सवारी कारबाहीबाट १ करोड राजस्व

मकवानपुरमा चालू आर्थिक वर्षको आठ महिनामा विभिन्न कसुरमा सवारी साधनलाई गरिएको कारबाहीबाट झन्डै १ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
ट्राफिक प्रहरीको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म १५ हजार ९ सयवटा सवारीलाई कारबाही गरिँदा ९८ लाख २१ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । यो अवधिमा बिलबुक नबोक्ने, नवीकरण नगर्ने तथा इजाजतपत्र नलिएका सवारी साधन सबैभन्दा बढी कारबाहीमा परेका छन् । उक्त कसुरअनुसार ३ हजार ५ सय ४५ वटा सवारीलाई कारबाही गरिएकोमा २० लाख २१ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । ओभरलोड बोक्ने सवारीलाई गरिएको कारबाहीको संख्या पनि उच्च छ । आठ महिनाको अवधिमा उक्त कसुरअनुसार ३ हजार ४ सय ४३ वटा सवारीलाई कारबाही गरिएकोमा २० लाख ७८ हजार ५ सय रुपियाँ राजस्व उठेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख नवीन अधिकारीले जानकारी दिए । सवारी चालक अनुमतिपत्र नलिई सवारी चलाउने, नवीकरण नगर्ने २ हजार २ सय ९६ जना चालक कारबाहीको दायरमा आएका छन् । जसबापत ट्राफिकले १४ लाख १६ हजार रुपियाँ राजस्व संकलन गरेको छ ।
सिट क्षमताभन्दा बढी यात्रु बोक्ने ९ सय २० वटा सवारीलाई कारबाही गर्दा ५ लाख २८ हजार ५ सय रुपियाँ राजस्व प्राप्त भएको ट्राफिक प्रहरीले जनाएको छ । आठ महिनाको अवधिमा बिना हेल्मट सवारी चलाउने तथा सिट बेल्ट नबाँध्ने ४ सय ६० जना चालकलाई कारबाही गरिएकोमा २ लाख ४८ हजार रुपैयाँ जरिवाना उठाइएको छ ।
सो अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ३ सय ७८ जनालाई कारबाही गरिएको छ । मापसे गरी सवारी चलाएको कसुरमा गरिएको कारबाहीबाट ३ लाख ७८ हजार रुपैयाँ राजस्व प्राप्त भएको ट्राफिक प्रमुख अधिकारीले बताए । सवारी बत्ती नभएका वा साइड बत्ती नभएका, छतमा लगेज राखेका र तीव्र गतिमा सवारी चलाउनेलाई पनि कारबाही गरिएको छ ।
तोकिएको नियम उल्लंघन गर्ने, नम्बर प्लेट नराख्ने, पार्किङ निषेध गरिएको स्थानमा पार्किङ गर्नेलगायतका अन्य कसुरमा आठ महिनाको अवधिमा ४ हजार ६ सय ५८ वटा सवारीलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अन्य कसुरमा कारबाही गर्दा ३० लाख ४० हजार ५ सय रुपियाँ जरिवाना उठाइएको ट्राफिकले जनाएको छ । चालू आर्थिक वर्षको असोजमा सबैभन्दा बढी २ हजार २ सय सवारी कारबाहीमा परेको तथ्यांक छ ।
–केशव समर्पण