उपराष्ट्रतिमा नन्दबहादुर पुन निर्विरोध

उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकेको थियो । निर्धारित समयमा पुनको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । तर, उनी निर्वाचित भएको औपचारिक घोषणा भने आजमात्रै हुनेछ । निर्वाचन कार्यालयका अनुसार दाबी विरोधलगायतका प्रक्रिया पूरा भएपछि मात्रै पुन निर्विरोध भएको घोषणा गरिनेछ । पुनले दोहोरिने इच्छा देखाएपछि नेकपा माओवादी केन्द्रले उनको नाम सिफारिस गरेको थियो । अघिल्लो कार्यकाल छोटो समयको भएकोले सोही पदमा दोहोर्याउन पुनले शीर्ष नेतृत्वसमक्ष मनसाय व्यक्त गरेका थिए ।पुनको प्रस्तावकमा नेकपा एमालेका नेता सुवास नेम्वाङ, भानुभक्त ढकाल, परशुराम मेघी गुरुङ्ग, माओवादी नेतृ पम्फा भुुसाल र रेखा शर्मा छन् । यस्तै समर्थकमा माओवादी केन्द्रका नेताहरु देव गुरुङ्ग, ओनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्रप्रसाद गौतम छन् ।राष्ट्रपतिमा विद्यादेवी भण्डारी विरूद्ध लक्ष्मी राईलाई उम्मेदवार बनाएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपराष्ट्रपतिमा उम्मेदवारी दिएन । जसका कारण पुन निर्विरोध भएका हुन् ।निर्विरोध भएका पुनले सबै जनता, संघसंस्था र कुटनीतिक नियोकहरुसँग अघिल्लो कार्यकाल सुमधुर सम्बन्ध कायम राख्न सफल भएको भन्दै आगामी कार्यकालमा पनि यस्तै सम्बन्ध राख्ने बताएका छन् । उनले राष्ट्रिय सार्वभौमिकता, अखण्डताका र संविधानको संरक्षण एव पालनामा आफू सधैं कटिबद्ध रहने प्रतिवद्धता व्यक्त गरे । निर्वाचनपश्चात राष्ट्रपति र उपराष्ट्रपति दुवै दोहोरिएका छन् । राष्ट्रपतिमा यसअघि नै विद्यादेवी भण्डारी निर्वाचित भइसकेकी छन् । उनी अघिल्लो कार्यकाल पनि राष्ट्रपति थिइन् । पुन पनि भण्डारी कार्यकालकै उपराष्ट्रपति हुन्, जो फेरी निर्वाचित भएका छन् ।