि काठमाडौं ५ मा जितेका नरहरी आचार्य यसपटक उम्मेदवार नभएकाले पोख्रेलले जित्ने उसको दाबी छ ।
१ सिटको आश ः माओवादी
संविधानसभाको दोस्रो निर्वाचनमा अध्यक्ष दाहाल नै पराजित भएर शून्य जितको अवस्थामा थियो, माओवादी । स्थानीय तहको निर्वाचनमा पनि माओवादीका लागि काठमाडौंको जनमत निराशाजनक रह्यो । अहिले काठमाडौं ३ वटा क्षेत्र १,६ र १० मा उसका उम्मेदवार छन् । काठमाडौं १० मा शाक्यलाई बलियो उम्मेदवारका रुपमा विश्लेषण गरेको माओवादी अन्यत्र भने सम्मानजनक मतका लागि संघर्ष हुने विश्लेषणमा छ ।