माछापुछ्रे गाउँपालिकामा निर्माणकार्य जारी «

माछापुछ्रे गाउँपालिकामा निर्माणकार्य जारी

पोखरा-कास्कीको माछापुछ्रे गाउँपालिकामा विभिन्न भौतिक संरचना निर्माणकार्य जारी छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई नियन्त्रण गर्न देशमा भएको लकडाउनको समयमा पनि विभिन्न योजनाको निर्माणकार्य जारी रहेको माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले बताए ।
उनका अनुसार गाउँपालिकामा छनोट भएका संघ, प्रदेश तथा वडाका चालू वर्षका केही योजनामा हाल निर्माणकै क्रममा रहेकाले लकडाउनको समयमा केही योजना सम्पन्नसमेत भएका छन् । उनले भने, “कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउनका लागि हामीले सामाजिक दूरी कायम गरी स्थानीय मजदुरसहित विभिन्न जिल्लाका मजदुर पहिलादेखि गाउँपालिकामा रहेकालाई मात्र योजनामा लगाएका छौं ।” आफूहरूले विकास निर्माण र कृषि उत्पादनलाई प्राथमिकता दिएर लकडाउनमा पनि अघि बढाउन सहजीकरण गरेको अध्यक्ष गुरुङले बताए ।
लकडाउनको समयमा लुम्रे गोरेटोबाटो निर्माण, टारुवा सिँचाइ योजनाको निर्माणकार्य सम्पन्न भएको छ । त्ससैगरी केसवाङ सामुदायिक भवन निर्माणकार्य जारी बन्दाबन्दीको अवधिमा स्थानीय मजदुरलाई परिचालन गरेर निर्माणकार्य सम्पन्न गरिएको गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताइन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको चालू वर्षको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १५ लाख बजेटबाट वडा नं ८ को टुटुंगा, ल्वाङ, कोलेली नयाँ सडक ट्रयाक खोल्ने कामसमेत सम्पन्न भएको उपाध्यक्ष दवाडीले बताइन् ।
गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयको तीन करोड ५३ लाख ९३ हजार ३ सय ७४ लागतमा निर्माण सुरु गरिएको इदी खोला (भेडाबारी) मल्टी सेल बक्स पुलको निर्माणकार्य जारी छ । पुलको ग्याबिन भर्ने कार्यका लागि हाल १७ जना मजदुरले दैनिक काम गरिरहेका छन् । लकडाउनका अवधिमा समेत पुल निर्माणमा खटिएका मजदुरलाई गाउँपालिकाले राहत सामग्री वितरण गरेको थियो ।
उक्त योजनमा खटिने मजदुर धर्मराज शिर्पालीले आफूहरूसहित १४ जनाको टोलीले दुई साता बिहान बेलुका तथा दिउँसो आएको खाना तथा खाजाको ४५ हजार खर्च आएको गुनासो गरे । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको जिल्लास्तरीय परियोजना कार्यान्वयन इकाई कास्कीको तीन करोड ६१ लाख ५७ हजार २ सय ५ बजेटबाट गाउँपालिकाको वडा नं ८ र ९ जोड्ने गरी निर्माण सुरु गरिएको पक्की मोटरेबल पुलको कामसमेत लकडाउनमा जारी रहेको छ ।
प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयको चालू वर्षको ३६ लाख बजेटबाट निर्माण सुरु गरिएको भिरकटेरा माछापुछ्रे सडक स्तरोन्नति योजनाअन्तर्गत आइतबार वडा नं ३ को काङमाङमा सडक ढलान गरिएको छ । स्थानीय मजदुरहरू नै निर्माणमा परिचालन गरिएको निर्माण व्यवसायी डम्बरराज ढकालले बताए । २ सय २० मिटर उक्त ढलान गरिएको हो ।
यसैबीच गाउँपालिकामा निर्माण भइरहेका पूर्वाधारका योजनाको आइतबार अनुगमन गर्दै गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले प्रदेश सरकारले बन्दाबन्दीमा विकास निर्माणअघि बढाउन मापदण्ड बनाएको बताए । उनले भने, “कोरोना भाइरसको कारण हाम्रो क्षेत्रमा हाल धेरै प्रभाव नपरेकाले अब विकास निर्माणका योजना र उत्पादनलाई विस्तारै खुकुलो पार्दै अघि बढाउनु पर्छ, कोरोना भाइरस संक्रमणको जोखिमलाई भने मध्यनजर गर्दै काम गर्नुपर्छ ।”
अहिलेको अवस्थामा कार्यस्थलमा भएका र स्थानीय मजदुरलाई परिचालन गर्नुपर्ने उनको जोड थियो । गाउँपालिका अध्यक्ष गुरुङले पहिलो चरणमा ६ सय ८० परिवारलाई राहत वितरण गरिएको बताए । राहत वितरण गरिएका मध्ये एक सय घर परिवार पनि स्थानीय मजदुर नभएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्