वर्कसपमा अपनाउनुपर्ने सुरक्षाका १८ विधि «

वर्कसपमा अपनाउनुपर्ने सुरक्षाका १८ विधि

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले वर्कसप र सर्भिस सेन्टर खोल्दा अपनाउनुपर्ने सुरक्षा अवधारण अनिवार्य पालना गर्न आग्रह गरेको । नाडाले सरकारको निर्णयलाई स्वागत गर्दै सुरक्षाका सम्पूर्ण उपाय अपनाएर वर्कसप खोल्न आफूमा आवद्ध प्रतिष्ठानहरूलाई १८ सुरक्षा तरिका अपनाउन आग्रह गरेको हो ।
एसोसिएसनले भनेको छ, “वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको म्याद थप गरेसँगै ४४ किसिमका उद्योग र व्यवसाय खोल्ने निर्णयलाई नाडाले स्वागत गरेको छ ।” थपिँदो लकडाउनको सन्दर्भमा अत्यावश्यक सामान ढुवानी तथा सेवामा खटिएका सवारीको सर्भिसिङ तथा पार्टस् व्यवसायीले एवं ग्राहकले निम्न प्रकारका सुरक्षा अवधारणा लागु गर्न नाडाको आग्रह छ ।
१) नाडाबाट जारी गरिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र अरूलाई पनि बचाउन पालना गर्नुपर्ने गाइडलाइनलाई अनिवार्य पालना गर्नुपर्ने ।
२) प्रथमतः आफू सुरक्षित हुने तत्पश्चात् आफ्नो व्यवसायलाई पनि सुरक्षित गर्दे सरकारको कदमलाई पूर्णतः सहयोग गर्नुपर्ने ।
३) खाना, खाजा र चिया सम्भव भएसम्म घरबाटै ल्याएर खाने । सम्भव भएसम्म केक, आइसक्रिम र अन्डाको प्रयोग नगर्ने । चिया कफी खाँदा डिस्पोजेबल कपको प्रयोग गर्ने । पानीका लागि साना प्याकेज बोटलहरू मात्र प्रयोग गर्ने ।
४) पैसा, चेक, कागजपत्रलगायत लेनदेनमा अनिवार्य रूपमा पञ्जा र स्यानिटाइजर प्रयोग गर्ने ।
५) कुनै पनि सामान वा वस्तु पञ्जा लगाएर मात्र छुने । तत्पश्चात् पनि साबुनपानीले वा स्यानिटाइजरले राम्रोसँग हात धुने । साबुन पानीको प्रयोग गर्दा साधारणतः २० सेकेण्डसम्म दुवै हात रगडेर धुने ।
६) संक्रमणबाट बच्न उच्चतम् उपायका रूपमा मानिएको सामाजिक दूरीलाई कडाइसाथ पालन गर्ने । हाच्छिउँ आउँदा रुमाल वा आफ्नो बाहुलाले नाक छोप्ने । सामाजिक दूरी १.५ मिटर हुनुपर्ने । कामको हरेक चरणमा सामाजिक दूरीलाई कडाइ साथ पालन गर्ने । दुई सिटको बीचमा पर्याप्त दूरी कायम राख्ने ।
७) हरेक काममा मास्क र पञ्जा अनिवार्य प्रयोग गर्ने । सामान छुनुअगावै र सामान गन्तव्य राखेपछि स्यानिटाइजर प्रयोग गर्ने । सञ्चारको मुख्य साधनका रूपमा मोबाइल र कप्युटरको अधिकतम प्रयोग गर्ने ।
८) स्पेयर पार्टस्, लुब्रिकेन्टस्, ब्याट्री, एसेसरिज, टुल्स र मेसिनहरूलगायत विभिन्न वस्तु छुँदा अनिवार्य रूपमा पञ्जा वा स्यानिटाइजरको प्रयोग गर्ने । सकेसम्म डिस्पोजेबल पञ्जाको प्रयोग गर्ने र घरमा फर्केपछि घरबाहिरको डस्टबिनमा राख्ने वा जलाउने । वर्कसपहरूमा सकेसम्म एसीको प्रयोग नगर्ने र अधिकतम रूपमा भेन्टिलेसनको व्यवस्था गर्ने ।
९) सकेसम्म आफ्नो हातले आँखा, कान, नाख र मुख नछुने । कसैसँग पनि हात नमिलाउने र नमस्कार मात्र गर्ने ।
१०ं घरमा लगेको खानेकुरा वा अन्य सामानहरू तातो साबुन पानीले वा स्यानिटाइजरले धुने र ४÷५ घण्टा बाहिर घाममा सुकाउने । धुन र पखाल्न मिल्ने वा पकाएर खान मिल्ने खानेकुराहरू मात्र प्रयोग गर्ने ।
११) आफूले दिन भर पसल, वर्कसप र अफिसमा लगाएको लुगा घरबाहिरै राखेर धुने । सरसफाइलाई उच्च प्राथमिकता दिने ।
१२) वर्कसप, पसल वा अफिसहरूमा सकेसम्म आलोपालो गरेर बस्ने । अफिसका ढोका, ह्यान्डल, वासरुम स्यानिटाइज्ड गर्ने ।
१३) आफ्नो निजी सवारीसाधनहरूलाई पनि स्यानिटाइज्ड गर्ने अर्थात् डिसइन्फेसनाइज्ड गर्ने ।
१४) कार्यालय, पसल र वर्कसपमा आउने ग्राहकले पनि अनिवार्य रूपमा मास्क र पञ्जाको प्रयोग गरेको हुनुपर्ने । त्यस्तो व्यवस्था नगरेको ग्राहकलाई प्रवेशमै रोक लगाउने । गाडी वासिङ गर्ने कर्मचारीले हरसमय पीपीई लगाउने ।
१५) सकेसम्म कम्तिमा ३ दिनसम्म गोदाममा स्टक राखेर मात्र स्पेयर पार्टस् वा अन्य सामान बिक्री गर्ने ।
१६) वर्कसपहरूले ढोकैबाट सेवा दिने र त्यहीबाटै आउने जाने सकिने व्यवस्था मिलाउने । मेकानिक्सले विशेष सुरक्षा अपनाउने ।
१७) काममा जाने सबैले टाढैबाट प्रयोग गर्न मिल्ने इन्फ्रारेड थर्मोमिटरको प्रयोग गर्ने यदि आफ्नो शरीरको तापक्रम ९९ फरेनहाइटभन्दा बढी रहेछ भने घरमै बस्ने अथवा डाक्टरलाई देखाउने ।
१८) विक्रेता र उपभोक्ता दुवैले साथमा स्यानिटाइजर साथमा राख्ने । विक्रेताहरूले र वर्कसपहरूले अगाडि ढोकामै स्यानिटाइजर राख्ने व्यवस्था गर्ने ।

प्रतिक्रिया दिनुहोस्