खच्चड व्यवसायबाट लाखौंको आम्दानी «

खच्चड व्यवसायबाट लाखौंको आम्दानी

हुम्लामा खच्चड व्यवसाय आम्दानीको राम्रो माध्यम बन्दै गएको छ । भौगोलिक विकटता र राष्ट्रिय सडक सञ्जाल नहुँदा खच्चड व्यवसायीले राम्रो आम्दानी गर्ने गरेको हो । देशका अन्य भूभागमा खच्चड व्यवसाय लोप हुने अवस्थामा पुगेका बेला हुम्लामा भने यसले आयस्रोतमा टेवा पुराएको छ । हवाई मार्गबाट सामान ढुवानी गर्दा निक्कै महँगो हुने भएकाले यहाँका व्यवसायी खच्चडमै आकर्षित हुने गरेका छन् ।
हुम्लामा हाल उत्तरको हिल्सा नाकाबाट नाम्खा गाउँपालिकाको ओखरथलासम्म ७१ किलोमिटर र सदरमुकाम सिमकोटबाट दक्षिण क्षेत्र खार्पुनाथसम्म ११ किलोमिटर सडक निर्माण भएपछि गाडीको इन्धन बोक्ने काम खच्चड व्यवसायीले पाउने गरेका छन् । हेलिकोप्टरबाट ४ वटा जिप हुम्ला सदरमुकाम सिमकोट पुराइएपछि यहाँका ग्रामीण क्षेत्रमा सञ्चालन गर्न थालिएको छ । यी जिप सञ्चालन गर्न खच्चडले इन्धन ढुवानीको काम गर्दै आएका छन् ।
हाल जिल्लामा चारवटा ट्र्याक्टर, ५ वटा जिप, ५ वटा स्काभेटर र २ मोटरसाइकल नियमित गुडिरहेका छन् । हवाई जहाजबाट इन्धन ढुवानी गर्दा प्रतिलिटर ३ सय ८० रुपैैयाँ पर्ने भएकाले यहाँका यातायात व्यवसायी खच्चडको भर पर्ने गरेका छन् ।
उत्तरी चीनको सीमा हिल्साबाट ७१ किलोमिटरको नाम्खा गाउँपालिकाको ओखरथलासम्म ट्र्याक खुलेको भए पनि राम्रोसँग गाडी सञ्चालन हुन नसक्दा इन्धन ढुवानीमा समस्या हुँदै आएको छ । चीन सिमासँग यातायात जोडिए पनि चीन सरकारले वैधानिक रुपमा ईन्धन ढुवानी गर्न नदिँदा स्थानीयलाई समस्या हुने गरेको छ । व्यवसायीले तिब्बती नागरिकसँग मिलेर लुकीछिपी इन्धन ल्याउने गरे पनि पर्याप्त नभएकाले खच्चडबाटै ढुवानी गर्ने व्यवसायी बाध्य भएका हुन् ।
वैशाखदेखि मंसिरसम्म हुम्लामा आन्तरिक र बाह्य पर्यटकको भीड हुने भएकाले खच्चड व्यवसायी जिल्लाका विभिन्न भागमा सामानको ओसार–पसार गर्ने र हिउँदको महिनामा यातायात व्यवसायीको इन्धन ढुवानीमा व्यस्त हुने गरेका छन् । चीनको कैलाश मानसरोवर दर्शन गर्ना हुम्लाबाट आवत–जावत गर्ने पर्यटकको सामान ढुवानी गर्न र चीनबाट दैनिक उपभोग्य सामान ढुवानी गर्न पनि खच्चडकै प्रयोग हुने गरेको छ । २० वटा खच्चडका मालिक छिरिङसोनाम लामाले एकै महिनामा १ लाखसम्म आम्दानी गर्न सकिने बताए ।
पछिल्लो समयमा स्थानीय स्तरमा विकास निर्माणको कामले तीव्रता पाएसँगै खच्चडको प्रयोगसमेत बढेको छ । निर्माण सामग्रीहरु ढुवानी गर्न खच्चड प्रयोग हुने गरेको छ । चीनको सीमा हिल्सा, तुम्कोट, यारीबाट र छिमेकी जिल्ला मुगु, कालिकोट र बाजुराबाट पनि खच्चडबाटै सामान ढुवानी हुने गरेको छ ।
नेपाल खाद्य संस्थानले जिल्लाका ७ मध्ये ६ वटा गाउँपालिकामा चामल ढुवानी गर्दा खच्चडकै प्रयोग गर्ने गरेको छ । नेपालगन्जबाट हवाईजहाजमा प्रतिकिलो १ सय २० र सुर्खेतबाट प्रतिकिलो १ सय १० रुपैयाँमा सामान ढुवानी हुने गरेको भए पनि खच्चडबाट प्रतिकिलो २५ देखि ५० रुपैयाँसम्ममा ढुवानी गर्न सकिने स्थानीय बासिन्दा बताउँछन् ।
सडक सञ्जाल नजोडिएको हुम्लामा झोपा, घोडा, खच्चड र भेडाबाख्राबाट मालसामान ढुवानी गरिने गर्दछ । राष्ट्रिय सडक सञ्जालमा हुम्ला नजोडिँदासम्म खच्चड व्यवसाय अझै राम्रो हुने देखिएको छ । हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नाम्गेल तामाङले खच्चडको पालनपोषण राम्रो गर्न सके आम्दानी पनि निकै राम्रो हुने बताए ।

रेशमराज रोकाया

प्रतिक्रिया दिनुहोस्