सरकारी निकायको भुक्तानी अनलाइनबाटै «

सरकारी निकायको भुक्तानी अनलाइनबाटै

पर्वत-चैतस्थानीय तह बाहेकका सरकारी कार्यालयबाट हुने भुक्तानी, राजस्व दाखिलालगायतका काम अब अनलाइनबाटै हुने भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले सुरु गरेको विद्युतीय भुक्तानीपछि अब जिल्लामा हुने विकास निर्माण, सार्वजनिक खरिद प्रक्रिया र उपभोक्ता समितिमार्फत हुने कामलगायतको भुक्तानी अब सहज हुनेछ ।  “आर्थिक वर्ष सकिने बेला दिएका चेक दुई महिनासम्म नसाटिने अवस्था अब हुने छैन,” कोष नियन्त्रक विष्णु खरेलले भने, “काम सम्पन्न भएको प्रतिवेदनका आधारमा सम्बन्धित कार्यालयले भुक्तानी आदेश दिएको ५ मिनेटमै सम्बन्धितको खातामा पैसा पुग्छ ।” टीएसए (ट्रेजरी सिंगल एकाउन्ट) नामको सफ्टवेयरमार्फत भुक्तानी माग गर्नेको खातामा सरकारी पैसा पठाइने कोलेनिकाले जनाएको छ । सरकारी खाताको रकम दुरुस्त भए–नभएको परीक्षण गरी सफ्टवयेरमार्फत सम्बन्धित व्यक्तिको खातामा कोलेनिकाले पठाउने व्यवस्था हुन्छ । खातामा प्राप्त रकमबारे बैंकलाई समेत जानकारी नहुने कोष नियन्त्रक बताउँछन् । “भुक्तानी पाउनेको खाता चेक नगरे बैंकलाई समेत पैसा जम्मा भएको थाहा हुँदैन,” उनले भने । पहिलो चरणमा सामान खरिद र ठेकेदार कम्पनीलाई अनलाइन सेवाबाट दिइने भुक्तानी यसपछि कर्मचारीको पारिश्रमिक, राजस्व दाखिलालगायतका सबै काम सुरु गरिने कोलेनिकाले जनाएको छ । अर्को आर्थिक वर्षसम्म स्थानीय तह र जिल्लास्तरका सबै कार्यालयको सम्पूर्ण आर्थिक कारोबार अनलाइनबाटै भुक्तानीको व्यवस्था मिलाउने तयारी कोलेनिकाले गरेको छ । पर्वतमा कारोबार सुरु गर्दै प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले प्रविधिको माध्यमबाट सेवाग्राहीलाई सेवा प्रदान गर्ने परिपाटीले सरकारी काममा पारदर्शिता मात्रै नभएर छरितो पनि हुने दाबी गरे । “यो प्रविधिले वित्तीय सुशासन मात्रै नभएर सेवाग्राहीले बेहोर्ने झन्झट पनि अन्त्य हुन्छ,” उनले भने, “प्रविधिको युगअनुसार हामी पनि बदलिएको संकेत गर्छ ।” विद्युतीय भुक्तानीले सरलतासँगै ल्याउनसक्ने चुनौती र व्यवधानको सामना गर्ने पूर्वाधार तयार गर्नुपर्ने उनले बताए । विद्युत् अभाव हुँदा, सफ्टवेयरमा समस्या आउँदा विकल्प खोज्न सके यो प्रविधिले धेरै सुविधा पुग्ने छ । विद्युतीय भुक्तानी हुने भएपछि निर्माण व्यवसायी तथा उपभोक्तासमेत उत्साहित भएका छन् । “काम सकिएको लामो समय भुक्तानी कुर्नुपथ्र्यो,” व्यवसायी गिरिजा तिवारीले भने, “अब सिधै बैंकमा पैसा आउने भएपछि धेरै सहज हुन्छ । पटक–पटक भुक्तानी आदेश माग्न सम्बन्धित कार्यालय पुग्नुपरेन ।”विद्युतीय भुक्तानी गर्ने पर्वत छैटौं जिल्लामा परेको छ । यसअघि पाँच जिल्लामा विद्युतीय भुक्तानी कार्यान्वयनमा आइसकेको महालेखा नियन्त्रकको कार्यालयका उपमहानियन्त्रक रुद्र भट्टले बताए । विद्युतीय भुक्तानी सम्बन्धित कार्यालयमा प्राप्त बिल र कागजातलाई अनलाइनमार्फत कोलेनिकामा पठाउने र कोलेनिकाले चेकजाँच गरी सम्बन्धित व्यक्ति वा फर्मको बैंक खातामा रकम जम्मा हुने छोटो प्रक्रिया हो ।

लक्ष्मीप्रसाद सापकोटा

प्रतिक्रिया दिनुहोस्