लकडाउनले बन्द उद्योग सञ्चालनको तयारी

धनगढी-संघीय सरकारले लकडाउन खुकुलो गर्ने निर्णयसँगै कैलालीका उद्योगहरु सञ्चालन गर्न उद्योगीहरु तयारीमा जुटेका छन् ।
डेढ महिनादेखि बन्द रहेका उद्योगहरु सञ्चालन गर्नका लागि मजदुरहरुको स्वास्थ्य परीक्षण, उनीहरुको आवास र सुरक्षाको व्यवस्था मिलाउन छलफल भइरहेको हो । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उद्योगीहरुले मजदुरको -यापिड टेष्ट गरिदिन सरकारसँग अनुरोध गरिएको बताए । उनले मजदुरहरुले उद्योगमा प्रवेश गरेपछि उद्योगमै खाना र बासको व्यवस्था गरेर उद्योग सञ्चालन गर्ने विषयमा छलफल भइरहेको बताए ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले लकडाउनका कारण बन्द भएका उद्योगहरु सञ्चालन गर्नका लागि गृहमन्त्रालयको निर्देशन अनुसार मापदण्ड बनाइरहेको बताए । उनले मापदण्ड बनाएर वेवसाइटमा राख्ने बताए । उनले सोही मापदण्ड अनुसार व्यवस्था गरेर उद्योगहरुले सञ्चालन गर्न सक्ने बताए ।
कैलाली लगायत सुदूरपश्चिममा अधिकांश कृषि तथा खाद्य उद्योगहरु छन् । खाद्य उद्योगहरु लकडाउनमा समेत बन्द भएनन् भने खाद्यान्न बाहेकका उद्योगहरु बन्द भएका थिए । सहायक प्रमुख जिल्ला अधिकार जोशीले खाद्यान्न अत्यावश्यक वस्तुमा पर्ने भएकाले खाद्य उद्योगहरु बन्द नगरिएको बताए ।
जिल्लामा रहेका उद्योगहरुमध्ये अधिकांश संख्यामा रहेका खाद्य उद्योगहरु बन्द नभएपनि कत्था, टर्पेन्टाइन, डिष्टिलरी प्लाष्टिक सामग्री लगायतका उद्योगहरु बन्द भएका थिए । संघका अध्यक्ष कुँवरले खाद्य उद्योग चलिरहेको बताउँदै बाँकी उद्योगहरु समेत सञ्चालनका लागि वातावरण छिटो भन्दा छिटो बनाउनुपर्ने माग गरे ।