बैंकिङ सेवा नियमित गराइदिन माग «

बैंकिङ सेवा नियमित गराइदिन माग

उदयपुरका व्यापारी, व्यावसायी तथा आम सर्वसाधारणले निजी तथा सरकारी बैंकले प्रदान गर्ने बैंकिङ सेवा नियमित गराइदिन सरकारसँग माग गरेका छन् । कोरोना भाइरस ( कोबिड १९) को विश्वव्यापी महामारीका कारण सरकारले नेपाललाई बन्दाबन्दी घोषणा गरेपछि जिल्लामा भएका बैंकले नियमित सेवा नदिँदा सर्वसाधारण थप मारमा परेका छन् । घरमा भएको खाद्यान्न र नगद सकिएका सर्वसाधारणले बैंकमा भएको रुपैयाँ समेत निकाल्न नपाउँदा उनीहरु थप समस्यामा परेका छन् ।
“ एटिएम भएका केहीले दैनिक खर्चको व्यवस्थापन एटिएम सेवाबाट गरे पनि यो आम उद्योगी, व्यापारी र व्यावसायीका लागि हुँदैन” नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य एवं स्थानीय निर्माण व्यवसायी सुमन्त कोइरालाले भने, “ व्यवसायिक, संस्थागत र व्यापारीक क्षेत्रका कारोबार चेकबाटै हुन्छन् ।” कुनै बैंक हप्तामा एक पटक खुल्ने र कुनै खुल्दै नखुल्ने भएका कारण एटिएम नभएका र लेखपढ नजानेका सर्वसाधारणले समेत बैंकिङ सेवा प्राप्त गर्न कठिनाई भोगिरहेको उनले बताए ।
उदयपुर जिल्लामा सरकारी क्षेत्रका राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंक लिमिटेड सहित निजी क्षेत्रका दुई दर्जनको हाराहारीमा बैंकका शाखा छन् । बन्दाबन्दी भएको डेढ महिनाको अबधिमा कुनै बैंक बढीमा ५-६ पटक र कुनै १-२ पटक बाहेक खुलेका छैनन् ।
“जिल्लामा सरकारी र निजी क्षेत्रका दर्जन भन्दा बढी बैंकका शाखा छन्” स्थानीय व्यापारी युवराज बस्नेतले भने,“ ती मध्ये तालिका तयार गरेर दैनिक ३ वा ४ वटाका दरले खुल्ने र सामाजिक दुरी कायम गरेर एउटा बैंकले बढीमा २० जनासँग आर्थिक कारोबार गर्ने व्यवस्था मिलाउन सके राम्रो हुने थियो ।” घरमा भएको अन्नपात र नगद सकिएका तर बैंकमा रकम हुने सर्वसाधारणका लागि यो व्यवस्था अनिवार्य रहेको उनले बताए ।
“ नहुनेले हुने छरछिमेकी र आफन्तसँग सरसापट माग्दा पनि चेक दिन्छन्,” व्यावसायी विनोद पाण्डे भन्छन्,“ बैंक नै नखुलेपछि कसरी चेक साट्नु र काम चलाउनु ?” त्यसैले पनि थोरै कर्मचारी राखेर सामाजिक दुरी कायम गर्दै एउटा बैंक हप्तामा कम्तिमा ३ पटक खुल्ने व्यवस्था मिलाइए सर्वसाधारणलाई सहज हुने उनले बताए ।
“हामीले हप्ताको एक दिन बैंक सन्चालन गर्दै आएका छौं” सिद्धार्थ बैंकको गाईघाट शाखाका म्यानेजर सुनिल पोखरेलले भने,“ कुन बैंक कहिले खुल्छ भन्ने थाहा नपाउँदा सर्वसाधारणले हैरानी खेपिरहेका छन् । र, ग्रामिण क्षेत्रबाट बैंंकिङ सेवा अन्र्तगत रकम भुक्तानीका लागि सदरमुकाम आउनेहरु त्यसै फर्किनुपर्ने अबस्था छ ।” सदरमुकाममा रहेका निजी क्षेत्रका २१ वटा बैंकका शाखाहरु मध्ये पालैपालो दैनिक ४ वटाका दरले खुल्ने व्यवस्था मिलाएर सुचित गर्न सके सर्वसाधारणले दुख नपाउने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्