बीउ र मल नपाउँदा किसान चिन्तित

महेन्द्रनगर-कोरोनाको संक्रमण रोक्नका लागि सरकारले जारी गरेको लकडानउका कारण कृषि पेसामा संलग्न किसानहरु समस्यामा परेका छन् । तर कञ्चनपुर जिल्लाका अधिकांश किसानलाई भने बीउ तथा मलखाद नपाएको पीडा छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ स्थित बहादुर पन्तले कृषि पेसा अगाल्दै आएका छन् । उनले वर्षौंदेखि कृषि पेसा गर्दै आएको भएपनि यसपटक भने लकडाउनले गर्दा ठूलो घाटा लागेको छ ।
“तरकारी सबै सडेर गइसक्यो, स्थानीय बजारमा मल बीउ केही उपलब्ध हुने सम्भावना पनि छैन ।” पन्तले भने, “सबैतिर लकडाउनले घरबाट बाहिर निस्कन नपाउँदा समस्या पारेको छ ।” लकडाउन जारी रहेको करिब दुई महिना पुग्न लाग्दा आफ्ना उत्पादन बिक्री थर्न नपाउँदा कृषकहरु मर्कामा परेका हुन् ।
“सिजनमा खेती नगरे परिवार पाल्नै समस्या हुन्छ ।” उनले भने, “लकडाउनका कारण बिक्री गर्न तयारी अवस्थामा रहेको तरकारी पनि बजारसम्म पु-याउन सहज छैन, जसोतसो बजारमा लेगपनि बिक्री नै हुँँदैन ।” बिक्री गर्ने अवस्थामा रहेको तरकारी, फलफपूल, माछा, कुखुरा लगायतका कृषि उत्पादनहरुले बजार नपाउँदा यहाँका किसानले ठूलो घाटा खेप्नु परेको छ ।
उनी जस्तै कुखुरा तथा माछापालन गर्ने व्यवसायी पनि आउँदो सिजनको लागि भुरा र चल्ला सहजै उपलब्ध नहुँदा समस्यामा परेका छन् । कञ्चनपुरको वेतकोट नगरपालिका–६ स्थित हरिराम चौधरीले लकडाउनको लामो समय बितिसक्दा समेत माछा पालक किसानका लागि भुरा उपलब्ध नभएको बताए ।
“जिल्ला भरीका सयौं कुखुरा तथा माछा पालन व्यवसाय गर्न समस्या भएको छ ।” चौधरीले भने, “लकडाउनको बेला बेच्न तयार भएको माछा तथा कुखुरा बिक्री नभएर समस्या पारेको छ, यसमै आउँदो सिजनको लागि तयार पार्न भुरा, दाना, चल्ला लगायत आवश्यक पर्ने सामान उपलब्ध नहुँदा व्यवसाय नै धरापमा पर्ने अवस्था आएको छ ।” उनले लकडाउनबाट एक सिजनमा घाटा लागेको भन्दै आउँदो सिजनको व्यवसायमा सरकारले सहजता गरिदिन सरकारसँग आग्रह पनि गरेका छन् ।