पूर्वमा चन्दा आतंक

विभिन्न समस्याबाट ग्रसित पूर्वका उद्योगीहरू यतिबेला उम्मेदवारहरूको चन्दा आतंकबाट हैरान भएका छन् । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूले प्रचारका लागि भन्दै उद्योगीहरूसँग मोटो रकम माग्ने गरेको पाइएको छ ।
उनीहरूले उद्योगीहरूलाई भेटेरै चन्दा दिन दबाब दिने गरेका छन् । चन्दाका लागि दैनिक ५०–६० वटा फोन आउने गरेको मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बताए । उनका अनुसार कतिपय उद्योगी चन्दाको दबाब थेग्न नसकेर मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् ।
भारतको बथनाहास्थित मीरगञ्ज पुल बिग्रिँदा तीन महिनादेखि यो क्षेत्रका उद्योगीले सुनसरीको भान्टाबारी नाकाबाट कच्चापदार्थ आयात गर्दै आएका छन्, जसका कारण यो क्षेत्रका उद्योगीले दैनिक १८ करोडभन्दा बढी नोक्सानी व्यहोर्नु परेको छ । डिटेन्सन, डिमान्ड शुल्क, ढुवानी र समयमा बजारमा सामान पठाउन नसक्दा उद्योगी आर्थिक नोक्सानी व्यहोर्न बाध्य भएका छन् । “अनेकौं समस्याबाट ग्रसित उद्योगीलाई यतिबेला चन्दा माग्नेहरूले झनै आतंकित बनाएका छन्,” अध्यक्ष सारडाले भने, “उद्योगी व्यवसायीहरू व्यवसाय छाडेर भाग्ने अवस्था आइसक्यो ।”
बैंकको चर्को ब्याज, मजदुर कर्मचारीको तलब, प्रतिस्पर्धात्मक बजार, लोडसेडिङलगायत समस्याका कारण दर्जनौं उद्योगीहरू पलायन भइसकेका छन् । “दलहरूले जतिसुकै लगानीको वातावरण बनाउँछु भने पनि अहिलेसम्म महसुस गर्न सकिएको छैन,” सारडाले भने, “कम्तिमा उद्योगीका समस्या त बुभ्mनुप¥यो नि ।” स्थानीय तहको निर्वाचनको समयमा पनि उद्योगीहरू चन्दाबाट आतंकित बनेका थिए । प्रत्यक्षमात्रै नभएर समानुपातिक उम्मेदवारले पनि चन्दा माग्ने गरेको उनको गुनासो छ ।
उनकै शब्दमा पूर्वमात्रै नभएर दाङ, वीरगञ्ज, मुस्ताङबाट समेत चन्दाका लागि फोन आउने गरेको छ । कतिपय चन्दा संकलनकै लागि पनि उम्मदेवार बन्ने गरेको उद्योगीहरूको भनाइ छ । “एक सय मत नकटाउनेहरू पनि स्वतन्त्र र नामै नसुनेका पार्टीबाट उम्मेदवार हुँ भन्दै चन्दा माग्न आउने गरेका छन्,” उनले भने, “अब कि त मोबाइल अफ गरेर बस्नुप¥यो कि त चुनाव नसकिञ्जेल घरै छाडेर भाग्नुप¥यो ।” प्रदेश, प्रतिनिधिसभा र समानुपातिक उम्मेदवारहरू मात्रै होइन उनीहरूका प्रतिनिधिहरूसमेत उद्योगीकहाँ पुग्ने गरेका छन् चन्दा माग्न । समानुपातिक उम्मेदवार पनि ‘चुनावमा बढी मत ल्याउन प्रचार गर्नुपर्छ’ चन्दा माग्न आउने गरेको सारडाले बताए ।
चन्दाबाट पीडित भए पनि कतिपय उद्योगीहरू खुल्न चाहेका छैनन् । “नाम त नलेख्नुहोला तर तिहारमा देउसी खेल्न आउनेको भन्दा चन्दा माग्न आउनेको बढी भीड छ यतिबेला,” एक प्रतिष्ठित उद्योगीले भने, “यस्तै हो भने उद्योगीहरूले आत्महत्या गर्न बेर छैन ।”
व्यापारिक संस्थाका अध्यक्षहरूलाई फोन गरेर कतिपय उम्मेदवारले चन्दा संकलन गरिदिन आग्रहसमेत गर्ने गरेका छन् । उम्मेदवार रकम तोकेरै चन्दा उठाइदिन आग्रह गर्ने गरेको उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले बताए । उनले भने, “आफूले दिएर मात्रै होइन अरू उद्योगहरूबाट पनि चन्दा उठाइदिनुपर्छ भन्छन् उम्मेदवारहरू,” उपाध्यायले भने, “पहिला त दलहरूले मात्रै माग्थे संस्थागत रूपमा तर अहिले त उम्मेदवारैपिच्छे चन्दा माग्न आउँछन् ।”