महामारीले छाड्ने सांस्कृतिक निसानी «

महामारीले छाड्ने सांस्कृतिक निसानी

विश्वमा समय–समयमा विभिन्न खालका महामारीहरू आइरहेका छन् र आइरहन्छन् नै । यो वर्तमानमा हामीले भोगेको सबैभन्दा ठूलो महमारीले पनि पुष्टि गरिसकेको छ । अहिलेको महामारीको प्रत्यक्षतः हामी सबैभन्दा बढी भागेदार हौँ । जब विश्वमा महामारी आउँछ तब त्यसले मानव जीवनमा ठूलो उथलपुथल पनि ल्याउँछ । फलस्वरूप मानव समाजमा यस महामारीबाट विभिन्न प्रकारका सामाजिक, मनोवैज्ञानिक, आध्यात्मिक, चिकित्सकीय तथा सांस्कृतिक प्रचलनहरू पनि स्थापित भएको पाइन्छ । त्यस्ता महामारीले विभिन्न सामाजिक मूल्य–मान्यता र विश्वासको वातावरण पनि सृजना भएको देखिन्छ । यो त विश्वव्यापी रूपमा इतिहासले पनि पुष्टि गरिसकेको छ । जब महामारी आउँछ यसले त्यसका साथै विभिन्न मतमतान्तर र प्रत्युत्तर पनि लिएर आउने गर्छ ।
जब कोरोना महामारी विश्वभरि नै फैलियो, त्यसपछि विश्वमा यस सम्बन्धका थुप्रै विचार, विमर्श, तर्क, वितर्क, अन्दाज एकाएक रूपमा विकास भएको पाइन्छ । वर्तमानमा सामाजिक सञ्जाल कोरोनामय बन्न पुग्यो । तरह–तरहका भिडियो, सन्देश, कविता, गीत, लोकगीत प्रहसन, टिकटक कोरोनाको घनचक्करमा घुम्न पुगे । कोरोनासँग लड्ने उपाय लकडाउन भएका कारण यस अवसरमा मानिसले आफूलाई घरभित्र सीमित राख्दा विभिन्न सृजनात्मक गतिविधि बढाएको पनि पाइन्छ । कोरोना कहरका कथा, कविता, गीत, अनुभव, स्मरण, नियात्रा, निबन्ध त लेखिएका छन् नै, ती कति लेखिए कोरोनाको कहरबाट मुक्त भएपछि अवश्य नै हामीले देख्न, सुन्न पाउनेछौँ । महामारीले हामीलाई धेरै कुरा सिकाएको छ, मात्र हात धुने र नमस्कार गर्ने पद्धतिको मात्र विकास गरेको होइन । यो अभियान त पूर्वीय दर्शनको स्थापित मूल्य–मान्यता पनि हो । तर अहिले यसले विश्वव्यापी मान्यता पायो । यसलाई पूर्वीय सभ्यताको एउटा सकारात्मक उदाहरणका रूपमा लिन सकिन्छ । वर्तमानमा सामाजिक दूरी कायम राख्ने प्रवृत्ति बढ्यो तर यो प्रवृत्ति परापूर्वकालदेखि नै चलिआएको मूल्य–मान्यता हो । हाल क्वारेन्टाइनमा बस्ने भने पनि नेपाली समाजमा सूतक बार्ने, पतिया गर्ने परम्पराले पनि रोग वा महामारीबाट जोगिने पद्धति धेरै पहिलेदेखि नेपाली समाजमा विद्यमान रहेको देखिन्छ ।
महामारीका कारण र लकडाउनका असर समाजमा विभिन्न प्रकारका सुखदुःखका घटनामा पनि मानिसको उपस्थिति न्यून देखियो । संक्रमणको डरले मानिस एकदेखि अर्कोसँग तर्केर हिँड्न थाले । यो कोरोना भाइरसले गर्दा समाजमा मानवीय सम्बन्धमा दरार उत्पन्न गर्ने काम गरेको छ । मानिसको दैनिकी र खानपानमा पनि यसले ठूलै असर पारेको देखिन्छ । कोरोना महामारीपश्चात् त्यसको उपचार, खोप आदि विषयमा पनि टिप्पणी हुन थालेको छ । कोरोना भाइरसबाट बच्न पूजापाठ जपतप पनि हुन थाल्यो ।
सामाजिक सञ्जालमा सांस्कृतिक रचनात्मक अभिव्यक्तिहरू आउने क्रम पनि बढ्यो । कसैले कोरोना महात्म्य बनाएर सामाजिक सञ्जालमा पोस्ट गरे, कसैले हनुमान चालिसाको नक्कल गरे । कतै यो खायो भने कोरोना रोग लाग्दैन भनेर पोस्ट गरिएको पाइयो । डाक्टर, स्वास्थ्य संस्था र सरकारी निकायले चाहिँ पर्याप्त सूचना पोस्ट गरिएको हुँदा सर्वसाधारण जनताका लागि त्यो ज्यादै उपयोगी र तथ्यपरक बन्यो । यस्तो महामारीमा पनि कति अविश्वसनीय, झूटा र तथ्यहीन कुरा पनि सामाजिक सञ्जालमा पोस्ट गरिएको पाइयो ।
यस्तो मानवीय संकटले फरकखाले सांस्कृतिक वातावरण स्थापित भएको पाइन्छ । यस अवसरमा रोगबाट मुक्त हुन कुनै देवीदेवताको पूजाआजा गर्ने गरिएको पनि पाइन्छ । नेपालकै सन्दर्भमा कुरा गर्दा यहाँ विफरको महामारी फैलिएपछि नेपाली समाजमा शीतलामाईको पूजा–अर्चना गर्न थालिएको देखिन्छ । विश्वव्यापी रूपमा सन् १५२० मा विश्वभरि विफर वा स्मल पक्सको महामारी फैलियो, तब समाज विशेष गरी कुनै देवीको स्थापना गरी पूजा गर्न थाल्यो । कालान्तरमा त्यसबेला पूजा–अर्चना गरिएको देवीको नाक शीतलामाई रहन पुग्यो । शीतलामाई पूजनको परम्परा नेपाल र भारतमा व्यापक रूपमा प्रख्यात हुन पुग्यो । यो प्रचलन उत्तर भारत, बंगालमा पनि पूर्ण रूपमा विकसित बन्न पुग्यो । हाल भारतमा शीतलामाईको पूजा–अर्चना गर्ने व्यापक परम्परा छ । नीमको ठूलो वृक्षको तल शीतलामाईको मन्दिर स्थापना गरी पूजन गर्ने परम्पराको भारतमा आफ्नै महŒव छ । स्मल पक्स वा विफरको जलनबाट बच्न मानिसले शीतल दिने देवीका रूपमा शीतला पूज्ने गरिएको पाइन्छ । भारतमा छोटी माता र बडी माताका रूपमा पनि विफरलाई चिनिन्छ । त्यस्तै कसैकसैलाई शरीरमा माता पनि आएको पाइन्छ । ग्रामीण क्षेत्रमा आज पनि शीतला पुज्ने परम्परा छ । नेपालमा पनि यस्ता मन्दिरहरू धेरै छन् । बालाजु बाइसधारा उद्यानभित्र पनि देवी शीतलामाईको मन्दिर छ । त्यस्तै, दक्षिण भारतमा विफरको रोकथामका लागि मरियम्मा भन्ने देवीको पूजा गरिन्छ ।
सन् १८७१ मा भारतमा प्लेग रोग सुरु भएपछि यसलाई बंगालमा ओलाओथा नाम दिइएको थियो । बंगालमा प्लेगको सांस्कृतिक रुपान्तरण भएर ओला बीबी नामका देवीको उद्भव पनि हुन पुगेको पाइन्छ । बंगाली समाजमा प्लेग महामारीबाट बचाउने कालीदेवीका रूपमा ओलाबीबीलाई लिइन्छ । त्यतिबेला अंग्रेज सेना र व्यापारी समेतले ती देवीको पूजा गरेको देखिन्छ । सन् १८२० मा डंकन नामको अंग्रेज व्यापारीले ओला बीबीको मन्दिर निर्माणका लागि ४ हजार सहयोग पनि दिएको थिए । त्यतिबेला पोल्यान्डमा पनि रोड साइडमा पूजास्थल बनाएर प्लेगबाट बच्नका लागि प्रार्थना गर्ने गरिएको पाइन्छ ।
यी यावत् घटनाहरू विश्वका विभिन्न ठाउँमा महामारीपश्चात् भएका सामाजिक एवम् सांस्कृतिक रुपान्तरणका निसानीका उदाहरणहरू हुन् । जब विज्ञान शक्तिशाली भयो तब यस प्रकारका घटनाप्रति मानिसको विश्वास वा प्रतिक्रिया पनि फरक खालको पाइन थाल्यो भने कति मान्यताहरू आफैँ हराएर गए । हाल पनि नेपालमा कानको समस्या भएमा कुपन्डोलका कानदेवताको पूजा गर्ने चलन छ । दाँत दुखेमा किलागलमा गएर पैसा चढाउने तथा शनिको दशाबाट बच्न पीपलमा कपडा वा धागो बाँध्ने चलन नेपाली समाजमा पहिलेदेखि नै चलिआएको परम्परा हो । त्यस्तै लुत्तो फाल्ने चलनले नेपाली समाजमा परापूर्वमा लुतोलगायत चर्मरोगले सताएको पाइन्छ । त्यस्तै टोखा सपनतीर्थ र भक्तपुर चरखण्डीमा वैशाख पूर्णिमामा स्नान गर्दा महारोग वा कुष्ठरोग निको हुन्छ भन्ने कहावत वा जनश्रुति अहिले पनि छ । नेपाली समाजमा यस्ता चलन धेरै पहिलेदेखि नै चलेको प्रतीत हुन्छ । विभिन्न रोगका लागि विभिन्न तीर्थमा स्नान गर्ने हाम्रा प्राचीन मूल्यमान्यताले प्राचीन समयमा आएका महामारीलाई संकेत गर्छ । त्यस रोगबाट मुक्ति पाउन त्यतिबेला हाम्रा पुर्खाहरूले पूज्ने गरिएको देवीदेवता वा अवलम्वन गरेको प्रचनल अहिले पनि परम्पराका नाममा रुढ भएको पाइन्छ । यसका पछाडि खासै वैज्ञानिक कारण नहुन सक्छ तर त्यसको पछाडि जरुर कुनै सांस्कृतिक मूल्य–मान्यता, धारणा वा विश्वास रहेको भने देखिन्छ ।
—सरस्वती ढुङ्गाना

प्रतिक्रिया दिनुहोस्