विमानस्थलमै स्थानीय तहको गैरकानुनी कर

काठमाडौं-सोलुखुम्बु, १ चैत – स्थानीय तहलाई अधिकारसम्पन्न बनाइएसँगै यसको आफूखुसी व्याख्या गर्ने प्रवृत्तिले समस्या उत्पन्न भएको छ । सोलुखम्बुको दूधकुण्ड नगरपालिकाले धमाधम आफूखुसी कर तोक्न थालेको छ । नगरपालिकाले फाप्लु विमानस्थलबाट उडान गर्ने सवै एयरलाइन्स कम्पनीसँग कार्गो ढुवानीमा जबर्जस्ती कर उठाउन थालेको छ । संघीय संरचनामा हवाई उड्डयन क्षेत्रलाई केन्द्र सरकारले हेर्ने व्यवस्था रहे पनि दूधकुण्ड नगरपालिकाले भने धमाधम कर उठाएको छ ।
फाप्लु विमानस्थलबाट खुम्बु क्षेत्रमा मालसामान ढुवानी गर्दै आएका सवै एयरलाइन्ससँग नगरपालिकाले प्रतिकेजी १ रुपैयाँ ५० पैसाका दरले कर उठाउन थालेको हो । हवाई क्षेत्रले नै सोलुखुम्बुको विभिन्न क्षेत्रमा चाहिने समग्री सप्लाई गर्दै आएको छ । नगरपालिकाको करसँगै उक्त क्षेत्रमा नाम्चे, स्याङ्बोचेलगायतका क्षेत्रमा स्थानीयहरू महँगीको मारमा पर्ने भएका छन् ।
दूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा भने आफूले संविधानअनुसार नै कर निर्धारण गरेको जिकिर गर्छन् । आफ्नो अधिकार प्रयोग गरेर कर निर्धारण गरेको उल्लेख गर्दै उनले यो निर्णयबाट पछि नहट्ने बताए । “फाप्लुबाट कार्गो सेवा सञ्चालन गर्दै आएका व्यवसायीहरूले प्रतिकेजी १ रुपैयाँ ५० पैसा कर तिर्नैपर्छ, हाल उठाउन पनि सुरु भइसकेको छ,” मेयर शेर्पाले भने ।
सोलु दूधकुण्ड नगरपालिकाका अनुसार अहिलेसम्म ५ वटा कार्गो व्यवसायीले सोलुखुम्बुको विकट क्षेत्रमा कार्गो ढुवानी गर्दै आएका छन् । हिमालयन व्यापार तथा कार्गो, फुवा कार्गो सेवा स्याङ्बोचे, जेभी किराना तथा कार्गो, हिमालय सप्लायर्स कार्गो र पिटी शेर्पा कार्गाेले हाल यस्तो सेवा दिँदै आएका छन् । अहिले फाप्लु बिमानस्थलबाट दैनिक तारा एयरलाइन्स, समिट एयरलाइन्स र श्री एयरको एमआई हेलिकप्टर गरी ३ एयरलाइन्सले व्यक्ति तथा कम्पनीका लागि कार्गो सेवा सञ्चालन गरिरहेका छन् ।
फाप्लुबाट खुम्बु क्षेत्रमा प्रतिकेजी ९० देखि १ सय २० रुपैयाँका दरले सामान ढुवानी भइरहेको छ । फाप्लुबाट लुक्ला प्रतिफ्लाइट ४ हजार केजी र स्याङ्बोचे ३६ हजार केजी सामान ढुवानी हुदैं आएको छ । मौसम सफा भएको दिन ६ वटासम्म कार्गो लिएर लुक्ला जाने गरेको फाप्लु विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
प्रदेश नम्बर ३ का स्थानीय तथा संघीय मामिला मन्त्रालयका सहसचिव तथा प्रदेश नम्बरका संयोजक सुरेश अधिकारी भने हवाई क्षेत्रको कर स्थानीय तहले तोक्न नमिल्ने बताउँछन् । “यो विषयमा नगरपालिकाले कुनै पनि समन्वय गरेको छैन,” अधिकारीले भने । विगतमा पनि यस्ता कुरा यस क्षेत्रमा आइरहेकोले निरूपणको लागि पहल जारी राखेको अधिकारीले बताए ।
नागरिक उड्डयनसम्बन्धी पार्किङ, ल्यान्डिङ तथा यात्रुसेवा शुल्क सवै नागरिक उड्डयन प्राधिकरणले लिइरहेकोले अन्य क्षेत्रले जानकारी नगराइ लिनु गैरकानुनी भएको वायुसेवा संचालक संघ (आयोन) का प्रवक्ता घनश्याम आचार्यले बताए । “सरकारले नियम बनाएर कर लगाएमा आपत्ती नहुने जनाउँदै सवै गाउँपालिका र नगरपालिकालाई कर तिर्न सक्दैनौं,” आचार्यले भने । अन्ततः यो भार स्थानीयले नै बेहोर्नुपर्ने भएकोले स्थानीय तहले यस विषयमा पुनर्विचार गर्नुपर्ने आचार्यको भनाइ छ ।
स्थानीय विकास मन्त्रालयको निर्देशनको अटेरी गर्दै खुम्बु पासाङ ल्हामु गाउँपालिकाले प्रतिपर्यटक २ हजार रुपैयाँ असुल गरिरहेको छ । जसका कारण उक्त क्षेत्रमा जाने पर्यटकले थप शुल्कको भार बेहोर्नु परेको छ । खुम्बु क्षेत्रमा दैनिक सयौं पर्यटकहरू जाने गरेका छन् । उक्त शुल्कको पर्यटन व्यवसायीले चर्को विरोध गर्दै आएका छन् ।
केदार दाहाल-अमृता राई