मदन भण्डारी राजमार्ग निर्माण सुचारु «

मदन भण्डारी राजमार्ग निर्माण सुचारु

उदयपुर-बन्दाबन्दीका कारण रोकिएको मदन भण्डारी राजमार्गको निर्माण कार्य सुचारु भएको छ । बन्दाबन्दीको पालना गर्दै सुरक्षाका साथ विकास निर्माणका योजना संचालन गर्ने सरकारको नीति अनुसार बन्द भएको ४५ औं दिनपछि सोमबारबाट राजमार्ग निर्माण कार्य सुचारु भएको हो । यस अघि स्थानीय प्रशासन र स्थानीय निकायको समन्वयमा कामदारको बिहान र बेलुकी दैनिक स्वास्थ्य परीक्षण गरी सामाजिक दुरी कायम गरेर विकास निर्माण कार्य सुचारु गर्ने निर्णय गरिएको थियो । निर्माण कार्यमा बढी भन्दा बढी स्थानीय जनशक्ति परिचालन गर्ने अन्यत्रबाट जनशक्ति ल्याउनै पर्ने भए उनीहरुको स्वास्थ्य जाँच गरेर मात्र काममा ल्याउने ब्यवस्था मिलाइएपछि सो अनुसार सडक निर्माण कार्य अगाडि बढेको हो ।
“बन्दाबन्दीको ४५ औं दिनपछि सोमबारबाट हामीले सडक निर्माण कार्य सुचारु गरेका छौं” निर्माण कम्पनी जेडआइइसी लामा एण्ड शर्मा जोइन्ट भेन्चरका प्रोजेक्ट म्यानेजर सीताराम दाहालले भने,“कामदारको स्वास्थ्य अबस्थालाई ख्याल गर्दै सामाजिक दुरी कायम गरेर काम गरिरहेका छौं ।” उदयपुरगढी गाउँपालिकाको नेपालटारदेखि सदरमुकाम गाईघाट हुँदै पूर्वको बेल्टार बजारसम्म (दोस्रो चरणको कालोपत्रे) अस्फाल कंक्रिट निर्माणको काम सुरु गरिएको उनले बताए ।
निर्माण कम्पनीले जिम्मा लिएको राजमार्गको १ सय २६ किलोमिटर मध्ये ८६ किलोमिटरमा ( पहिलो चरणको कालोपत्रे) डेन्स बिटुमिनस् कंक्रिटको काम पूरा भइसकेको छ । बाँकी स्थानमा पनि सवबेस र बेस निर्माण गर्ने कार्य अगाडि बढिरहेको छ ।
“हालसम्म ६७ प्रतिशत कामको रकम भुक्तानी लिएपनि ७४ प्रतिशत काम सकिएको छ”म्यानेजर दाहालले भने,“ चालु आ ब को असार मसान्त भित्र ९० प्रतिशत काम सक्ने हाम्रो लक्ष्य थियो ।” तर, कोरोनाको विश्वव्यापी महामारी पछिको बन्दाबन्दीका कारण ४४ दिन काम बन्द हुँदा लक्ष्य अनुसार काम गर्न नसकिने उनले बताए ।
रााष्ट्रिय महत्वको योजना मानिएको मदन भण्डारी राजमार्गको धरान चतरा गाईघाट कटारी हुँदै सिन्धुलीको भिमान खण्डमा १ सय २६ किलोमिटर सडक पर्दछ । यस खण्डमा ११ मिटर चौडाइमा डेन्स बिटुमिनस् कंक्रिट ( पहिलो चरण ) र ७ मिटरमा अस्फाल्ट कंक्रिट ( दोस्रो चरण ) को कालोपत्रे गर्ने गरी जेडआईईसी शर्मा लामा जोइन्ट भेन्चरले ७ अर्व ३६ करोड ९९ लाख ८४ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्