तरकारी बालीमा रोग लाग्दा किसान चिन्तित
वालुवाफाँट-किसानहरु तरकारी खेतीमा व्यावसायिक बन्दै समस्याहरु पनि थपिँदै गएका छन् । कतै हरियो तरकारी बेच्न नपाएको, कतै तरकारीको लागत मूल्य समेत नपाएको, तरकारी बालीमा रोग लागेको, मल बीउ समयमै नपाएका र बिचौलियाहरुबाट हेपिएको जस्ता समस्या दिनहँु आइरहेको छन् । अहिले लकडाउनका कारण उपभोक्ताले आवश्यकता अनुसार तरकारी खान पाएका छैनन् भने, किसानले फलाएको तरकारी बेच्न सकिरहेका छैनन् । तर थाक्रे गाँउपालिका–११ वालुवाफाँट र आसपासका क्षेत्रमा लगाइएको करेला टिप्न नपाउने अवस्थामा पुगेको छ । करेला बालीमा रोग देखिएपछि लगानी फिर्ता नहुने अवस्था आउदाँ किसान चिन्तित भएका छन् ।
यहाँका ७२ परिवार किसानले २०६ रोपनी जग्गामा लगाएको करेला खेतीमा पँहेलो पात हुने र मुन्टा ठिमुरिने रोग देखिएपछि एक हप्तादेखि किसान चिन्तित भएका हुन् । किसानले आफ्नो तफबाट गर्न सक्ने र एग्रोभेटले भित्र्याएका कडा विषादीहरु समेत प्रयोग गर्दा रोकथाम नभएपछि गाँउपालिका र कृषि ज्ञान केन्द्रका प्राविधिलाई समेत तरकारी बाली लगाएकै स्थानमा बोलाएर देखाइसकेका छन् । बालीमा कस्तो रोग हो भनेर पत्ता लगाउन बाली रोग प्रयोगशाला हरिहर भवन पठाएको आग्रामहेश संयुक्त कृषि फर्मका सञ्चालक केशव रुपाखेतीले बताए ।
स्थानीय छ जना युवाहरुले सञ्चालन गरेको आग्रामहेश संयुक्त कृषि फर्ममा यस वर्ष २६ रोपनी जग्गामा करेला खेती गरेका छन् । गत वर्ष ३४ हजार किलो करेला बेचेर १८ लाख आम्दानी भएको थियो ।
वार्षिक तीन लाखमा जग्गा भाडामा लिएर एक लाख लगानी गरेर करेला लगाएको फर्मका अध्यक्ष वतराज विडारीले बताए । हरेक वर्ष थाँक्रा फेरिरहनु पर्ने अवस्थाबाट मुक्त हुन फर्मले फलामको स्थायी पोलमा दुई लाख पचास हजार खर्चेको छ । फर्मलाई संघीय सरकारको तरकारी ब्लक कार्यक्रम र बागमती प्रदेश सरकारको नमूना फर्म कायक्रमको सहयोग रहेको कृषि ज्ञानकेन्द्रका अधिकृत कमलराज शर्माले बताए ।
दुई रोपनी जग्गामा करेला खेती गरेर बर्खे खर्च चलाउने शुरमा रहेका बलराम सुवेदीले ३० हजार खर्च गरिसकेका थिए । उनीले दुई रोपनी जग्गाबाट दुई लाख आम्दानी गरेर वर्खाको खर्च टार्ने योजना थियो । अर्का तीन रोपनी जग्गामा तरकारी लगाएका बलराम अर्याल पनि लगानी फिर्ता नहुने र अर्को वर्ष कसरी लगानी जुटाएर तरकारी खेती गर्ने चिन्तामा छन् ।
थाक्रे गाँउपालिकाले वडा नं. ११ मा १० ग्राम दरको १५८ पाकेट पाली जातको करेलाको बीउ वितरण गरेको गाँउपालिकाकी कृषि प्राविधिक राममाया राना मगरले बताई ।