Logo

कृषिमा अजैविक प्रविधि भित्र्याउदै सिद्धलेक

धादिङ-अधिकांश घरपरिवारको मुख्य कर्म कृषि रहेका सिद्धलेक गाँउपालिका कृषिमा अजैविक प्रविधि भित्र्याउँदै छ । पछिल्लो समय सजिलोका लागि अधिकांश कृषकहरुको माग अजैविक प्रविधि (औद्योगिक यान्त्रिकिकरण) तर्फ आर्कषण बढेको छ । कृषकहरुको आर्कषणलाई मध्यनजर गर्दै गाँउपालिकाले हरेक वर्ष मिनि टिलर अनुदानमा वितरण गर्दै आएको छ ।
आर्थिक वर्ष २०७४-०७५ मा गाँउपालिकाले ४० वटा मिनी टिलर वितरण गरेकोमा आव २०७५-०७६ मा संख्यामा वृद्धि गरी १६१ वटा वितरण गरेको थियो । चालू आवमा ११० वटा मिनी टिलर वितरण गर्ने कार्यक्रम अनुसार लकडाउनको अवधिमा पनि मिनी टिलर वितरण गरिरहेको छ । कृषि कर्म गर्न सक्ने युवाहरु रोजगारी खोज्दै गाँउ छोडेकाले महिला र वृद्ध कृषकहरु मागको आधारमा हाते ट्याक्टर वितरण गरेकोे गाँउपालिका अध्यक्ष प्रेमनाथ सिलवालले बताए ।
“कृषिका लागि ट्याक्टर भन्दा गोरु उपयुक्त हो भन्ने थाहा हुदाँहुदै पनि ट्याक्टर वितरण गरिरहेका छौं ।” उनले भने, “अजैविक ट्याक्टर मात्र किन वितरण गर्ने भनेर चालू आवबाट गोरु किन्न पनि अनुदान दिने व्यवस्था गरेका छौं ।” दुई हल गोरु किन्न ३५ हजारका दरले अनुदान दिइसकेको अध्यक्ष सिलवालले बताए । गोरु प्रर्वद्धन गर्ने रहर हुँदाहुँदै पनि ट्याक्टर (अजैविक) वितरण गर्नु परेको उनले बताए । छ हजार २१२ परिवार मध्ये कम्तिमा दुई हजार परिवार हिउँदे तथा बर्खे तरकारी खेतीमा संलग्न रहँदै आएको अध्यक्ष सिलवनले बताए ।
कृषि सेवातर्फ एक जान अधिकृतस्तरका कर्मचारी मात्र निजामति सेवाको रहेको गाँउपालिकामा कृषि विकासलाई एक करोड २१ लाख र पशुपंक्षी विकासलाई ९६ लाख बजेट चालू वर्षमा खर्च गर्ने योजना अनुसार कृषि सेवाका ३ जना र पशपंक्षी सेवाका ३ जना प्राविधिक गाँउपालिकाले नै करारमा नियुक्त गरेको छ ।
चालू आवमा ७५ प्रतिशत अनुदानमा ६२ हजारका दरले खरिद गरी छ वटा थ्रेसर वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा पाँच हजारका दरले खरिद गरी ४५ वटा स्प्रे, ५० प्रतिशत अनुदानमा ६५ हजार दरले खरिद गरी ४० वटा र ७५ हजार दरले खरिद गरी ७० वटा मिनी टिलर वितरण गरेको कृषि अधिकृत छविलाल गुरुङले बताए ।
अधिकृत गुरुङका अनुसार मिनी टिलर प्रत्येक वडामा १५ वटाका दरले र स्प्रे छ वटाका दरले वितरण गरी बाँकी रहेका पाँच वटा मिनी टिलर र तीन वटा स्प्रे आवश्यकताका आधारमा वितरण गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस्