परिसूचक २७ अंकले र कारोबार रकम २८ प्रतिशतले घट्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक गत साताभर करिब २७ अंकले घटेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि करिब २८ प्रतिशतले कमी आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक गत साताभर करिब २७ अंकले घटेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि करिब २८ प्रतिशतले कमी आएको छ । नेप्से परिसूचक यो साताका पछिल्ला दिनमा सकारात्मक देखिए पनि सुरुका दिनको उच्च अङ्कको गिरावटले समग्र साताभर बजार सूचक २६.७७ अङ्कले घटेको हो । यो साताभर नेप्सेमा कारोबार भएका अधिकांश समूहगत परिसूचक घटेपछि त्यसको असर समग्र बजार सूचकमा परेको हो । यो साता नेप्सेसँगै कारोबार रकममा पनि उच्च गिरावट आएको छ । यो साताको पहिलो दिन आइतबार कारोबार सुरु हुँदा १३१५.१३ अङ्कमा रहेको नेप्से परिसूचक २६.७७ अङ्कले घटेर १२८८.३६ अङ्कमा झरेको छ ।यो साता नेप्सेमा कारोबार भएका समूहगत परिसूचक मध्ये वाणिज्य बैंंक २०.६२, विकास बैंक १८.६९, वित्त ८.५८, लघुवित्त ५८.०५, जलविद्युत ४५.४३, बिमा २२१.५८, उत्पादन मूलक ९६.६ र अन्य २.१२ अंकले घटेका छन् । तर, यो साता होटल समूहमात्र १२.०४ अंकले बढेको छ । यो साता नेप्सेमा व्यापार समूहको कारोबार भएपनि कुनै परिवर्तन हुन सकेन । गत साता नेप्सेमा १७४ कम्पनीको १७ हजार २ सय ८७ कारोबारबाट एक अर्ब २९ करोड ३६ लाख ९८ हजार रुपैयाँबराबरका ३३ लाख ३९ हजार एक सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । यो कारोबार रकम अघिल्लो साताको तुलनामा २७.९२ प्रतिशतले थोरै हो । अघिल्लो साता नेप्सेमा १ सय ७१ कम्पनीहरुको २२ हजार ४ सय ३७ कारोबारबाट एक अर्ब ७९ करोड ४७ लाख ९८ हजार रुपैयाँ बराबरका ४७ लाख ९३ हजार एक सय २० कित्ता सेयरहरु खरिद बिक्री भएको थियो । यो साता नेप्सेमा पाँच दिन कारोबार भएको छ । यो साता पनि संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।गत साता नेप्सेमा एक अर्ब १५ करोड रुपैयाँबराबरको सेयर सूचीकृत भएको छ । यो सातामा १० कम्पनीको हकप्रद र बोनस सेयर कारोबारका लागि नेप्सेमा सूचीकरण भएको हो । यो साता नेप्सेमा सेयर सूचीकरण भएका १० कम्पनीमध्ये ९ कम्पनीको बोनस सेयर छ । नेप्सेमा माउन्ट मकालु विकास बैङ्कको मात्र ३ करोड ४५ लाख ८० हजार रुपैयाँबराबरको ३ लाख ४५ हजार ८ सय कित्ता हकप्रद सेयर सूचीकरण भएको छ ।नेप्सेमा बोनस सेयर सूचीकरण गर्नेमा ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैङ्क, वरुण हाइड्रोपावर कम्पनी, गुहेश्वरी मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्स, स्वरोजगार लघुवित्त वित्तीय संस्था, चिलिमे जलविद्युत् कम्पनी, कैलाश विकास बैङ्क र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी छन् ।