नेपालको आर्थिक विकासमा सहकारी क्षेत्रको भूमिका «
Logo

नेपालको आर्थिक विकासमा सहकारी क्षेत्रको भूमिका

 नेपालको आर्थिक विकासमा सहकारी क्षेत्रको भूमिकाआर्थिक विकास एक बहुउद्देश्यीय, बहुक्षेत्रीय, बहुआयामिक अवधारणा हो । यसले अर्थतन्त्रको समृद्घिको अवस्था सिर्जना गर्छ । यसमा भौतिक तथा मानवीय पक्षको विकास पनि समावेश हुन्छ । कृषि, उद्योग, पर्यटन, व्यापार, रोजगारी, जलविद्युत्, यातायात, खानेपानीजस्ता क्षेत्रहरूमा हुने दिगो गुणात्मक र परिमाणात्मक रूपमा आउने सकारात्मक परिवर्तन नै आर्थिक विकास हो । देशको नागरिकको प्रतिव्यक्ति आयमा वृद्धि हुनु, राष्ट्रिय आयमा वृद्धि, मानव विकास सूचकांक उच्च हुनु तथा नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन आई देश समृद्धितर्फ लम्कँदै देश आत्मनिर्भर हुनु नै आर्थिक विकास हो ।राज्यले अवलम्बन गरेको तीन खम्बे अर्थनीति सार्वजनिक, निजी र सहकारीमध्ये एक खम्बाका रूपमा सहकारी क्षेत्रलाई लिएको छ ।
सहकारी क्षेत्रले सहकारी मूल्य, मान्यता र सिद्धान्तअनुरूप देशका कृषक, कालिगढ, श्रमिक, न्यून आय भएका समूह एवं सीमान्तकृत समुदाय, सर्वसाधारण उपभाक्तामाझ छरिएर रहेको पुँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयन गर्न समुदायमा आधारित, सदस्यकेन्द्रित लोकतान्त्रिक, स्वायत्तता, स्वशासित सङ्गठन जसले सदस्यको आत्मनिर्भर, दिगो एवम् समाजवादउन्मुख, राष्ट्रिय अर्थतन्त्रको विकास गर्न एक पहरेदारीको भूमिका निर्वाह गर्दै आएको छ । हाल ३४ हजार ५ सय १२ विभिन्न प्रकृतिका प्रारम्भिक सहकारी संस्था, ७७ जिल्ला सहकारी संघ, ३ सय २८ विषयगत जिल्ला सहकारी संघ, २० विषयगत केन्द्रीय सहकारी संघ, एक राष्ट्रिय सहकारी बैंक र राष्ट्रिय सहकारी महासंघ रहेका छन् । अन्तर्राष्ट्रिय सहकारी महासंघमा नेपाल आबद्ध भएको छ, प्रारम्भिक संस्थामा करिब ६३ लाख सदस्य छन् ।
सहकारी संस्थाको कुल पुँजी ७३ अर्ब र परिचालित बचत ३ खर्ब २ अर्ब रहेको छ । सहकारी संघ–संस्थाबाट २ सय ७३ अर्ब ऋण लगानी परिचालन भएको छ । यस क्षेत्रले करिब ६१ हजार जनालाई प्रत्यक्ष रोजगारी दिनुका साथै लाखौंको संख्यामा अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ । वित्तीय पहुँच, महिला सशक्तीकरण, नेतृत्व विकास तथा क्षमता विकास, सामाजिक एकीकरण, उद्यमशीलता प्रवद्र्धन र गरिबी न्यूनीकरणमा यस क्षेत्रको महत्वपूर्ण योगदान छ । यस क्षेत्रमा प्राप्त उपलब्धिको संवद्र्धन गर्दै सहकारी आन्दोलनको स्वस्थ विकासलाई प्रोत्साहित गर्नु वाञ्छनीय देखिन्छ । आर्थिक विकास र सहकारी क्षेत्र : सरकारी क्षेत्र र निजी क्षेत्र पुग्न नसकेको क्षेत्रमा सहकारीको माध्यमबाट देशको आर्थिक, सामाजिक क्षेत्रमा योगदान गर्न सकिन्छ । सहकारी क्षेत्रलाई लद्युवित्त कारोबारसँगै उत्पादन बजारीकरण र सेवा प्रवाह संग्लन गराउँदै उत्पादकत्व र रोजगारी वृद्धिबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान प्रशंसनीय नै छ । यस सन्दर्भमा निम्नअनुसार बुँदागत रूपमा स्पष्ट पार्न सकिन्छ :
♦ स्थानीय स्रोत, श्रम, सीप र पुँजीको अधिकतम परिचाललनमार्फत आर्थिक–सामाजिक रूपान्तरणका रूपमा रहिआएको । 
♦ सहकारीमा आधारित उत्पादन, उद्यम र सेवा–व्यवसायको विकास र विस्तार गरी दिगो र समतामूलक आर्थिक र सामाजिक विकासमा योगदान पु-याएको ।
 ♦ उद्यमशीलताको विकास र स्थानीय पर्यटन प्रवद्र्धनमा योगदान । 
♦ वित्तीय सेवाको पहुँच र आर्थिक–सामाजिक समावेशीकरणलाई प्रोत्साहित गरेको । 
♦ स्वरोजगारी सिर्जना गरी गरिबी निवारण गर्नका लागि सहयोग गरेको ।
♦ व्यवसायको संस्कृत र प्रवृत्तिको विकास गर्न । 
♦ साना तथा आत्मनिर्भरमुखी व्यवसायको सञ्चालन गर्नको लागि । 
♦ कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्न साना किसानहरूलाई सहकारीको माध्यमबाट एकीकृत गरी ठूलो आकारको खेती गर्दै बहुत् परिमाणमा कृषि उत्पादन, प्रशोधन र बजारीकरण गर्नका लागी भूमिका निर्वाह गरेको । 
नेपालको संविधानले अंगीकार गरेको नीति तथा कानुनी व्यवस्थाले निर्दिष्ट गरेबमोजिम सहकारी क्षेत्रले सहकारी मूल्य–मान्यता र सिद्घान्तको अनुसरण तथा पारस्पारिकता र स्वावलम्बनको संस्कार विकास गर्दै समग्र विकास–प्रकियामा सहयोगी भुमिका निर्वाह गरेको छ, विकाससम्बन्धी सोच, नीति र योजनाबमोजिम लक्ष्य तथा उद्देश्य हासिल गर्न देशको आर्थिक तथा सामाजिक विकासमा सहयोग र सहकार्य गर्ने यस क्षेत्रको ठूलो योगदान छ, यस क्षेत्रले सहकारी संस्थामा सुशासन कायम गर्दै स्थानीय स्रोत, साधन, श्रम, सीप र पुँजीलाई व्यापक रूपमा परिचालन गरी रोजगारी तथा आय वृद्धि र गरिबी निवारण गर्न सहयोग गर्दै यस क्षेत्रले मानवीय आवश्यकताका वस्तु तथा सेवाको उत्पादन, प्रशोधन र बजारीकरण गर्दै सदस्यहरूको सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरण तथा समावेशी आर्थिक वृद्धि हासिल गर्ने सहयोग गर्छ ।

 

सुशील भट्टराई

प्रतिक्रिया दिनुहोस्