आन्दोलनको तयारीमा उखु किसान «

आन्दोलनको तयारीमा उखु किसान

सर्लाही-लकडाउनको मारमा सर्लाहीका उखु किसान थप पीडित बनेका छन् । जिल्लाको धनकौल गाउँपालिका–६ मा रहेको अन्नपूर्ण चिनी उद्योगले किसानको उखुको रकम भुक्तानी गर्न पटकपटक सम्झौता गरे पनि हालसम्म एक पैसा भुक्तानी नगरेको भन्दै किसानले गुनासो गरेका छन् ।
उद्योगले विसं २०७० देखि हालसम्म १२ हजार किसानको करिब ४० करोड भुक्तानी गर्न बाँकी राखेको भन्दै किसानले उद्योगलाई चिनी बिक्री वितरणमा रोकसमेत लगाएको उखु उत्पादक किसान मुकेश ठाकुरले बताउनुभयो । उहाँका अनुसार केही दिन पहिला उद्योगले किसानलाई थाहै नदिई गोप्यरूपमा गोदामबाट चिनी बाहिर लैजान खोज्दा स्थानीय किसानले चिनी लोड भएका चार ट्रक नियन्त्रणमा लिएका थिए । त्यसपश्चात उद्योगले एक–दुई किसानलाई केही रकम मात्र दिए पनि पूरै रकम नदिएको साथै सबैको रकम नदिएको भन्दै किसानले उद्योग विरुद्ध आन्दोलन गर्नेसमेत चेतावनी दिएका छन् ।
लकडाउनको समयमा किसानको आवतजावत कम भएको मौका छोपी उद्योग प्रशासनले गोप्यरूपमा चिनी लैजान खोज्दा सबै गाउँले किसान मिलेर ट्रकलाई नियन्त्रणमा लिएको स्थानीयवासीले बताएका छन् । गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योगले पनि गत वर्षको केही रकम भुक्तानी गर्न बाँकी रहेको स्थानीय किसान ठाकुरले बताउनुभयो । गत फागुन १८ गतेसम्म सञ्चालनमा गरेको महालक्ष्मी चिनी उद्योगले माघ ७ गतेसम्मको रकम मात्र भुक्तानी गरेको ठाकुरले बताए ।

 

प्रतिक्रिया दिनुहोस्