सय रुपैयाँ लगानीबाट ८ हजार आम्दानी

एक सय रुपैयाँ लगानी गरेर कसैले आठ हजार रुपैयाँ बनायो भनेको सुन्दा आश्चर्य लाग्न सक्छ । तर, तेह्रथुमको मेयङलुङ नगरपालिका–८ आम्बुङका प्रेम शंकरले सय रुपैयाँ लगानी गरेर ८ हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् । शंकरले प्रतिकिलो एक सय रुपैयाँमा फलाम किनेर खुकुरी बनाउँदै बिक्री गरेर ८ हजार रुपैयाँसम्म आम्दानी गर्ने गर्छन् ।
“एक किलो फलामले एउटा खुकुरी बन्छ,” शंकरले भने, “सीप र क्षमता प्रयोग गरेर खुकुरी निर्माण गरी ८ हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएको छु ।” उनले खलत सचेतना समाज ड्यासले केही वर्षअघि दिएको तालिमको सदुपयोग गर्दै खुकुरी बनाउने व्यवसाय सञ्चालन गरेका हुन् । त्यसबाटै हाल उनले राम्रो आम्दानी गर्दै आएका छन् । उनले शंकर कृषि औजार केन्द्र नाम दिएर कृषि औजार उत्पादनलाई निरन्तरता दिएको ११ वर्ष भइसक्यो । “अहिले फलामे औजार बिक्रीबाट मासिक ६० हजार रुपैयाँसम्म आम्दानी हुन्छ,” उनले भने । उनको उद्योगमा मासिक ९ देखि १२ हजारसम्म मासिक तलवमा तीन जना युवाले रोजगारीसमेत पाएका छन् ।
शंकरले खुकुरी, कोदालो, चुलेसी, खुर्पा, फाली, कुरुवा, बञ्चरो, कट्टी, तरवार, नङ्ग्रा, हसिया, हाबी, दाउलगायत सामग्री बनाउने गर्दछन् । आफ्ना उत्पादनमा सबैभन्दा बढी खुकुरी बिक्री हुने गरेको उनले बताए । “सिरुपाते, बाँसपाते र गोठाले खुकुरी तयार गर्छु, तर सिरुपातेको माग बढी छ,” उनले भने, “मैले बनाएका खुकुरी २ हजारदेखि ८ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेका छन् ।” उनले उत्पादन गरेका औजार शुक्रबारे र औंसिबजार हटियामा बिक्री गर्ने गरेका छन् । “माग धान्नै कठिन हुने गरेको छ,” उनले भने, “जनशक्ति थप गर्ने सोच बनाउँदैछु ।” उनले बनाएका खुकुरी विदेशमा समेत निर्यात हुने गरेको छ ।
दैनिक रूपमा १० घण्टासम्म आफ्नै उद्योगमा काम गर्दै आएका शंकरले यही पेशाबाट कमाएको पैसाले संसारे बजारमा घर निर्माण गरेका छन् । चार छोरी, एक छोरा र श्रीमतीसहित सात जनाको परिवार यही पेशाले धानेको उनले बताए ।
–प्रकाश पाक्साँवा