महामारी नियन्त्रणका विधि र अबको बाटो «

महामारी नियन्त्रणका विधि र अबको बाटो

नेपालको आर्थिक संरचना र भौगोलिक बनोटको आधारमा रोग फैलने र आर्थिक क्षति दुवै कम हुने अवस्था छ ।

कोभिड–१९ विश्व महामारीको रोकथाम र नियन्त्रणका लागि गरिने लकडाउनबाट उत्पन्न हुने क्षति विश्वभर चिन्ताको विषय बनेको छ । तर, यो महामारीले विश्व समुदायलाई पार्ने आर्थिक क्षतिको तुलनामा नेपालजस्ता मुलुकलाई निकै कम क्षति हुन सक्छ । यस लेखमा नेपालमा रहेका लाभका क्षेत्रबारे चर्चा गरिएको छ ।
महामारीको वास्तविकतालाई नबुझी तयार गरिने नीति, रणनीति र योजनाहरू अर्थहीन हुन्छन् । त्यसैले पहिले महामारीलाई बुझ्नुपर्छ । सार्स कोभ टु भाइरसका कारण लाग्ने कोभिड–१९ रोगका बारेमा धेरै कुरा पत्ता लाग्न बाँकी छ । अहिलेसम्म पत्ता लागेका कुराको आधारमा यो रोग केही महिना वा वर्ष दिनमा समाप्त हुने छैन । यसले केही वर्ष विश्वलाई प्रभाव पार्नेछ ।
रोग अन्त्य हुने पाँच विधि छन् । पहिलो, हावापानीका कारण प्राकृतिक रूपले भाइरस सक्रिय हुन नसक्नु । सार्स कोभ टु जाडो र गर्मी दुवै मौसममा तथा पृथ्वीको सबै भूभागमा एकसाथ फैलिएको हुनाले यो विधिबाट अन्त्य हुने भरपर्दो आधार छैन । दोस्रो, औषधिले रोगी निको हुनु । अहिलेसम्म प्रायःजसो हानिकारक भाइरसको पूर्ण प्रभावकारी औषधी बन्न नसकेको हुँदा यसमा पनि बन्ने भरपर्दो आधार छैन । ब्याक्टेरियाको मात्र औषधी बनेको छ । औषधी नै बने पनि सेवन गरेको केही घन्टामा रोग निको हुने होइन । त्यसैले अस्पतालको क्षमतामा पर्ने असरलाई यस विधिले पूर्ण रुपले हटाउन सक्दैन ।
तेस्रो, निरोगीलाई खोप लगाउनु । धेरै भाइरसविरुद्ध यसअघि खोप बनेका हुनाले यो भाइरसविरुद्ध पनि बन्ने सम्भावना छ । तथापि सिद्धान्ततः खोप बन्ने सम्भावना भए पनि व्यवइहारमा भने कठिनाइ देखिन्छ । यसअघि विभिन्न भाइरसविरुद्ध खोप बनाउन धेरै वर्ष लागेका थिए । कोभिड धेरै नै संक्रामक भएको कारण धेरै वर्षपछि बन्ने खोप खास लाभप्रद हुने देखिंदैन । छोटो विधिबाट खोप पत्ता लगाउँदा पनि एक-दुई वर्ष लाग्ने विज्ञहरू बताउँछन् । जनावर हुँदै केही मानिसमा लामो समय परीक्षण गरेर आममानिसमा प्रयोग गरिने खोप जति सुरक्षित र प्रभावकारी हुन्छ, छोटो अवधिमा एकैपटक आममानिसमा प्रयोगमा ल्याइने खोपमा त्यसको सुनिश्चितता गर्न सकिंदैन ।
चौथो, सम्पूर्ण संक्रमितको पहिचान गरेर उनीहरूलाई निको नहुँदासम्म अलग राख्ने ताकि अरूमा सर्न नपाओस् । यसरी भाइरस संक्रमणको सञ्जाललाई तोड्न सकिन्छ । यो सिद्धान्ततः सम्भव भए पनि व्यवहारमा कठिन छ । छोटो समयमा विश्वका सबै मानिसलाई परीक्षण गरेर मात्र सबै संक्रमितको पहिचान हुन्छ । त्यो पनि परीक्षणको नतिजा शतप्रतिशत सही नहुने हुँदा छुटपुट हुन सक्छ । त्यस्तै, विश्वका सबै मानिस एक महिनासम्म एक्लै बस्ने हो भने रोग फैलिनबाट रोकिन्छ । यो विधिलाई पूर्णतः पालना गर्न सम्भव हुँदैन ।
चौथो विधिको जतिसक्दो बढी प्रयोगबाट संक्रमितको पहिचान गरी रोग सर्नबाट रोक्ने प्रयास विश्वभर भइरहेका छन् । यो भाइरस अत्यधिक संक्रामक रहेको र संक्रमित मानिसमा कुनै लक्षणबिना नै अरू मानिसमा सर्न सक्ने भएको कारण जति नै प्रयास गरे पनि पूर्णतः संक्रमितको पहिचान हुन सक्दैन । फलस्वरूप जति नै नियन्त्रण गरेको भनिए पनि कुनै न कुनै व्यक्तिमा लक्षणबिना रहेको हुँदा रोग पुनः फैलिहाल्छ ।
पाँचौं, सामूहिक रोग प्रतिरोधक क्षमताबाट रोग नष्ट हुनु । यो भाइरस लागेर निको भएका व्यक्तिको शरीरमा भाइरसको एन्टिबडी उत्पादन भई रहिरहन्छ । धेरै मानिसमा भाइरस संक्रमण भएर निको भएपछि रोगको अन्त्य हुन्छ । एन्टिबडी भएको मानिसमा भाइरसले असर गर्न सक्दैन । करिब दुईतिहाइ मानिसमा यो अवस्था आएपछि भाइरसले नयाँ घर पाउन कठिन हुने हुँदा बाँकी मानिस संक्रमित नभई भाइरसको अन्त्य हुन्छ ।
विश्वका धेरै समाज एक-दुई वर्षभित्र प्राप्त हुने सम्भावित खोपप्रति आशावादी छन् । त्यतिखेरसम्म कोभिडको संक्रमणको गतिलाई मत्थर राख्न सकियो भने धेरै मानिसको ज्यान जोगाउन सकिने उनीहरूको आशा छ । यदि विश्वका सबै मानिसलाई भाइरस परीक्षण गर्ने क्षमता अहिले हुन्थ्यो भने खोप आवश्यक नै पर्दैन थियो । संक्रमितको पूर्ण पहिचान गरेर बाँकीमा सर्नबाट रोक्न सकिन्थ्यो । अहिले सबैको परीक्षण गर्न सम्भव छैन भने प्रभावकारी खोप बन्ने र विश्वका सबै मानिसले सेवन गर्ने भन्ने कुरा पनि त्यति सहज हुन्छ भन्न सकिंदैन । कुनै उपाय लागेन भने पाँचौं विधिबाट रोगको अन्त्य हुन सक्ने विकल्प बाँकी रहन्छ ।
अहिले विश्वभर गरिएको अभ्यास लकडाउन, भौतिक दूरी र सरसफाइ हो । यी माध्यमबाट भाइरस फैलने गतिलाई कम गर्ने हो ताकि अस्पतालमा एकैपटक बिरामीको चाप बढेर बेडको अभाव नहोस् । अर्कातिर मानिसहरूको कामकाज र उत्पादनमा धेरै प्रतिबन्ध लागेर बेरोजगारी, गरिबी र भोकमरीबाट हुने क्षति अहिलेको रोगको तुलनामा बढी नहोस् भन्ने चाहना विश्व समुदायको छ ।
नेपालको आर्थिक संरचना र भौगोलिक बनोटको आधारमा रोग फैलने र आर्थिक क्षति दुवै कम हुने अवस्था छ । यहाँ ६६ प्रतिशत मानिस कृषिमा निर्भर छन् । कृषि पनि अधिकांशतः आफ्नो काम आफैं गर्ने प्रकृतिको छ । अहिले धेरै खेत बाँझो छ । मानिसहरू घर छोडेर मजदुरी र रोजगारीका लागि गएका छन् । उनीहरूलाई घर आउन दिएर खेतीपातीमा संलग्न गराउन सक्ने हो, उत्पादकत्व र उत्पादन बढाउन सकिन्छ ।
मानिसहरूले बाहिर मजदुरी र रोजगारी गरेर जति आर्जन गर्थे, त्यति गर्न नसक्लान् तर शून्य आम्दानीको अवस्था त रहँदैन । गाउँमा पातलो बस्ती भएको, मानिसहरू अधिकांशतः आत्मनिर्भर भएको, घरमा पर्याप्त स्थान रहेको कारण कुनै व्यक्ति वा परिवारमा रोग लागे पनि अन्यमा फैलने सम्भावना न्यून हुन्छ । सहरमा जस्तो एकआपसमा जोडिएका घर, एउटै घरमा धेरै व्यक्ति परिवारको बसोबास, वस्तुहरू किन्न पसल बजारमा भीडभाडको अवस्था गाउँमा हुँदैन ।
सरकारले सहरमा आएका मजदुर र विद्यार्थीहरूलाई जहाँको तहीं राखेर राहत बाँड्ने निर्णय ग¥यो । तथापि जेनतेन सयौं किलोमिटर पैदलै हिंडेर भए पनि लाखौं मजदुर र विद्यार्थीहरू घर–घर पुगिसकेका छन् । सरकारले एक्कासि गाडी बन्द गर्नु हुँदैन थियो, गरिहाल्यो । मानिसहरूले धेरै दुःख पाए । नेपालमा अझै पनि रोग समुदायमा फैलिसकेको अवस्था छैन । नफैलिसकेको अवस्था देखेर तथा आफ्ना जिल्लातिर एवं सहरमा कोरोनाका केही संक्रमित देखिएकाले फेरि काठमाडौं फर्कनेले संक्रमण ल्याउन थालेकाले पनि अर्को चिन्ता थपिएको छ ।
सहरमा मानिसलाई अलपत्र पारेर वा अड्काएर राखेर राहत बाँड्ने विधि राम्रो होइन । मानिसहरू स्थायी ठेगानामा पुगे भने राहत बाँड्नुपर्ने आवश्यकता नै कम हुन्छ । साथै आफ्ना स्थायीवासीलाई सम्बन्धित पालिकाबाट राहत बाँड्दा पारदर्शिता र औचित्यता पनि कायम हुन्छ । यातायात खुला गर्नासाथ रोग फैलिहाल्छ भन्ने बुझाइ सही नहुन सक्छ । अनेक प्रकृतिका पास बनाएर हजारौं सवारी साधनबाट यात्री ओसारपसार गर्ने काम त सरकारी प्रतिबन्धका बाबजुद भइरहेकै छन् ।
लकडाउन जति लम्बियो, पैदल वा अन्य विधिबाट यात्रा गर्नेको संख्या उति थपिंदै जान्छ । मनमा जति त्रास र अन्योलता थपिन्छ, मानिस उति नै स्थायी ठेगानामा जान चाहन्छ । सरकारले जे निर्णय ग¥यो, त्यो पूर्णतः पालना गराउन सक्ने क्षमता छैन । हाम्रो जस्तो समाजमा सरकारले सूक्ष्म व्यवस्थापन गर्न खोज्नु भनेको नतिजामा अव्यवस्था बढाउनु मात्र हुन्छ ।
सरकारले केही दिन वा हप्ता लकडाउन गरेपछि रोग निमिट्यान्न हुन्छ र जनजीवन पहिलेजस्तै सहज बनाउन सकिन्छ भन्ने भ्रमपूर्ण सोच राखेको जस्तो बुझिन्छ । अब केही वर्ष पहिलेजस्तो जनजीवन नरहने अवस्थालाई स्वीकार गर्नुपर्छ । नेपालको उपचार गर्ने क्षमता कम छ । त्यसैले रोग नै लाग्न दिनु हुन्न । रोग नै लाग्न नदिन कफ्र्यु वा कडा लकडाउन गर्नुपर्छ भन्ने सोच विवेक सम्मत हुँदैन ।
लकडाउन कडा नबनाए नेपाल न्युयोर्क र इटली बन्छ भन्ने धेरै सुनिन्छ । तर, गहिरिएर विश्लेषण गर्ने हो भने नेपालमा संक्रमण फैलिने दर कम हुने अनुमान गर्न सकिन्छ । विकसित देशमा धेरै मानिस सहरमा बस्छन् । एउटै घर र कोठामा धेरै मानिसहरू बस्छन् । घरका अधिकांश सदस्य कामका लागि बाहिर निस्किनुपर्छ । तर, नेपाली समाजमा त्यस्तो छैन । न्युयोर्कमा लकडाउन गर्दाको अवस्था र नेपालमा सामान्य प्रतिबन्धको अवस्थाको तुलना गर्ने हो भने पनि यहाँ संक्रमण दर कम हुने अनुमान गर्न सकिन्छ ।
विकसित सहरमा जस्तो मानिसहरूको आवतजावत, भीडभाड, सम्पर्क यहाँ हुँदैन । कतिपय गतिविधिमा प्रतिबन्ध, जनचेतना र सुरक्षा विधिहरूको प्रयोगमार्फत संक्रमणको गतिलाई कम गर्ने विश्वभर गरिएका अभ्यास यहाँ पनि गर्नु नै पर्छ । संयोगवश नेपालमा रोग फैलिएन भने त्यो हाम्रा लागि राम्रो नै भयो । तर, रोग फैलिएमा अस्पतालको सेवा दिन पनि सरकार तयार भएर बस्नुपर्छ । हाम्रा अस्पतालले एकैपटक कति संक्रमितलाई सेवा दिन सक्छन्, हामीसँग डाक्टर तथा नर्सहरू यथेष्ठ छन् कि छैनन्, स्वास्थ्यकर्मीहरू कस्तो वातावरणमा काम गरिरहेका छन् । सरकारले बरु यतातिर ध्यान दिने पो हो कि ?

प्रतिक्रिया दिनुहोस्